डेढ दशकयता भोजपुरी चलचित्र उद्योगले ठूलो फड्को मारेको छ । भारतको बिहार, उत्तर प्रदेश, दिल्ली, झारखण्ड, पन्जाब तथा नेपालको मध्यतराईका भोजपुरीभाषी जिल्लाहरू भोजपुरी चलचित्रका मुख्य बजार हुन् । भोजपुरी भाषाको प्रभाव रहेको नेपालका मध्य तराई क्षेत्रमा भोजपुरी चलचित्रले नेपाली र हिन्दी चलचित्रलाई राम्रै टक्कर दिँदै आएका छन् । भोजपुरी चलचित्र उद्योगले मनोज तिवारी, रवि किशन, दिनेशलाल यादव निरहुवा, खेसारीलाल यादव, विराज भट्ट, रानी चटर्जी, पवन सिंह, आम्रपाली दुबे जस्ता सुपरस्टार जन्माइसकेको छ । तीमध्ये बितेको एक दशकयता दर्शकको सर्वाधिक मन जितेका छन् निरहुवाले । पाँच दर्जनभन्दा बढी भोजपुरी चलचित्रमा अभिनय गरिसकेका निरहुवा भोजपुरी चलचित्रका महँगा सुपरस्टार मानिन्छन् । निरहुवा टाइटललाई ब्रान्डका रूपमा स्थापित गरिसकेका दिनेशलाल दुई साता यता नेपालमा छन् । नेपाली निर्माता निर्देशकले निर्माण गरिरहेको भोजपुरी चलचित्र निरहुवा चलल लन्डन को छायांकनका क्रममा वीरगन्जमा रहेका निरहुवासँग साप्ताहिकको विशेष कुराकानी :
कति पटक नेपाल आउनुभयो ?
यो समेत दोस्रो पटक हो । यसअघि चलचित्र लागल रह ए राजा जीको प्रोमोसनका लागि करिब पाँच वर्षअघि वीरगन्ज आएको मलाई सम्झना छ । अहिले निरहुवा चलल लन्डनको छायांकनका लागि करिब डेढ सातादेखि नेपालमै छुँ ।
नेपालमा कहाँ–कहाँ पुग्नुभयो ? कस्तो लाग्यो नेपाल ?
यसपटक म नेपालको उच्च हिमाली भूभाग जोमसोमसम्म पुगें । त्यहाँ हाम्रो चलचित्रको एउटा गीतको र पोखरामा केही एक्सन दृश्यको छायांकन गरियो । मैले आफ्नो करियरमा यति रमणीय लोकेसनमा छायांकनको अनुभव बटुलेको यो पहिलो अवसर हो । नेपाल यति सुन्दर रहेछ, यहाँ चलचित्रको छायांकन गर्न सकिने विश्वकै उत्कृष्ट लोकेसनहरू रहेछन्, तर छिमेकी भारतको भोजपुरी तथा हिन्दी चलचित्र उद्योग नै यस विषयमा हालसम्म अनभिज्ञ छ ।
त्यसो भए फेरि पनि नेपाल आउनुहुन्छ ?
अवश्य, मेरो आफ्नै चलचित्र कम्पनी छ, जसलाई मेरो भाइ (प्रवेशलाल यादव) ले हेरिरहेका छन् । हामी यहाँको धौलागिरि हिमाल क्षेत्र तथा जोमसोम मुस्ताङ क्षेत्रमा आफ्नो आगामी चलचित्रको छायांकन गर्न आउने योजना बनाइरहेका छौं । ६० को दशकमा भारत–चीन र भारत–पाकिस्तानबीच भएको युद्धमा आधारित चलचित्र भएकाले त्यसको छायांकन नेपालको उच्च हिमाली भूभागमा गर्नुपर्ने हुन्छ ।
नेपालको बारेमा कसबाट जानकारी पाउनुभयो ?
