धनकुटाको महालक्ष्मी नगरपालिका जिल्लाकै कान्छो नगरपालिकामा जिल्लाका अन्य नगरका मेयरभन्दा कान्छो उमेरका मेयर निर्वाचित भएका छन् ३८ वर्षीय पर्शुराम नेपाल । अनेरास्ववियुको राजनीतिपछि पार्टीमा सक्रिय नेपाल मानवअधिकार तथा सामाजिक संघसंस्थाका जिम्मेवार तहमा रहेर काम गरेको अनुभव समेत छ ।
तपाईंका प्राथमिकता के–कस्ता छन् ?
भौतिक पूर्वाधार सामान्य मात्र रहेको महालक्ष्मी नगरपालिकालाई सबल एवं सक्षम नगर बनाउने चुनौती छ । पहिलो प्राथमिकता सबै वडामा कार्यालय व्यवस्थापन गर्दै आगामी दुई महिनाभित्रै सेवा दिने तयारी गरेको छु । प्रत्येक वडा र नगरपालिका कार्यालय रहेको जितपुरलाई सडक सञ्जालले जोड्नेछु । जितपुर–एङ्लाबुङ–मारेककटहरे–चानुवा तथा हलेदे जोड्ने सडक निर्माणका लागि एक घर एक धारा तथा पोखरी, प्रत्येक वडामा स्वास्थ्यचौकी एवं अंग्रेजी माध्यमको सामुदायिक विद्यालय पनि प्राथमिकतामा रहनेछन् ।
कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?
विकसित, समृद्ध पर्यटकीय नगरीका रूपमा स्थापित गर्ने गुरुयोजना छ । यसैलाई मूर्त रूप दिन जुट्नेछु । सीमान्तकृत समुदायको संरक्षणका लागि जातीय संग्रहालय निर्माण गर्नेछु । पर्यटकीय स्थलको विकासका लागि योजनाबद्ध कार्यक्रम अघि सार्नेछु । दृश्यावलोकनका लागि भ्यू टावर र पार्क निर्माण गरिनेछ । अति सामान्य पूर्वाधार नभएका कारण चुनौती धेरै भए पनि योजनाबद्ध ढंगले अघि बढ्दा आफूले अघि सारेको परिकल्पनाले सार्थकता पाउने कुरामा विश्वस्त छु ।
नगरको विकासका लागि साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?
जलविद्युत्को विकास गरी त्यसबाट स्रोत जुटाउन सकिन्छ । यसैगरी औषधीजन्य वनस्पतिको व्यवसायिक उत्पादन गरी भरपर्दो स्रोत विकास गर्न सकिन्छ । अलैंची, चिराइतो आदिको उत्पादनका उत्पादनका लागि कृषकहरूलाई प्रेरित गर्नेछौं । कृषिजन्य वस्तुको उत्पादन एवं निर्यात पनि नगरको विकासका लागि भरपर्दो स्रोत हुने आशा छ ।