अहिले गीत–संगीत बजारमा मौलिकता भएका राम्रा गीत आउनै छोडे । राम्रा कलाकार पछाडि परेका छन् । राम्रो चिजलाई प्राथमिकता दिन जानेनौँ । अब सबैले ओझेल परेका राम्रो कलाकारलाई बचाउनुपर्छ ।
३८ वर्षअघि सिन्धुपाल्चोकको लिशंखु, ठूलोपाखरमा जन्मिएका अविनाश घिसिङ पपसंगीतमा परिचित नाम हो । नयाँ एल्बम ‘द काप्रेन्टर मेन’ को तयारीमा रहेका उनले लकडाउनअघि ‘माथिल्लो लेकमा (सेलो टन)’ सार्वजनिक गरेका थिए । युट्युबमा बीस लाखभन्दा बढी भ्युज पाएको उक्त गीत एल्बममा पनि समावेश हुनेछ । लकडाउनको एकदिन अघि आयरल्याण्ड पुगेका उनी अहिले उतै छन् । उनीसँग साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानीः
कोरोना महामारीकै समयमा ‘कमब्याक’ कस्तो रह्यो ?
केहि वर्षपछि सांगीतिक क्षेत्रमा कमब्याक गरेको हुँ, त्यसैले यसले मेरो यात्रमा पनि असर पर्यो । तथापि यसैबीच दर्शक–श्रोताको साथ पाएँ । उहाँहरूले मेरो कमब्याक स्वीकार्नुभयो । पार्टी, क्लब, महोत्सव, विवाह, सवारीसाधन आदिमा गीत बज्ने माहोलचाहिँ भएन । फुर्सदको समयमा घरमै बसेर टिकटक बनाउनेचाहिँ धेरै भए । ‘माथिल्लो लेकमा’ गीतको पनि टिकटक धेरै बने । जुन अहिलेसम्म पनि जारी छ । यो मेरो लागि फाइदाजनक भयो ।
युट्युबमा राम्रो भ्युज पाउनुभयो नि है ?
यस्तो अवस्थामा पनि दुई मिलियन भ्युज पुग्नु मेरा लागि असाध्यै लाभदायक र सुखद कुरा हो । यो गीत सफल हुनका लागि सुबानी मोक्तान, अराज केशब, मोहित मुनाल, विभोर पोखरेल, मिलन शंकर र अनिल के मानन्धरको ठूलो साथ रह्यो । साथीहरूसँग भेटेर खुशी सेयर गर्न पनि पाएको छैन । किनकि अहिले म आयरल्याण्डको डब्लिनमा छु ।
आयरल्याण्डचाहिँ किन जानुभएको ?
यहाँ मेरो विशेष काम थियो । वैवाहिक जीवनमा बाधिने तयारी । सात वर्ष भयो अफेयर चलेको तनुजा बमजनसँग । उहाँसँग विवाह गर्दैछु । उहाँ आइरल्याण्ड बस्ने भएकाले इन्गेजमेन्टको लागि यहाँ आएको हुँ । कोरोनाको महामारीको प्रभाव यहाँ पनि छ, लकडाउन भएको थियो । गत सोमबारबाट बिस्तारै अवस्था सामान्य हुँदैछ । बाहिर खासै निस्कन पाएको छैन । अवस्था सहज भएपछि नेपाल फर्कन्छु ।
वैवाहिक जीवनका लागि अग्रिम शुभकामना ! अब संगीतकै कुरा गरौं, माथिल्लो लेक कस्तो गीत हो ?
