
उनको डाक्टर बन्ने सपना थियो । धरान हात्तीसारबाट उनले आईएस्सी सके । पछि थाहा भयो, नेपालमा डाक्टर बन्न प्रतिभा मात्र होइन, पैसा पनि चाहिन्छ । उनको सेतो एप्रोन लगाउने सपना त्यहीँ तुहियो । कामको खोजी गर्दै उनी काठमाडौं आए । उनका दाजु सीताराम कट्टेल कलाकारितामा जम्दै थिए । दाजु–भाउजूको सहयोगमा उनी चलचित्र निर्देशन पढ्न बेलायत गए, तर त्यहाँ पनि दुर्भाग्य भैदियो । ‘टायर फोर’ भिसाअन्तर्गत बेलायत गएका कुमारले त्यहाँ काम गर्न पाएनन्, यसैले रित्तै नेपाल फर्कनुपर्यो । तैपनि उनी भन्छन्, ‘हरेक मानिसलाई ईश्वरले केही न केही बाटो देखाउँदा रहेछन् ।’ आज कुमार कट्टेल ‘जिग्री ब्रो’ युवा पुस्ताका लागि लोकप्रिय हास्यकलाकारका रूपमा उदाएका छन् । साप्ताहिकको गाईजात्रा अंकका लागि कुराकानी गर्न अनुरोध गर्दा जिग्री ब्रोले भने, ‘साप्ताहिकमा अन्तर्वार्ता दिने धोको थियो, पूरा भयो ।’
तपाईं जिग्री ब्रो कि कुमार कट्टेल ?
दर्शकका लागि म जिग्री ब्रो हूँ । म यही नामले लोकप्रिय भएँ । धेरै दर्शकलाई त मेरो सक्कली नाम पनि थाहा छैन । जिल्लातिर विभिन्न कार्यक्रममा जाँदा मलाई जिग्री नै भनेर बोलाइन्छ ।
जिग्री ब्रो लोकप्रिय हुनुको कारण के होला ?
मैले युवाहरूले बोल्ने शब्द, लगाउने वेशभूषा, गर्ने व्यवहार देखाइरहेको छु । यसो गर्दा दर्शकले आफ्ना वरपरका युवाहरूलाई सम्झँदा रहेछन् । बेरोजगार, युवती देखेपछि मरिहत्ते गर्ने, उटपट्याङ् व्यवहार गरिरहने तर हिम्मतिलो युवाको चरित्र निर्वाह गर्दा दर्शकलाई रमाइलो लाग्दो रहेछ । खासमा ‘जिग्री’ शब्दको अर्थ अरूको हित चिताउने चरित्र हो । कसैलाई अप्ठ्यारो पर्दा सबैले जिग्री सम्झन्छन् । यही कारणले पनि लोकप्रिय भइयो कि ? यद्यपि भद्रगोल टेलिश्रृंखला पाँडे, बेलासे, जयन्ते, कक्रोच, बले, सिते बा, वरिष्ठे जस्ता चरित्रका कारण पनि हिट भएको हो ।
जिग्रीले बोल्ने भाषाले बालबालिकाको भाषा नै बिगार्यो भन्छन्, के भन्नुहुन्छ ?
हामीले मनोरञ्जन दिने प्रयास गरेका हौं । हिन्दी वा अंग्रेजी श्रृंखलामा आउने हास्य चरित्रहरूको भाषा पनि यस्तै हुन्छ । त्यस्ता सिरियलमा सुपरम्यानजस्ता चरित्रले घरबाट हाम फालेको देखेर उसकै चरित्र फलो गर्नेहरू पनि छन् । यसमा अभिभावकहरू पनि सचेत हुनुपर्छ । हाम्रो काम मनोरञ्जन प्रदान गर्ने हो । साहित्यका नम्र र मुलायम भाषा हेरेर को हाँस्छ र ? यस्तै फरक कुरा देखाउँदा हाँस्छन् त म के गरौं ? हँसाउन अलिकति बाङ्गो बाटो अपनाइएको हो । यसलाई मनोरन्जनका रूपमा मात्र लिनुपर्छ ।
तपाईंका ‘हल्का..रमाइलो, सोलमारी टुच्च, सक्किगो नि’ जस्ता भाषा अहिले जताततै सुनिन्छ, कस्तो लाग्छ ?
खुसी लाग्छ, कुनै पनि शब्दले यसरी लाकप्रियता पाउँदा त्यसको सर्जक भएका नाताले खुसी लाग्नु स्वभाविक पनि हो । रमाइलो कुरा त के छ भने बुटवलमा एउटा सोलमारी कटेज खुलेको छ । नारायणघाटमा सोलमारी क्याफे, यही नाममा दुईवटा म्युजिक भिडियो नै बने । जापानमा एउटा भव्य रेस्टुराँ खुलेको रहेछ, त्यसको नाम पनि सोलमारी रेस्टुराँ नै रहेछ ।
सोलमारी भनेको के रहेछ ?
पूर्वतिर स्थानीय भट्टीलाई सोलमारी अनि स्थानीय रक्सीलाई टुच्च भनिन्छ । तपाईं पूर्वतिरका चोक, बजारतिर जानुभयो भने देख्नुहुनेछ, त्यहाँ यो पियक्कडहरूको प्रिय भाषा हो । त्यति मात्र होइन, सामाजिक सञ्जालमा हल्का...को अवस्था भन्ने थेगो निकै चलेको छ । बीचमा एउटा शब्द थपेपछि त्यो रमाइलो भाषा बन्छ । सक्किगो नि शब्द पनि सामाजिक सञ्जालमा लोकप्रिय छ ।
यस्ता शब्द र विभिन्न चरित्र कसरी जन्माउनुहुन्छ ?
