उमेरअनुसार, समयअनुसार नयाँ ढंगबाट कसरी जानुपर्छ भनेर सोचिरहेको छु । खासगरी भन्नुपर्दा नयाँ सुरुवात गर्ने चरणमा छु । नयाँ सुरुवात गर्दा पहिलो गाँसमै ढुंगा पर्दिन्छ कि !
अभिनेता राजेश हमालको आज जन्मदिन । उमेरले उनी ५६ टेके तर आफूलाई अझै २१ बर्षे भन्न रुचाउँछन् । उनको करिब तीन दशकको फिल्म यात्रामा केन्द्रित रहेर अनिल यादवले उनीसँग गरेको कुराकानी:
आफ्नो फिल्म यात्रा सम्झँदा कस्तो लाग्छ ?
मेरोमात्रै होइन, नेपाली चलचित्रकै वास्तविक इतिहासको नक्सा बुझ्न अर्थात त्यतिबेला फिल्म कसरी बन्यो, कसरी विस्तार भयो, त्यसबेला आएका कलाकारले के गरे, किन गरे र किन उनीहरू त्यसरी चले भन्ने बुझ्न आजको सुविधा र चश्मा लगाएर मुल्यांकन गर्नु अन्याय हुन्छ । विगत बुझ्न त विगतकै परिस्थितिमा जानुपर्छ । विगतकै चश्मा लगाउनुपर्छ । यहाा आजको माहोलमा उभिएर, आजको चश्मा लगाएर विगतको मूल्यांकन भइरहेको छ । आज यस्तो गरियो, त्यो बेला किन यस्तो हुन सकेन जस्ता प्रश्न उठिरहेका छन् । यो हिसाबले इतिहासमाथि अन्याय भइरहेको हो कि जस्तो लाग्छ ।
कुनै पनि कार्य आफैं सानो–ठूलो हुँदैन । तर, त्यो कार्य कुन परिस्थितिमा सम्पन्न भयो, त्यसले अर्थ राख्छ । जस्तो, तपाईं एउटा अनकन्टार टापुमा हुनुहुन्छ, केही स्रोत साधन छैन, त्यस्तो टापुमा एक्लै अड्किएका बेला ढुंगालाई ठोकेर हुन्छ कि के गरेर हुन्छ, आगो उत्पादन गर्न सक्नुभयो भने त्यो भयंकर ठूलो उपलब्धी हुन्छ । त्यसमा खुसीको सीमा हुँदैन । तर, अत्याधुनिक किचनमा बसेर ग्यास बाल्नुभयो भने त थप्पडी बजाउन त कोही आउँदैन नि !
सिनेमाको जग बसाल्ने बेलामा तपाई फिल्म क्षेत्रमा आउनुभयो । तीन दशकपछि समीक्षा गर्दा यसले कति हाँगाबिँगा फैलायो, कति फल दियो भन्ने लाग्छ ?
मलाई त नेपालजस्तो राष्ट्रमा पनि फिल्म क्षेत्र छ है भन्नु नै ठूलो कुरा हो । यहाँ पनि फिल्मको कामहरू भइरहेका छन्, यहाँ पनि फिल्मको कलाकारहरू छन् भन्नु नै ठूलो विषय हो ।
अर्को कुरा, राम्रो/नराम्रो जस्तोसुकै फिल्म बनेता पनि बन्ने क्रमचाहिँ निरन्तर छ । ठप्प छैन । यसको अर्थ कुनै न कुनै मोडमा गएर यसले नयाँ रूप त लिन्छ भन्नेमा विश्वस्त छु ।
नेपाली फिल्मको अर्को सकारात्मक पक्षचाहिँ के हो भने दर्शकहरूले यसलाई मन पराए पनि, नपराए पनि उपेक्षाचाहिँ गरेका छैनन् ।
सिनेमा त ‘मास’सँग जोडिएको विषय हो तर यसलाई यहाँ हल्का रूपमा लिइयो भन्ने लाग्दैन ?
यो क्षेत्रमा म आउनु ४० वर्षअघि नै ‘राजा हरिश्चन्द्र’ बनिसकेको थियो तर त्यसपछिको अवधिमा १०/१२ वटामात्रै फिल्म बनेका थिए । तर, म आएकै वर्ष त्यति नै संख्यामा फिल्म गरेँ ।
जतिबेला तपाईं फिल्ममा आउनुभयो, राजनीतिक परिवर्तन भयो, नेपाली समाज मिडिया, सिनेमालगायत सबै क्षेत्रमा उदार भयो, त्यसैले धेरै सिनेमाहरू बनेका होलान् नि, होइन ?
