नेपाली चलचित्रकी अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापा आमनेपालीका लागि नौलो नाम होइन । फेसबुक फ्यान पेजमा नेपालकै सबैभन्दा बढी प्रशंसक कमाएकी रेखा थापा पछिल्ला केही महिनायता सक्रिय राजनीतिमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको केही सातामै केन्द्रीय सदस्यमा भारी मतले विजयी भएकी थापा यतिबेला आफ्नो निर्माणाधीन चलचित्रलाई थाँती राखेर राप्रपाको निर्वाचन अभियानमा होमिएकी छिन् । राप्रपाले काठमाडौं महानगरपालिकाको उप–मेयर पदमा उम्मेदवार बनाउने घोषणा गरेपछि रेखाको राजनीतिक सक्रियता पनि ह्वात्तै बढेको छ । मंगलबार बिहान साप्ताहिक प्रतिनिधिहरू मित्रपार्कस्थित रेखा निवास पुग्दा उनी आमसभाका लागि भरतपुरतर्फ प्रस्थान गर्ने तयारी गर्दै थिइन् । राजनीतिककर्मीका रूपमा नायिका रेखाले साप्ताहिकसँग लामै कुराकानी गरिन् ।
चलचित्रमा रमाइरहेको एउटा कलाकार कसरी राजनीतिमा आइपुग्नुभयो ?
म अचानक राजनीतिमा आएकी होइन । अभिनय तथा चलचित्र निर्माण गरेर पनि म जनता माझ एक प्रकारको सन्देश फैलाइरहेकी थिएँ । झन्डै डेढ दशक सक्रिय रूपमा बिताएको क्षेत्रलाई प्रतिनिधित्व गर्दै म राजनीतिमा आएकी हुँ ।
आममानिसले त अझै पनि तपाईंलाई कलाकारकै रूपमा मन पराइरहेका छन् नि ?
त्यसका लागि आमदर्शकमा हार्दिक धन्यवादका साथ कृतज्ञता व्यक्त गर्दछु । अब मलाई उहाँहरूले राजनीतिककर्मीका रूपमा पनि मन पराउनुहुनेछ भन्ने कुरामा ढुक्क छु ।
तैपनि मानिसमा एक प्रकारको कौतूहलता छ, रेखा थापाले राजनीति गरेर खाने हुन् कि होइनन् भन्ने कुरालाई लिएर ?
मेरा बारेमा मानिसहरूमा धेरै प्रकारका कन्फ्युजन छन् । हामीकहाँ कलाकारले राजनीति नै गर्नु हुँदैन भन्ने कुरा पनि स्थापित भएको रहेछ । म भन्छु, कलाकारले सधैं रंगीन सपना मात्र बाँड्दैनन्, त्यसलाई कार्यान्वयन समेत गर्न सक्छन् । कलाकारिता एउटा पेसा मात्र हो, आवश्यकता परेका बेला देशलाई सम्हाल्न सक्ने व्यक्ति पनि कलाकार नै हुन् । भूकम्पपछि एकीकृत नमुना बस्ती निर्माण गर्ने अभियानमा हिँडेका धुर्मुस र सुन्तलीलाई नै हेर्नुहोस्, एउटा सिंगो सरकारले गर्न नसकेको काम यी दुई कलाकारले कति मजाले गरिरहेका छन् ।
राजनीतिमा आएपछिका प्रतिक्रियाहरूलाई कसरी लिनु भएको छ ?
करिब ८० प्रतिशतले मलाई शुभकामना दिनुभयो । झन्डै १० प्रतिशतलाई चाहिं मेरो भविष्यप्रति चिन्ता अनि डर रहेछ । बाँकी १० प्रतिशतले चाहिं अहिले नै राजनीतिमा प्रवेश नगरेको भए पनि हुन्थ्यो, राजनीति गर्न सक्दिन होला भन्ने सोच्नुभएको रहेछ । मैले हरेक प्रकारका प्रतिक्रियालाई ऊर्जाका रूपमा लिएकी छु।
के सोचेर राजनीतिमा आउनुभएको हो ?