किन नहुनु ? नेपालका सम्बन्धमा मैले धेरै पढेको र सुनेको छु । मेरा मित्र विराज भट्ट पनि नेपालकै हुनुहुन्छ । उहाँ हाल भोजपुरी चलचित्रमा जम्नुभएको छ । हामीले केही चलचित्रमा सँगै काम पनि गरेका छौं । विराजजीले मलाई बेलाबेलामा नेपालका सम्बन्धमा थुप्रै कुरा सुनाउँदै आउनुभएको छ । त्यति बेलैदेखि ममा नेपाल घुम्ने तीव्र इच्छा थियो । नेपाली नायिका जेनिसा केसी र मैले चलचित्र ‘काशी अमरनाथ’ मा सँगै अभिनय पनि गरेका छौं ।
अहिले छायांकन भैरहेको निरहुवा चलल लन्डनको सम्पूर्ण युनिट नै नेपाली छ । नेपाली चलचित्रकर्मीहरूसँगको अनुभव कस्तो रह्यो ?
एकदमै नौलो । म नेपाली चलचित्र युनिटको काम गर्ने शैलीबाट अत्यन्त प्रभावित भएँ । यहाँको चलचित्र युनिटका सबै सदस्य अत्यन्त मेहनती छन् । निर्देशक चन्द्र पन्त तथा उनको युनिटले मेहनत गरेको देख्दा म तीनछक्क परेँ । उता भारतको चलचित्र युनिटका १० जनाले गर्ने काम यहाँको युनिटका एक्लैले गर्दा रहेछन् ।
पहिलो चलचित्र कुन हो ?
२००३ मा आएको चलत मुसाफिर मोह लिया रे मेरो पहिलो चलचित्र हो । त्यसअघि निरहुवा सटल रह म्युजिक भिडियो एल्बम आएको थियो, जुन अत्यन्त सफल भएको थियो ।
भोजपुरी चलचित्रमा आएको केही वर्षमै नम्बर वन बन्न सफल हुनुभयो, कारण के होला ?
हेर्नुस्, म एकदमै साधारण मानिस र त्यति नै साधारण कलाकार हुँ । दर्शकले मलाई पर्दामा हेर्दा आफ्नो छवि देख्छन् । आम आदमीको यही पहिचानले मलाई चाँडै नै दर्शकको मन–मस्तिष्कमा बस्न सफल बनायो । यो मामिलामा म भाग्यमानी रहेछु ।
अहिलेसम्म कतिवटा चलचित्रमा अभिनय गर्नुभयो ? आफूलाई कुन चलचित्रले स्थापित गरायो जस्तो लाग्छ ?
चलचित्र क्षेत्रमा आएको १५ वर्षजति भयो । २००५ मा आएको मेरो दोस्रो चलचित्र निरहुवा रिक्सावालाले मलाई स्थापित गराएको हो । उक्त चलचित्र सुपर हिट भएको थियो । अहिले पनि मलाई धेरै दर्शकले त्यही चलचित्रको अभिनयबाट सम्झन्छन् । त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन । हालसम्म झन्डै ७५ वटा चलचित्रमा अभिनय गर्ने अवसर मिलेको छ ।
चलचित्र क्षेत्रमा आउन कत्तिको संघर्ष गर्नुपर्यो ?
भोजपुरी चलचित्रमा एउटा भिन्न खालको ट्रेन्ड छ । सुरुमा गायकका रूपमा स्थापित भैसकेपछि अभिनयको प्रस्ताव आफैं आउन थाल्छ । म मात्र होइन, मनोज तिवारी, पवन सिंह, खेसारीलाल यादव आदि यसका ज्वलन्त उदाहरण हुन् । नायक बन्नुअघि गायकका रूपमा स्थापित भैसकेकाले मलाई चलचित्रको प्रस्ताव आएको हो ।
अभिनय र नृत्यको प्रशिक्षण लिनुभएको छ ?