चलचित्र पनि मिडियाकै एउटा पाटो हो । त्यसबेला मैले पनि मिडिया विस्तार भएको देखिरहेको थिएँ , विशेषगरी पत्रपत्रिका र रेडियो । २० वर्षअघि कुन एफएम खुल्यो भन्ने मलाई थाहा हुन्थ्यो, तर अहिले कतिवटा एफएम छ भन्ने थाहा छैन । त्यो समयमा मलाई के लागेको हो भने सिनेमा पनि मिडियाजस्तै हो, जसरी मिडिया फस्टाउँछ, यो पनि फस्टाउँछ ।
नेपालमा पहिलो चलचित्र भवन पनि म आउनुभन्दा धेरै अघि नै बनेको हो । तर, सन् १९६० बाट ९० सम्म पनि काठमाडौंमा चारवटा हलमात्रै थिए –जय नेपाल, विश्वज्योती, रन्जना र अशोक । हामीले त्यतिबेला चलचित्रको ठूलो भविष्य किन नदेखेको हो भने बनाउनुमात्रै ठूलो कुरा थिएन, बनाएर प्रदर्शन गर्ने ठाउँ खोइ त भन्ने प्रश्न पनि थियो ।
म आएपछि सानोतिनो क्रान्ति भयो भनेर किन पनि दाबी गर्छु भने लगानीकर्ताले सफ्टवेयर बनाउने परिस्थिति त देखे, सफ्टवेयर बनाउन थालिसकेपछि हार्डवेयर पनि त बनाउनुपर्यो । केही उपाय नलागेपछि पछि देशभर भिडियो हल छ्याप्छ्याप्ती खुल्न थाल्यो । हाइभिजन भनिन्थ्यो त्यसलाई । त्यो हाइभिजन खुल्नुको कारण थियो– धेरै चलचित्र निर्माण हुन थाल्नु ।
जनयुद्ध उत्कर्षमा पुग्नु अगाडिसम्म फिल्म वितरण प्रणाली पनि राम्रो बनिसकेको थियो । र, वितरण प्रणालीको विकास भएका कारण चलचित्रमा काम गर्नेले समेत निर्माण गर्न थाले । त्यसअघि एक ढिक्का पैसा भएको मान्छेले मात्रै सिनेमा बनाउन सक्थ्यो । किनभने सिनेमा बनाउन ४०–५० लाख चाहिन्थ्यो ।
मैले फिल्म खेल्दै गएपछि सिनेमासँग आबद्ध प्रोडक्सन म्यानेजरहरूले पनि खल्तीमा पैसा नभए पनि सिनेमा बनाउन सके । राजेश हमाललाई लिएको छु भन्ने बित्तिकै वितरकले समेत फिल्म बनाउनका लागि एडभान्समा पैसा दिन्थे । अनि हाइभिजनहरूले अरूका फिल्मलाई २० हजार दिन्थे भने मेरो फिल्म ल्याउनेलाई ३५ हजार दिन्थे ।
मैले सिनेमा गर्नासाथ मसँगै अरू सयौंले काम पाइरहेका थिए । हिजो मसँग सिनेमा गर्दा क्यारेक्टर आर्टिस्टहरूले पनि जुन किसिमको लोकप्रियता हासिल गरे, आजको अवस्थामा म त्यो माहोल देखिरहेको छैन । त्यो बेलामा भिलेन पनि प्रख्यात हुन्थ्यो, आमा र बुबाको भूमिका गर्ने मान्छे पनि उत्तिकै चर्चित हुन्थ्यो । हसाउने मान्छे प्रख्यात हुन्थ्यो, फाइट डिरेक्टर प्रख्यात हुन्थ्यो, डान्स डिरेक्टर प्रख्यात हुन्थ्यो । र, तिनीहरू सबैले व्यस्त हुने माहोल मैले लगातार फिल्म गरिरहेका कारणले नै पाउँथे । अहिले आमा, बुबाको रोल गर्नेले त्यो बेलाको जसरी प्रख्यात र व्यस्त भएको पाउनुहुन्छ ? यो तपाइहरूले नै समीक्षा गर्ने विषय हो ।
तर, त्यो बेलाको माहोल र प्रतिष्पर्धाले नेपाली फिल्मको गुणस्तरको विकासमा भने खासै काम गर्न नसकेको जस्तो लाग्दैन ?
फेरि, तपाइले आजको चश्मा लगाएर हेर्नुभयो क्या ! त्यो बेलामा त्यसो नभएको भए त ‘क’ बाट ‘ख’ बिन्दुमै जाँदैनथ्यो नि । जब फिल्म बनाउने वातावरण नै छैन भने त्यहाँ क्वालिटीको कसरी कुरा गर्नु हुन्छ ?