अरूभन्दा पृथक् हुन र प्रतिस्पर्धामा टिक्न केही नयाँ गर्नुपर्ने हुन्छ । अहिले टेलिभिजन र स्टेज कार्यक्रमहरूमा हास्यकलाकारको ठूलो माग छ, तर प्रतिस्पर्धा पनि उत्तिकै छ । अग्रज कलाकार दीपकराज गिरीदेखि हामीसम्मका नयाँ कलाकारले एउटै मञ्चमा उभिनुपर्छ । विशेष गर्न सकिएन भने पछि परिन्छ । हरेक कलाकारको आफ्नो एउटा चिनारी होस् भनेर हामीले नयाँ चरित्र, नयाँ थेगो र अरूले नगरेको काम गर्नुपर्छ ।
एकसाथ अभिनय, संवाद र कथा लेख्न सक्नु ठूलो कुरा हो । यी सबै कसरी गर्नुहुन्छ ?
हाम्रो टिमलाई सार्वजनिक परिचय दिने र लोकप्रिय बनाउने काममा अर्जुन घिमिरे (पाँडे) को ठूलो योगदान छ । हामी दुवै कथा लेख्ने, राम्रा शब्द बटुल्ने र चरित्रलाई विशेष खालको कसरी बनाउन सकिन्छ भनेर रातदिन मेहनत गर्छौं । वास्तवमा सबैजसो मानिससँग विशेष प्रतिभा हुँदो रहेछ, गर्दै जाँदा ती प्रतिभा स्वभाविक रूपमा बाहिर आउन थाल्दो रहेछ ।
नेपालका हास्यश्रृंखलाहरू एकै खालका भएजस्तो लाग्दैन ?
लाग्छ, हिजो हरिवंश–मदनकृष्णजस्ता माथिल्लो दर्जाका कलाकारले जस्तो परम्परा बसाउनुभयो, हामीले त्यसैलाई पच्छ्याइरहेका छौं । हिजो उहाँहरूले हास्यमा व्यङ्ग्य मिसाउनुहुन्थ्यो । अहिले हामीले व्यङ्ग्य छाडेका छौं र सिच्युएसनल कमेडी गरिरहेका छौं । व्यङ्ग्य र सिचुएसन कमेडी अलिकति फरक हो, तर माथि त्योभन्दा हामी जान सकेनौं । हास्यका पनि धेरै विधा छन् । विदेशतिर डार्क कमेडी, ब्लाक कमेडी, स्टयान्डअप कमेडी, साइलेन्स कमेडीजस्ता हास्यका धेरै विधा छन् । स्टयान्डअप कमेडीमा मनोज गजुरेल र सन्दीप क्षेत्रीले काम गरिरहनुभएको छ । अरू विधा त्यत्तिकै छ, विकास हुन सकेको छैन । मलाई आजसम्म विस्टर विन नामक कलाकार कुन देशको नागरिक हो र ऊ कुन भाषा बोल्छ भन्ने कुरा थाहा छैन । उसले संसार हँसाइरहेको छ ।
अहिले दर्जनौं होइन, सयौं कलाकार भैसक्नुभयो, छलफल, बहस गर्न सकिन्छ नि, सकिँदैन ?
अग्रजहरू आफ्नै व्यस्ततामा हुनुहुन्छ । नयाँ कलाकारहरू आफैं प्रतिस्पर्धामा छन् । यो विधालाई माथि पुर्याउने, यसका कलाकारको भविष्य सुरक्षित बनाउने, हास्य विधालाई फराकिलो बनाउँदै लाने कुरामा कसैको ध्यान गएजस्तो लाग्दैन । तपाईंले भनेजस्तो एउटा हास्यकलाकार सम्मेलन गरेर यसमा के–के गर्न सकिन्छ भनेर बहस, छलफल र निक्र्याैल गर्न सकिन्छ ।
नयाँलाई तपाईंले गर्ने व्यवहार पनि उस्तै हुन सक्छ नि ?
जानेर हुँदैन, किनभने म पनि त्यसैगरी दु:ख गरेर आएको हुँ । मेरो विचारमा नयाँ कलाकारमा नयाँ ऊर्जा, प्रतिभा र सोच हुन्छ । उनीहरूको सोच सुनेर कलामा निखार ल्याउन सकिन्छ, तर हामीमा नयाँ मानिसको कुरा सुन्ने संस्कार कमै छ ।
अब भोलिको हास्य कलाकारिता कस्तो होला ?
यो निरन्तर विकासको बाटोमा छ । हिजोजस्तो नेपाल टेलिभिजनमै कार्यक्रम गर्नुपर्छ भन्ने पनि छैन । जिल्ला–जिल्लामा कलाकारको माग हुन थालेको छ । दर्जनौं टेलिभिजन खुलेका छन् । त्यति मात्र होइन, युट्युबका कारण कसैले प्रसारण नगरे पनि दर्शकसम्म पुग्ने अवस्था सिर्जना भएको छ । अझ साइलेन्स कमेडीको बजार त संसारभर छ । मिस्टर विन लोकप्रिय हुनसक्छन् भने हामी किन हुन नसक्ने ?