
तपाईंले नेपालको झन्डा अन्तरीक्षमा फहराएको चर्चा छ नि ?
अन्तरीक्ष भन्दा पनि त्यसलाई एज अफ द स्पेश भन्नुपर्छ, जहाँबाट पृथ्वी वृत्तकार देखिन्छ। ८० हजार फिटको उचाइमा वेदर बेलुनको सहायताले मैले नेपाली झन्डा त्यहाँ पुर्याए र राष्ट्रिय गीतसमेत बजाएँ।
यो काम आफैंमा कति महत्त्वको हो, के अरूले त्यसो गरेका छैनन् ?
अन्तरीक्ष अझ चन्द्रमामा विश्वले पाइला टेकेको सय वर्ष पुग्न लाग्यो तर त्यहाँ अझै पनि हाम्रो उपस्थिति छैन। यसर्थ विश्वको सन्दर्भमा यो कामले उति महत्व नराख्ला, तर नेपालको कुरा गर्ने हो भने यो गर्व गर्न लायक काम हो भन्ने लाग्छ। किनभने, ८० हजार फिटको उचाइमा अहिलेसम्म नेपाली झन्डा फहराइएको थिएन भने राष्ट्रिय गीत पनि बजेको थिएन। यसलाई भौतिकभन्दा पनि भावनात्मक उपलब्धि मान्नुपर्छ।
सोंच कसरी आयो ?
अरूले आफ्नो देशको झन्डा अन्तरीक्षलगायत चन्द्रमा फहराइएको सुनेको थिएँ। त्यसैले मलाई पनि आफ्नो देशका लागि केहि गरौं भन्ने लाग्यो। अनि सोचें, नेपाली झन्डालाई एकदमै उचाइमा पुर्याएर फहराउँछु। यसअघि हाम्रो झन्डा ३५ हजार फिटभन्दा माथि पुर्याइएको थिएन। यो अनुमान किन पनि गर्न सकिन्थ्यो भने जेट विमानले उडान भर्ने उचाइ यत्ति नै हो र कसैले विमानमा झन्डा बोकेर उडेका होलान्। धेरै नेपालीहरू विदेश जाँदा नेपाली झन्डा बोक्छन् ।
बेलुनमा राखेर झन्डा उडाउने जुक्ति आफ्नै हो ?
अमेरिकाको मौसम विज्ञान विभागले वेदर बेलुन उडाएर बादलमा पुर्याउँछ र मौसमको पूर्वानुमान गर्छ। त्यही बेलुनमा झन्डा जडान गरेर उडाउन सकिन्छ भन्ने जुक्ति फुर्यो। अनि, मैले अध्ययन गरेको फिजिक्स, कम्प्युटर साइन्स, इलेक्ट्रोनिक्स, एभिएसन, वेदर, केमेस्ट्री सबै उपाय प्रयोग गरेर बेलुन उडाएँ।
त्यसमा भिडियो रेकर्ड गर्ने, तस्बिर खिच्ने र राष्ट्रिय गीत बज्ने व्यवस्था कसरी मिलाउनुभयो ?
बेलुनमा मैले तीनवटा क्यामेरा जडान गरें, जसमा एउटाले तस्बिर खिच्ने र बाँकी दुईले भिडियो खिच्ने काम गथ्र्यो । त्यस्तै, लक्षित उचाइमा पुगेपछि राष्ट्रिय गीत बजाउन मोबाइल प्रयोग गरें।
यसरी जडान गरिएको प्रविधिले लक्षित उचाइमा ठीक ढंगले काम गर्छ भन्ने कुरामा कसरी ढुक्क हुन सकिन्थ्यो ?
मैले पढेका सबै कुरालाई प्रयोगमा ल्याएको थिए। हिलियम ग्यास भरिएको बेलुन लक्षित उचाइमा पुगेपछि स्वचालित रूपमा म्युजिक प्ले हुने र भिडियो रेकर्ड हुने प्रोगामिङ गरेको थिएँ।
यत्तिका सामग्री जुटाउन कति खर्च लाग्यो ?