रेखा थापा एउटी यस्ती महिलाको नाम हो, जो हरेक काम गर्न सक्ने क्षमता राख्छे । म काम गर्न नसक्ने क्षेत्रमा हातै हाल्दिनँ । राजनीति मेरा लागि पनि हो, गर्न सक्ने आत्मविश्वास भएपछि नै म यो क्षेत्रमा आएकी हुँ । मलाई दर्शकले झन्डै १५ वर्षसम्म अगाध माया दिनुभयो, अब मैले त्यो मायाको साटो केही दिने बेला आएको छ । दर्शकहरूको त्यही मायालाई साँचेर उहाँहरूकै लागि केही गर्न सकियोस् भन्ने उद्देश्य लिएर म राजनीतिमा आएकी हुँ ।
राजनीतिक व्यस्तता कस्तो छ त ?
पछिल्लो समाचार त थाहा पाइहाल्नुभयो, राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई काठमाडौं महानगरपालिकाको उप–मेयरको टिकट दिएको छ । पार्टीले अत्यन्त विश्वास गरेर मलाई यो चुनौतीपूर्ण जिम्मेवारी सुम्पिएको छ । पार्टीको यो निर्णयलाई अब म व्यवहारमा लागू गर्न कम्मर कसेर लागेकी छु । अस्ति बुधबारदेखि म देश दौडाहामा निस्किएकी छु । चितवन, हेटौंडा, भैरहवा हुँदै काठमाडौं तथा आसपासका क्षेत्रमा हुने आमसभालाई सम्बोधन गर्दैछु ।
केन्द्रीय सदस्यमा निर्वाचित भएको केही महिना नबित्दै देशको सबैभन्दा ठूलो सहरको उप–मेयरको टिकट कसरी प्राप्त गर्नुभयो ?
यो त पार्टीले मप्रति दर्साएको विश्वास हो । पार्टीले युवापुस्तालाई नेतृत्वमा ल्याउन यो कदम चालेको हुनुपर्छ, अन्यथा केश फुलेपछि मात्र पालो आउनु नेपाली राजनीतिको पुरानै रोग हो, हाम्रो पार्टी त्यो रोगबाट मुक्त भैसकेको छ ।
युवापुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मागका पछाडि कुनै भित्री कारण छ कि ?
देशलाई विकसित गराउने हो भने, बिग्रिएको राजनीतिलाई सुधार्ने हो भने नेतृत्व युवापुस्ताको हातमा आउनैपर्छ । युवामा जति इनर्जी हुनसक्छ, वृद्धमा त्यति हुँदैन । गाउँ, सहर तथा देशको विकास गर्ने योग्य व्यक्ति भनेकै युवा भएकाले मैले युवापुस्ता नै नेतृत्व तहमा आउनुपर्छ भनेकी हुँ ।
चलचित्र ‘रुद्रप्रिया’ निर्माण गर्ने घोषणा गरेको धेरै भएको छैन । अब चलचित्रको सुटिङमा जाने कि भोट माग्न जनताको घरदैलोमा ?
हो, उक्त चलचित्रको प्रि–प्रोडक्सनको काम सम्पन्न भैसकेको छ, तर मुखैमा आएको निर्वाचनका कारण मैले यसको छायांकन निर्वाचन सम्पन्न भएको केही सातापछि मात्र गर्ने निर्णय लिएकी छु । निर्वाचनमा नउठ्ने भएकी भए पनि मैले निर्वाचनपछि नै यो चलचित्रलाई फ्लोरमा लाने निर्णय गरिसकेकी थिएँ ।
आगामी स्थानीय निकायको निर्वाचनलाई कसरी हेरिरहनुभएको छ ?
यो झन्डै ३ करोड नेपालीको ठूलो पर्व हो । राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूका लागि त अझ ठूलो पर्व हो । झन्डै २० वर्षपछि हुन लागेको यो पर्वमा सम्पूर्ण देशवासी बिनास्वार्थ होमिनुपर्छ । यो निर्वाचनमा हामी सबै उत्साहपूर्वक सहभागी हुनुपर्छ ।
कुनै कारणले निर्वाचन सर्यो भने त्यसको दोष कसलाई दिने ?
म त यसको सम्पूर्ण दोष नेपाली जनतालाई नै दिन्छु । हामी नेपाली जनता कति शान्त छौं, धैर्यवान् छौं अनि सहनशील छौं, तर यसपटक हामी शान्तिले बस्ने छैनौं । यदि निर्वाचन सर्ने हल्ला मात्र पनि चल्यो भने सम्पूर्ण जनता सडकमा आएर खबरदारी गर्नुपर्छ । यो निर्वाचन कुनै पनि बहानामा रोकिनु हुँदैन ।
केही पार्टीले स्थानीय निर्वाचनको विरोध गरिरहेका छन् । कस्तो लागिरहेको छ ?