यसको बिट अलिक फरक छ । ल्याटिनो टाइपको बिट हो, ‘रेगटन’ भन्छ यसलाई । त्यसलाई मैले मौलिक नाम दिएर ‘सेलोटन’ बनाएको हुँ । बाहिर गएकी प्रेमिकाको प्रतीक्षा गरिरहेको प्रेमीले रुमलिएर सहरमा बस्नुभन्दा आफ्नै लेकतिर फर्कन्छु भन्ने भाव गीतमा छ । शब्दमा सक्दो मौलिकता दिन खोजेको छु । हाम्रो संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने कोसिस गरेको छु । सुदूर पश्चिमेली ¥याप शैली छ अराज केशवले गर्नुभएको । त्यसले पनि गीत राम्रो बनेको छ । सुरुमा सुन्दा नबुझिन पनि सक्छ । तर सुन्दै गरेपछि बुझिन्छ । गायिका सुबानी मोक्तान पनि धेरै वर्षपछि आउनुभएको छ । सेलो, देउडा, रेगटन र सेलोटन मेलेडी मिसिएको गरेको नेपाली गीत सायदै कुनै होला । एउटै मानिसको स्वर सुन्दा मानिसलाई ‘मोनोटोनस’ हुन सक्छ भन्ने सोचेर नै तीनजनाले चार मिनेट चानचुनको गीत गाएका छौं । भिडियो पनि राम्रो बनेको छ ।
श्रोतालाई किन ५ वर्ष कुराउनुभको नि ?
मेरो व्यक्तिगत कामले गर्दा हो । अध्ययन पनि गर्दै थिएँ । यसबीचमा संगीतबारे धेरै अध्ययन गरेँ । पछिल्लो डेढ वर्षमा अवधिमा दुई गीत पनि तयार पारेँ । अर्को ‘क्याटमान्डु’ गीत आउँदैछ । प्रशान्त तामाङ, सुबानी मोक्तान र मैले सँगै काम गरेका छौँ । यो काठमाडौँ र टिकटकबारे गीत हो ।
अबका योजना के छन् ?
अब केही वर्ष गीत–संगीतमा नै व्यस्त हुनेछु । सामाजिक कार्य गर्ने सोच पनि छ । देशको लागि केही न केही योगदान त दिनैपर्छ । विशेषतः कला–संस्कृतिको प्रबद्र्धन गर्ने धोको छ । राजनीतिमा पनि रुचि छ । अध्ययन गर्दैछु सिक्दैछु । समाज परिवर्तनका लागि केही गर्ने सोच बनाउँदैछु ।
आफ्नो सांगीतिक यात्रालाई कसरी सम्झनुहुन्छ ?
गाउँ–ठाउँमा हुर्किएको मानिस हुँ, जंगल जाने, हलो जोत्ने, गोठ सार्ने, पौडी खेल्ने, थांका लेख्नेलगायतका काम गरेँ । घरनजिकै स्कुल थियो । खेतीपाती गर्न आमासँग साथी जान्थे । मैले सहरको रमझम देखेँ । तर बालापनको जस्तो वातावरण कतै देख्दिनँ । मेरो गीतमा तिनै अनुभूति र भावना प्रतिनिधित्व हुन्छ ।
सातवटा एल्बम सार्वजनिक गरिसकेको छु । २०५७ सालमा च्याङ्बा, ०५९ मा जेनेरेसन डट एनपी, ०६१ मा जिरो पोइन्ट, ०६४ मा हिल एरिया, ०६४ मा तामाङ भाषाको एल्बम काइरन, ०६७ मा सन अफ हिमालय र ०७२ मा कन्ट्री साइड एल्बम आयो । केही गीत अरूको एल्बममा पनि गाएको छु । अब ‘द कार्पेन्टर मेन’ एल्बम निकाल्न लागेको छु ।
तपाईं हिपहप, र्याप गीत पनि गाउनुहुन्छ, तर र्यापर मानिएको पाइँदैन नि ?
म र्यापर हैन । आरएनबी शैलीलाई शुद्ध नेपाली शब्दमार्फत प्रस्तुत गर्ने मेरो शैली हो । यहाँ अरूको कपी गर्ने धेरै छन् । अरूको कपी गर्नेचाहिँ मलाई र्यापर जस्तो लाग्दैन ।
नयाँ पुस्ताका कलाकार कस्ता छन् ?
बढी उग्र भएका छन्, यसरी धेरै टिक्दैनन् । केही समयमात्र गीत चलेर हुँदैन, सेलिब्रेटीलाई पत्याउने जनताले हो । त्यसरी पत्याउने गरी आएका एकदमै कम छन् ।
नयाँ पुस्तालाई के भन्नुहुन्छ त ?
