वि.सं. २०३० मा अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिका–५, सुगालीमा जन्मिएका तपेन्द्र रावल टीकापुर नगरपालिकाका नवनिर्वाचित मेयर हुन् । रावलले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । २०४९ सालमा अनेरास्ववियु अछाम–काठमाडौं सम्पर्क मञ्चको सचिव तथा विश्वविद्यालय विभागीय कमिटीको सदस्य हुँदै २०५५ सालमा नेकपा (एमाले) टीकापुर नगर कमिटी सदस्य, दुई कार्यकाल पार्टीको नगर सचिव, जिल्ला कमिटी सदस्य हुँदै हाल उनी प्रदेश खेलकुद विभाग सदस्य छन् ।
पहिलो काम के हुनेछ ?
मिश्रित नेतृत्व आएको छ । जनताले संयुक्त सरकार चलाउनुहोस् भनेका छन् । सबै जातजाति तथा भाषाको विकास हुने गरी जनादेश आएको छ । जबसम्म सबै जातजाति मिलेर जाँदैनौ तबसम्म विकास हुँदैन भन्ने जनादेश छ । सबै पार्टीका आ–आफ्ना घोषणापत्र छन् । सबैले जनतालाई छुट्टाछुट्टै आश्वासन दिएका छन् । सबै दलको समझदारीमा कार्यक्रम अघि बढाउँछु । सबैको मनोभावनाका आधारमा कार्यक्रम ल्याउनेछु ।
प्राथमिकताका विषय के हुन् ?
टीकापुर आफैँमा व्यवस्थित सहर हो, यसलाई थप व्यवस्थित गर्नेछौं । पछिल्लो संरचनाअनुसार धनसिंहपुर गाविस र नारायणपुर गाविस पनि टीकापुरमा जोडिएको छ । नारायणपुर र धनसिंहपुरलाई पनि नयाँ खाका बनाएर व्यवस्थित बनाउने प्रयास गरिनेछ । यो कृषिक्षेत्र हो । जग्गा खण्डीकरण रोकेर टीकापुरलाई कृषिमा आत्मनिर्भर बनाउनु छ । व्यवस्थित सहर र आधुनिक कृषि नै मेरो प्राथमिकतामा रहनेछन् ।
स्रोत कसरी जुटाउनुहुन्छ ?
स्रोतको कमी छ जस्तो मलाई लागेको छैन । अहिले पनि नेपाल सरकारको ४२ करोड बजेट विनियोजन भएको छ । नेपाल–भारतसँग सिमाना जोडिएको पहिलेको नारायणपुर र धनसिंहपुर गाविसमा भएको आन्तरिक स्रोतलाई जोड्दा पनि ८०/९० करोडको बजेट हामीसँग हुन्छ, त्यसैबाट व्यवस्थापन हुने गरी कार्यक्रम ल्याइनेछ ।