यो एकदमै ठूलो अवसर हो । यो निर्वाचन सफल हुनु भनेको काठमाडौंमा केन्द्रित अधिकार गाउँघरसम्म पुग्नु हो । वास्तविक रूपमै जनताको मुहारमा खुसी चाहनुहुन्छ भने, जनताका लागि राजनीति गरेको हो भने उहाँहरू पनि निर्वाचनमा आउनैपर्छ अन्यथा उहाँहरूलाई नेपाली जनताले नै बाइकट गर्नेछन् । निर्वाचन भाँड्ने नेताले भविष्यमा हुने निर्वाचनमा समेत भोट पाउनेछैनन् ।
प्रसंग बदलौं, रेखा थापाले राप्रपा रोजेको कि राप्रपाले रेखा थापा खोजेको ?
(हाँसो) म सक्रिय राजनीतिमा आउन मेरो आत्मा मिल्ने, पहिचान मिल्ने तथा आचरण मिल्ने पार्टीको खोजीमा थिएँ । सबै पार्टीलाई नजिकबाट नियाल्ने क्रममा राप्रपा नै मसँग मेल खान्छ भन्ने निष्कर्षमा पुगें । राष्ट्रियता जोगाउने, हिन्दू राष्ट्र कायम राख्न संघर्ष गर्ने, सबैलाई पहिचान दिलाउने राप्रपाको एजेन्डा मलाई मन पर्यो । अर्को शब्दमा भन्नुपर्दा मैले पनि राप्रपालाई रोजें, राप्रपाले पनि मलाई रोज्यो ।
राप्रपामा प्रवेश गर्दा भएका आलोचनाको सामना कसरी गर्नुभयो ?
म आफूले गरेको काममा कसले के भन्छ भनेर कहिल्यै सोधीखोजी गर्दिनँ । म स्वयंले के गर्छु भन्ने कुरा ठूलो हो । मैले गरेर देखाउने हो, अरूले के भन्छन् भनेर सोच्ने होइन । आलोचना गर्नेहरूले के–के भन्छन् भनेर सोच्न थालें भने म पछि पर्छु । म आफ्नो आत्मसन्तुष्टि जेमा हुन्छ, त्यही काम गर्ने मान्छे हुँ । त्यसैले मैले त्यो बेला आएका आलोचनाप्रति खासै वास्ता गरिनँ ।
अध्यक्ष कमल थापासँगको चिनजान कत्तिको पुरानो हो ?
हामी थापा–थापा भएकाले यो प्रश्न सोध्नुभएको होला । एउटा नेता तथा कलाकारका रूपमा पुरानै चिनजान हो, तर त्यति घनिष्ठचाहिँ होइन ।
दुवै जना थापा भएकाले आफ्ना कुरा राख्न अलि सहज छ कि ?
हाम्रो पार्टीमा थापाहरूको ठूलै जमात छ । जता फर्किए पनि थापा नै थापा फेला पर्नुहुन्छ । यद्यपि पार्टीभित्र कुन थर, कुन जात भन्ने कुराले कुनै महत्व राख्दैन । राजनीतिमा यस्तो कुरै हुँदैन रहेछ ।
विगतमा माओवादी पार्टीमा प्रवेश गर्नुभएको थियो । अहिले राप्रपामा हुनुहुन्छ । भविष्यमा मन परिवर्तन भएर कुनै तेस्रो पार्टीमा जाने सम्भावना कत्तिको छ ?
त्यो बेला म राजनीतिक रूपमा त्यति परिपक्व भैसकेकी थिइनँ । म त्यो पार्टीप्रति आस्था राख्थें । समर्थन पनि गरेकी थिएँ तर वास्तविकता के हो भन्ने कुरा म आफैंलाई पनि थाहा थिएन, म लहडैलहडमा माओवादी पार्टीमा लागेकी थिएँ । संविधान सभाको दोस्रो निर्वाचनपछि जनताले उक्त पार्टीप्रति अविश्वास गरेको देखेर म झसंग भएँ । अहिले परिपक्व भएर आफैंले निर्णय गर्न सक्ने भएपछि मैले राप्रपा रोजेकी छु । अब म कुनै तेस्रो पार्टीमा जानेछैन । यो पार्टी मेरो घर हो । मेरो यहाँबाट जाने अर्को कुनै घर छैन, जाँदा पनि जान्नँ ।
माओवादी पार्टीको सदस्यता लिनुभएको थियो कि थिएन ?