सिनेमाले त सम्बन्धित देशको समाजसँग बलियो अन्तरक्रिया गर्नुपर्ने हो, त्यहाँको समाजमा गहिरो प्रभाव छाड्न सक्नुपर्ने हो । तर, नेपाली सिनेमा यस मामिलामा किन कमजोर देखिएको ?
मैले तपाईंलाई अघि नेपाली फिल्मको सकारात्मक चर्चा गरेँ । अब यसको नकरात्मक पक्षको कुरा गर्छु । ९० को दशकतिरको कुरा गर्ने हो नेपाली फिल्म र भारतीय फिल्मबीच खासै ठूलो भिन्नता महसुस हुन्न । म फिल्म क्षेत्रमा लागेको करिब १२ वर्षसम्म अर्थात त्यस्तै सन् २००२ सम्म हामी एकदमै समयसापेक्ष थियौं । बहुसंख्यक दर्शकको स्वादअनुसार नै फिल्म बनिरहेको थियो तर जब त्यसपछि प्रविधिले फड्को मार्यो, हामीले लय समात्न सकेनौं । १२ वर्षपछिको चार–पाँच वर्ष मलाई पनि चित्त बुझिरहेको थिएन । अब हामीचाहिँ समयभन्दा पछाडी भयौँ भन्ने लागेको हो ।
अनि अर्को कुरा, सबै त्यस्तै बन्नुपर्छ भन्ने थिएन तर केही त्यस्तो सिनेमा बीच–बीचमा बनिरहनुपर्थ्यो, जसले सही मानेमा समाजमा डिस्कोर्स चलाउन सकोस्, समाजसँग गम्भीर अन्तरक्रिया गरोस् । त्यसो नहुनुमा चाहिँ म निर्देशककै अभाव देख्छु ।
तपाईंको पृष्ठभूमिका कारण पनि अपेक्षा धेरै थियो । तर, फिल्म विकासको गति हेर्दा ‘ठिकठाक’मात्रै चलिरहेजस्तो देखिन्छ । यस्तो हुनुमा आफूलाई कतिको दोषी देख्नुहुन्छ ?
मैले फिल्म छायांकनका क्रममा लोकेसनमा गएर निर्देशकसँग छलफलचाहिँ गरिनँ नै भन्दा हुन्छ । निर्देशकलाई नै स्वतन्त्रता दिएँ ।
अहिलेको घडीमा फेरि म अलिकति सचेत पनि छु । एउटा समय मैले लगातार सिनेमा गरेता पनि अहिले मैले करिब ८ महिनामा केही नभएपनि कम्तीमा चार वटा स्क्रिप्ट त रिजेक्ट गरिसकेँ । किन गरेँ, अचम्म लाग्न सक्छ ।
समयले सबै कुरा निर्धारण गर्छ । मलाई लाग्छ, म अहिले नयाँ मोडमा छु । अहिले नेपाली चलचित्र मेकिङ, विषयवस्तु र दर्शकको स्वाद सबै हिसाबले परिवर्तन भइरहेको छ । चलचित्र ग्रहण गर्ने तरिका पनि पहिलेको भन्दा फरक भएको छ । सामाजिक मूल्यमान्यतामा पनि धेरै परिवर्तन भएको छ । पहिलेका फिल्ममा थिचोमिचो, अन्याय अत्याचार थियो भने अहिले आकांक्षा, सपनालगायतका भावना बढी देखिइरहेका छन् ।
त्यसैले उमेरअनुसार, समयअनुसार नयाँ ढंगबाट कसरी जानुपर्छ भनेर सोचिरहेको छु । खासगरी भन्नुपर्दा नयाँ सुरुवात गर्ने चरणमा छु । नयाँ सुरुवात गर्दा पहिलो गाँसमै ढुंगा पर्दिन्छ कि !
यसको अर्थ राजेश हमालको एउटा समय सकियो, अब अर्कै हिसाबले सुरु गर्नुपर्छ भन्ने हो ?
जीवन एउटा सिंगो पुस्तक त हुनै सक्दैन नि । सिंगो पुस्तक भएपनि त्यसभित्र थुप्रै उपकथाहरू हुन्छन् । यदि मेरो जीवनको पुस्तकमा तीनवटा कथा छ भने तपाई सम्झिनुस्, दुइटा सकियो, अब एउटा बाँकी छ । र, अहिले म तेश्रो कथा कसरी लेख्ने भन्ने दुविधामा छु ।
तीन दशक बढी भयो यो पेशामा लागेको । मसँगै काम गरेका अरू क्षेत्रका साथीभाइ अहिले रिटायर्ड भइसके । म त अझै यही क्षेत्रमै छु । अझै फिट नै छु (हाँसो)
भर्खर २१ त पुग्नुभयो है ?