हिलियम ग्यास कलेजलाई किनाएँ, १ सय ५० डलरमा। बाँकी मैले पुरानै र फ्याँकिएका सामग्री मर्मत गरेर काम चलाएको थिएँ। बरु पैसाभन्दा पनि १७ महिने अवधि मैले यसमा खर्चिनुपर्यो, पूरै भूमिगत भएर। यसलाई मैले क्रिन्जल स्पेश उडान यन्त्र नाम दिएँ। त्यसपछि अप्रिल ३० मा उडाउन इन्डियानापोलिस भन्ने ठाउँमा गएँ, ४ घन्टाको हवाई यात्रा गरेर।
किन इन्डियानापोलिस जानुपर्ने ?
म बसेको ठाउँ बोस्टनमा यस किसिमको प्रयोग गर्न सकिँदैनथ्यो। त्यसैले यसका लागि इन्डियानापोलिसको सिसर्स मैदान रोजें। त्यहाँ मैले मौसमसम्बन्धी काम गर्ने विज्ञ पनि लगेको थिएँ। उनैलाई साक्षी राखेर बिहान १० वजे नेपाली झन्डा एज अफ द स्पेसमा पठाएँ। बेलुन ७० हजार फिटमा पुगेपछि राष्ट्रिय गीत बज्न थाल्यो र ८० हजार फिटको उचाइमा पुगेपछि र्फकेर तोकिएको स्थानमा झर्यो।
सबै काम ठीकठाक ढंगले भैसकेपछि तपाईंलाई कस्तो लाग्यो ?
साँच्चै मैले त यसलाई सेलिब्रेट गर्नै पो बिर्सिएछु।
मेरो प्रोजेक्ट सक्सेस भैसकेपछि के गर्ने भन्ने सोचिएकै रहेनछन्। त्यसैले बोस्टन फर्किएपछि त्यससम्बन्धी तस्बिर र भिडियो फेसबुक, टि्वटर र युट्युबमा राखें। त्यतिबेलासम्म म सोसल साइटवाट पूरै अलग्गिएको थिएँ।
त्यसपछि कस्तो प्रतिक्रिया आयो ?
विभिन्न मुलुकमा रहेका नेपालीले क्षणभरमै यसलाई विश्वव्यापी बनाइदिए। त्यसपछि प्रोजेक्टका सम्बन्धमा जान्न चाहने साथीहरूको फोन र च्याटले मलाई निरन्तर व्यस्त बनायो।
तपाईं अमेरिका पढ्न जानुभएको होइन ?
म अमेरिकाको नर्थ इस्र्टन युनिभर्सिटीबाट पूर्ण छात्रवृत्तिमा कम्प्युटर इन्जिनियरिङमा स्नातक गर्दैछु।
तपाईं विद्यालयमा त अलि उटपट्याङ विद्यार्थी हुनुहुन्थ्यो रे, कसरी मिल्यो छात्रवृत्ति ?
मेरो विद्यालय जीवन उतारचढावपूर्ण रह्यो। शिक्षकलाई चड्काएको निहुँमा विद्यालय मात्र छाड्नुपरेन, परिवारै काठमाडौंबाट भक्तपुर सर्नुपर्यो। त्यहाँको विद्यालयमा ५ सय रुपैयाँ मासिक शुल्क बुझाउन नसकेपछि बहिनी र मैले बीचैमा पढाइ छोड्नुपर्यो। किनभने त्यतिबेला हाम्रो परिवारको अवस्था एकदमै नाजुक थियो। शिक्षकले 'जाबो ५ सय रुपैयाँ पनि सम्झन सक्दैनस्' भनेर गाली गरेपछि मलाई साह्रै नराम्रो लाग्यो। मैले सम्झन नसकेर शुल्क नबुझाएको होइन, पैसा नभएर हो। त्यसैले 'एक दिन धेरै कुरा सम्झन सक्ने हुन्छु' भनेर मनमनै अठोट गरें।
अनि ?