आजको लागि मात्रमात्र होइन, दीर्घकालीन सोचेर काम गर्नुपर्छ । अरूको मात्र कपी नगरौं । गीत मन पराउन भाषा बुझ्नु पर्दैन, प्रस्तुतीकरण र कला–संस्कृति पस्कन सक्नुपर्छ । समाजमा गीत–संगीतले विकृति फैलाउने होइन, सन्देश दिनुपर्छ । उत्प्रेरणा दिनुपर्छ । जसको लागि आफ्नो धारलाई नछोडौँ, अध्ययन गरौँ । सम्मान लिने मात्र हैन, दिन पनि सक्नुपर्छ । सम्मान दिएपछि मात्र सम्मान पाइन्छ ।
यसको अर्थ, अहिले बजारमा आएका गीतप्रति सन्तुष्ट हुनुहुन्न ?
अहिले गीत–संगीत बजारमा मौलिकता भएका राम्रा गीत आउनै छोडे । सबै सिस्टम नै के भएको हो कुन्नी ! हुन त अहिले गीत–संगीत व्यावसायिक भइरहेको छ । युट्युबबाट पैसा तानिरहेको छ । राम्रो कुरा होे । तर जुन किसिमको बजार बन्दैछ, त्यो ठीक भएको छैन । हामी सभ्य भएनौँ । न संस्कार सिक्यौं, न सभ्य असल नागरिक हुन सक्यौँ । चाहिनेभन्दा नचाहिने कुरालाई बढी प्राथमिकता दिने ट्रेन्ड देखिएको छ । मौलिकता के हो, गीत–संगीतको अर्थ के हुन्छ, कलाकारको दायित्व के हुन्छ, विशेषता के हुन्छ अध्ययन हुनु पर्ने हो । तर त्यस्तो देखिएको छैन । राम्रा गीत–संगीत चल्यो भने रेमिटेन्स बढी आउँछ । हाम्रो कला–संस्कृति विश्व संगीतको बजारमा फैलँदै जान्छ ।
यतिबेला राम्रा कलाकार पछाडि परेका छन् । सोसियल मिडियामा विकृति बढी भयो । राम्रो चिजलाई प्राथमिकता दिन जानेनौँ । यो हेर्दा दुःख लाग्छ । अब सबैले ओझेल परेका राम्रो कलाकारलाई बचाउनुपर्छ । स्रष्टालाई खान लाउन धौ–धौ छ । कलाकारको बिजोग छ । यो अवस्था चित्तबुझ्दो छैन । गलत भएको छ । यसलाई सच्याउनुपर्छ । अनिमात्र भविष्य राम्रो हुन्छ ।
तपाईंको स्वभावचाहिँ कस्तो छ ?
गीत–संगीत क्षेत्रमा लागेको छु । यसमा मौलिकतामा ध्यान दिन्छु । मैले मेलोडीबाट सुरु गरे । अनि हिपहप पनि गाएँ । तर शैलीमा नेपालीपन खोज्छु । ‘पर्फमर’ भएकाले फकर शैली खोज्नैपर्छ । साथै, व्यावसायिकता मात्रै सोच्दिनँ । कम्पोज गर्नुभन्दा अगाडि तयारी गर्छु । सिक्नका लागि विदेशी गीत बढी सुन्छु । सामाजिक रूपमा अप्ठ्यारो र अन्याय परेका मानिसलाई सहयोग गर्ने स्वभाव छ ।
कोरोनाले सांगीतिक क्षेत्रमा पारेको प्रभाव कसरी घटाउन सकिएला ?
अब सांगीतिक क्षेत्रमा कोरोनाले पारेको प्रभाव घटाउनको लागि सामाजिक दुरीको सन्देश दिन सक्नु पर्छ । हामी कलाकारको लागि प्लार्टफर्म डिजिटल मार्केट हुनसक्छ । डिजिटल मार्केट महत्व बढेको यो समयमा अझै धेरै प्रभाबकारी ढंगले हाम्रो मौलिकता, संस्कृति झल्किने र युवा पिढिको रुचिमा ध्यानमा राखी गीत संगीतको सिर्जनामा ध्यान दिनुपर्छ । कोरोना भाइरस सम्बन्धि हामीले जनचेतना मुलक गीत संगीत र सन्देश दिदै अवस्था सामान्य बनाउन सहयोग गर्नुपर्छ ।