हो । म भर्खर २१ पुगेँ भन्नुको कारण छ । हाम्रो दिमाग र कम्प्युटर उस्तै हो क्या । तपाईं आफ्नो कम्प्युटरमा जे शब्द बढी टाइप गर्नुहुन्छ, त्यो दिमागमा आइहाल्छ नि । जस्तो, तपाईंले लगातार ५५ भनेर लेखिरहनुभयो भने ५ सम्झिनेबित्तिकै तपाईंको हातले ५५ टाइप गरिहाल्छ । त्यस्तै म २१ भनिरहन्छु, मलाई साँच्चिकै २१ नै जस्तो महसुस हुन्छ ।
नेपाली सिनेमा गरेका कारण आज म जुन स्थानमा छु, त्यसको न मैले कहिल्यै परिकल्पना गरेको थिएँ, न सोच्न नै सकेको थिएँ । विल्कुल अन्योलतामा सुरु गरेको यात्रा हो अभिनय । जतिबेला म प्रवेश गरिरहेको थिएँ, त्यतिबेला ‘ह्या, यो क्षेत्रमा पनि भविष्य छ र ?’ भनेर हतोत्साहित गर्नेहरू मात्रै थिए । मेरै परिवार यो निर्णयलाई लिएर खुशी थिएन, बढी चिन्तित थियो ।
पत्रकारहरू नै आएर सोध्थे, ‘ल, तपाईंले फिल्ममा आएर त राम्रो गर्नुभयो, बधाई छ तर अब लाइफमाचाहिँ के गर्नुहुन्छ ?’ अहिले कमसेकम कलाकारले त्यो प्रश्न त झेल्नुपर्दैन । बरु कति कमाइस्, कति पारिश्रमिक लिन्छस् भन्ने प्रश्न उठ्छ ।
आम नपाली दर्शकसँग कलाकारका रूपमा मैले जुन सम्बन्ध बनाउन सकेँ, त्यसमा एकदमै खुशी छ । बिल्कुलै भाइचाराको सम्बन्ध छ । त्यसकारण म यहाँ अरूले अंगरक्षक या अरू के–के भनेर हिँडिरहेको देख्दा हाँसो उठ्छ । किनकि यहाँ त दर्शकसँग कलाकारको यस्तो आत्मीयता छ कि तपाईं जहाँ जानुभयो भने पनि दर्शकहरू आफैँ तपाईंलाई संरक्षण गर्न तयार हुनुहुन्छ ।
कहिलेकाहीँ आफैं निर्देशन गरिदिऊँ भन्ने लाग्दैन ?
सबै कलाकारलाई लाग्नुपर्छ भन्ने छैन तर मलाई लाग्छ । तर, मैले राम्रो निर्देशन गर्ने छैनन् भनिरहँदा आफूले चाहिँ सही गर्छु भन्ने छैन । किनकि यो सिर्जना हो । फिल्ममा कसैसँग त्यो आत्मविश्वास हुन्न कि म जे बनाउँदैछु त्यो शतप्रतिशत स्वीकार्य हुन्छ भन्ने । जति भन्न सजिलो छ, गर्न त्यति गाह्रो छ सिनेमामा ।
कुनैबेला दर्शकले स्वीकार गरेका तपाईंका पछिल्ला फिल्म लगातार चलेनन् । त्यसपछि फिल्म नै गरिरहनुभएको छैन । यसको अर्थ तपाईं अहिले असुरक्षित हो ?
अहिले पनि म असुरक्षित छु, पहिला पनि म असुरक्षित थिएँ । तीन दशक काम गरेका हिसाबले पहिले सुरक्षित हुनुहुन्थ्यो भनेर अहिले भन्न मिल्ला तर काम गर्दा त असुरक्षाकै भावमा हिडिरहेको थिएँ नि । किनकि सिनेमा यस्तो क्षेत्र हो जहाँ आज तपाईं स्वीकार्य हुनुहुन्छ भने अर्को हप्ता नहुन पनि सक्नुहुन्छ । यहाँ त कामले नै निरन्तरता पाउँछ भन्ने ग्यारेन्टी हुन्न । त्यसैले त मसँगै काम गरेका धेरै साथीहरू भविष्यलाई हेरेर पलायन हुनुपर्यो । अहिले त कमसेकम मान्छेहरूले बाटो देखिरहेका छन्, त्यो बेला त बाटै देखिँदैनथ्यो । जहाँ उभियो त्यहाँसम्ममात्रै बाटो थियो, त्यसपछि कहाँ जाने थाहै थिएन ।
तपाईंले एउटा कार्यक्रममा भन्नुभयो, ‘म मेथड एक्टिङको समर्थनमा छैन ।’ किन ?