त्यसपछि एकचोटि भनेको वा हेरेको भरमा धेरै वस्तु/शब्द स्मरण गर्ने अभ्यास गरें। मेरा शिक्षक माधव अर्यालकहाँ स्मरण शक्तिसम्बन्धी कक्षा लिन गएँ र एक पटक हेरेकै/सुनेकै भरमा फटाफट १ सय २५ वटा वस्तु एकैपटक भन्न सक्ने भएँ। त्यही सिलसिलामा भेट हुँदा नोबेल एकेडेमीका प्रिन्सिपलसामु मैले आफ्नो यथार्थ बताएँ। उहाँहरूले म र बहिनीलाई १० कक्षासम्म पढ्न पूर्ण छात्रवृत्ति उपलब्ध गराइदिनुभयो। त्यही प्लेटर्फमबाट मैले अमेरिकासम्मको यात्रा तय गरें।
पढाइ सकेर फर्किनुभएको हो ?
होइन, अझै एक वर्ष बाँकी छ। मैले पाँचवर्षे स्नातक कोर्सका लागि छात्रावृत्ति पाएको हुँ। नेपाली रुपैयँामा रूपान्तरण गर्ने हो भने यो करिब ३ करोडको छात्रावृत्ति हो। विश्वभरका ५० हजार विद्यार्थीबाट छानिएर पाँच जनालाई यो छात्रवृत्ति मिलेको थियो।
के सिलसिलामा नेपाल र्फकनुभएको ?
खासमा त पढाइको ह्याङओभर हटाउन आएको हुँ, ६ महिनाका लागि। यो अवधिमा विभिन्न स्कुल/कलेजमा पुगेर मोटिभेसन क्लास लिन्छु। खासगरी युवाहरूमा प्रविधिप्रतिको बढ्दो परनिर्भरताका सम्बन्धमा अन्तर्क्रिया गर्छु। प्रविधिका कारण हामीले आफ्नो बौद्धिक क्षमता गुमाउँदै गएका छौं। त्यसैले यसबाट कसरी छुट्कारा पाउने भन्ने कुरामा केन्दि्रत रहेर चर्चा गरिनेछ।
अहिले मेमोरी पावरसम्बन्धी अभ्यास जारी राख्नुभएको छ ?
नियमित अभ्यास त गरेको छैन, तर अमेरिकामा रहँदा मैले यससम्बन्धी नयाँ रेकर्ड बनाएँ। अहिले गिनिज बुकले यस्तो रेकर्ड राखेको छैन। यद्यपि गिनिज बुक जस्तै अमेरिकामा यस्ता कुराको रेकर्ड राख्ने निकाय छ- रेकर्ड सेटर। त्यसमा मैले अहिलेसम्मकै ओस्कार विजेता चलचित्रको नाम, सबै अमेरिकन राष्ट्रपतिको सिलसिलाबद्ध नाम भनेर रेकर्ड बनाएको छु।
तपाईंको पारिवारिक पृष्ठभूमि ?
हाम्रो पुख्र्यौली घर नुवाकोट हो। पछि काठमाडौं आइयो। बुबा इन्जिनियर, आमा गृहिणी।
इन्जिनियरको छोरा हुनुहुँदो रहेछ, तर तपाईं ५ सय रुपैयाँ शुल्क बुझाउन नसकेर स्कुलबाट निकालिनुभएको होइन ?
बुबा खानेपानी संस्थानमा इन्जिनियर हुनुहुन्थ्यो। पछि उहाँको जागिर गयो, घरको आर्थिक अवस्था चौपट भयो। हामी घर बेचेर डेरामा सर्यौं।
अचानक के कारणले त्यस्तो भयो ?
थाहा छैन, त्यतिबेलाको घटनाका सम्बन्धमा मलाई केही भनिएको छैन।
अहिलेको अवस्था कस्तो छ त ?
अहिले त धेरै सुधार आइसकेको छ। मैले अमेरिकामा इवे कम्पनीमा काम गरें। त्यसले पनि राम्रै भरथेग गर्यो। धापासीमा घर बनाइयो। हाम्रो परिवार त्यहीं छ।