थिइनँ । मैले माओवादी पार्टीको टिकट काटेर कुनै पनि प्रकारको सदस्यता लिएकी थिइन । बाहिरबाट समर्थन मात्र गरेकी थिएँ । म उक्त पार्टीप्रतिको क्षणिक आकर्षणमा मात्र थिएँ । हो, माओवादीका केही एजेन्डा मलाई मन परेका थिए तर अहिले आएर म सही पार्टीमा छु भन्ने लागेको छ ।
त्यतिबेला त उहाँहरूले तपाईंलाई भजाउन खोज्नुभयो नि ?
भजाउन पनि खोज्नुभयो र ट्याग पनि लाग्यो, जुन मलाई स्विकार्य थिएन ।
राप्रपामा पनि गुट–उपगुटको चर्चा चलिरहन्छ, तपाईं कुन गुटमा हुनुहुन्छ ?
त्यो त हरेक पार्टीमा हुन्छ । मैले बुझेअनुसार अहिले राप्रपामा त्यस्तो ठूलो गुटबन्दी छैन । अहिले सबै नेता तथा कार्यकर्ताहरू देश निर्माणमा जुट्नुभएको मैले बुझेको छु ।
राजतन्त्र फिर्ता ल्याउने राप्रपाको एजेन्डा त्यति लोकप्रिय छैन नि ?
यो एजेन्डामा चाहिं मेरो केही फरक मत छ । राजतन्त्र फर्काउने कुरामा जनमतसंग्रह नै हुनुपर्छ भन्ने मेरो भनाइ छ । जनताले जे चाहन्छन्, त्यही हुनुपर्छ । राजतन्त्र फर्काउने कि नफर्काउने भन्ने कुराको निर्णय गर्ने अधिकार नेपाली जनतालाई नै दिनुपर्छ ।
कतिपयले राजा भएको भए नेपाली जनताले यत्तिको दु:ख पाउने थिएनन् भन्छन्, यसलाई कसरी लिनुहुन्छ?
यो नेताहरूको लापरवाहीका कारण सिर्जना भएको कुरा हो । उहाँहरूले यति ठूलो अवसर गुमाइरहनुभएको छ । राजा ज्ञानेन्द्रले त्यति सहज ढंगले कुर्सी छोड्दा पनि त्यसको उपयोग गर्न चुक्नुभएको छ उहाँहरू ।
राप्रपामा प्रवेश गर्ने क्रममा माओवादी केन्द्रबाट कुनै प्रतिक्रिया आयो कि ?
पहिलो कुरा त म राप्रपामा प्रवेश गर्ने कुराले उहाँहरू सक्ड हुनुभएको थियो । उहाँहरूले हल्का गुनासोसमेत गर्नुभयो । किन, कसरी, केका लागि भन्ने जिज्ञासा पनि राख्नुभएको थियो । त्यो पार्टीका नेतासँग नाच्दैमा म त्यही पार्टीको भएँ भन्ने नै थिएन । म सामान्य नागरिकको हैसियतमा मात्र उहाँहरूको कार्यक्रममा गएकी थिएँ ।
जुन पार्टीको पलडा भारी छ, त्यतै प्रवेश गर्ने रेखा थापाको स्वभावलाई अवसरवादी पनि भनियो नि ?
त्यो त विश्लेषण गर्ने क्षमता नभएका व्यक्तिहरूले गर्ने टिप्पणी मात्र हो । माओवादी पार्टीबाहेक अन्य दुई ठूला पार्टी पनि थिए नि । अवसरवादी नै भएको भए त म एमाले अथवा कांग्रेसमा जान सक्थें नि, यो भर्खर फक्रन लागेको राप्रपा नै किन रोज्थें ?
अन्त्यमा स्थानीय निकायका मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
कुरा गर्नेभन्दा काम गर्नेलाई महत्त्व दिऊँ । कुरै नबुझी आलोचना गर्ने काम आजैदेखि बन्द गरौं । मतदान गर्दा आफ्नो स्वविवेकलाई प्रयोगमा ल्याऊँ ।