हो, मलाई मेथड एक्टिङजस्तो ढोँग केही पनि लाग्दैन । कलाकारिता भनेको मनबाटै आउने हो । बिजनेस दिमागबाट गर्ने हो तर कुनै पनि सिर्जनाको काम मनदेखि गर्ने हो । अभिनय मनदेखि आउने हुनाले यो भावनासँग सम्बन्धित छ ।
भरियाको अभिनय गर्न भरियालाई बुझ्नु परेन र ?
जुन चरित्र निर्वाह गर्दै हुनुहुन्छ, त्यसको भावना बुझ्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । एउटा भरिया भेटेर उसको प्रतिनिधित्व गर्न खोज्दा सबै भरियाको प्रतिनिधित्व हुँदैन नि । मैले भोलि पत्रकारको भूमिका गर्नु छ भने तपाईसँगमात्रै बसेँ भने त भोलि पत्रकारप्रति त अन्याय हुन सक्ला नि । तर, तपाईसँग पत्रकारको जुत्तामा आफूलाई राखेर हेर्ने क्षमता छ भने त्यो पात्रलाई सहीसँग निर्वाह गर्न सक्नुहुन्छ । र, मेथड एक्टिङ किन पनि गलत हो भने तपाईंले भोलि सिरियल किलरको भूमिका गर्नुभयो भने ‘मलाई पहिला १० वटा मर्डर गर्ने वातावरण मिलाइदिनू, अनिमात्रै पात्रलाई न्याय गर्न सक्छु’ भन्न त मिल्दैन नि ।
त्यसैले अंग्रेजीमा एउटा शब्द छ– ‘एम्पाथी’ अर्थात अरूको भावनालाई आफूले बुझ्नु । अरूको दृष्टिकोणलाई उसैको चश्माबाट हेर्नु । यदि तपाईंले हरेक पात्रलाई उसैको चश्माबाट हेर्ने सक्ने सामर्थ राख्नुहुन्छ भने सहजै न्याय गर्न सक्नुहुन्छ । भोको मान्छेको भूमिका गर्न तपाई भोकै बस्नु पर्दैन ।
पछिल्लो समय कलाकारहरू पनि राजनीतिमा छन् । तपाईंको के छ विचार ?
मेरो मान्यता के छ भने राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले जीवनको पहिलो खुड्किलामै राजनीति गर्छु भनेर हिँडेको छ । राम्रो काम गरिरहेका छैनन्, जनता निराश छन्, त्यो अर्कै कुरा भयो । राष्ट्र निर्माणका लागि सबै राजनीतिमा लाग्नुपर्छ भन्ने छैन । यदि आज राजनीति गर्नेहरूले सुचारु हिसाबले राजनीतिलाई अघि बढाएको भए कला क्षेत्रमा काम गर्नेले कलालाई अघि बढाउँथ्यो, बिजनेशले त्यही क्षेत्रबारे सोच्थ्यो, अन्य सबै क्षेत्रकाले त्यसैगरी आ–आफ्नो क्षेत्रलाई अर्को उचाइमा पुर्याउन भूमिका खेल्थे । यसरी नै त हो देश विकास हुने । अरू क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति राजनीतिमा लागोस् भन्न थालियो भने त्यही क्षेत्रको अवस्थाचाहिँ के हुन्छ नि ? त्यतातिर पनि सोच्नुपर्छ ।
हामीकहाँ जसले राजनीति सम्हाल्नुपर्ने हो, उहाँहरूले राम्रोसँग सम्हाल्न सक्नुभएको छैन । त्यसैले जनताले अर्कै क्षेत्रमा राम्रो गर्ने व्यक्ति राजनीतिमा आइदिए त्यस्तै राम्रो हुन्थ्यो कि भनेर शुभेच्छा प्रकट गरिरहेको हो । मलाई राजनीतिमा चासो छ तर यसैमा लाग्ने सोच छैन । यति हो, म उदार लोकतान्त्रिक व्यक्ति हो । मेरो क्षेत्रले पनि त्यही माग गर्छ । उदार लोकतान्त्रिक नभइकन सिर्जना हुन्छ भन्ने लाग्दैन ।