मैले बलिउडका चर्चित कोरियोग्राफर गणेश आचार्यबाट नृत्यको तथा आरपी यादवसँग एक्सनको प्रशिक्षण लिएको छु । अभिनयको औपचारिक प्रशिक्षण लिएको छैन ।
अहिले भोजपुरी चलचित्रमा तपाईंको प्रतिस्पर्धी को हो ?
मेरो प्रतिस्पर्धी म आफैं हुँ । म आफ्नै कामलाई सुधार्ने प्रयास गरिरहेको हुन्छु ।
तपाईं कसबाट प्रभावित हुनुहुन्छ ?
म अमितजी (अमिताभ बच्चन) को ठूलो फ्यान हुँ । उहाँलाई हेरेर धेरै कुरा सिक्ने प्रयास गर्छु । संयोगवश मैले उहाँसँग गंगादेवीमा अभिनय गर्ने अवसर प्राप्त गरेँ । उहाँ मेरा पिता र जया बच्चन आमाको भूमिकामा हुनुहुन्थ्यो । त्यो मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण र उपलब्धिपूर्ण क्षण थियो ।
भोजपुरी चलचित्रको भविष्य कत्तिको देख्नुहुन्छ ?
एकदम राम्रो छ । विगतमा बन्दजस्तै रहेको यो चलचित्र उद्योगलाई मनोज तिवारीजीले करिब १७ वर्षअघि ससुरा बडा पैसा वाला बनाएर नयाँ जीवन दिनुभयो । अहिले भोजपुरी चलचित्र उद्योग चरम उत्कर्षमा छ । राम्रा चलचित्र बन्न थालेका छन् । स्थापित कलाकारहरू पनि थुप्रै भैसके । दर्शक पनि प्रशस्त छन् । त्यसकारण म भोजपुरी चलचित्रको भविष्य उज्ज्वल देख्छु ।
नेपाली चलचित्रबाट अफर आए काम गर्नुहुन्छ ?
स्क्रिप्ट राम्रो छ भने अवश्य अभिनय गर्छु ।
हिन्दी चलचित्रमा अभिनयको प्रस्ताव नआएको हो कि गर्न नचाहनुभएको ?
मलाई अफर नआएको होइन, थुपै्रै अफर आएका थिए तर मलाई दिन खोजिएको चरित्र राम्रो लागेन । मलाई थाहा छ, मैले त्यस्ता प्रस्ताव स्वीकार गरेर हिन्दी चलचित्रमा अभिनय गरे भने प्रशंसकहरूले चित्त दुखाउनेछन् । म आफ्ना शुभचिन्तकहरूको चित्त दुखाउन चाहँदिनँ ।
आदर्शचाहिँ को हो ?
मेरो आफ्नै दाजु विजयलाल यादव । म किशोर अवस्थामा हुँदा उहाँ भोजपुरी गायकका रूपमा अत्यन्त चर्चित र स्थापित हुनुहुन्थ्यो । मलाई सम्झना छ उहाँका फ्यानहरू उहाँलाई भेट्न लालयित हुन्थे । उहाँसँग भेटेपछि प्रशंसकहरूले अटोग्राफ लिएको देख्दा मलाई पनि निकै रहर लाग्थ्यो उहाँ जत्तिक्कै चर्चित सेलिब्रेटी बन्ने । त्यति बेलै मैले कला क्षेत्रमै केही गर्ने प्रण गरेको थिए । म पनि गायन क्षेत्रमै चर्चित भएँ र त्यसपछि अभिनयमा । मैले जे चिताएको थिए त्यो सबै पाएँ ।
नेपाल र नेपालीका बारेमा जानकारी छ ?
किन नहुनु ? भारतको अनन्य छिमेकी मुलुक हो— नेपाल । मैले नेपालको सुन्दरता र नेपालीहरूको वीरताको गाथा धेरै सुनेको छु । विश्वकै सुन्दरतम मुलुकमध्ये एक हो— नेपाल । नेपालीहरू विश्वभरि आफ्नो साहस र वीरताका लागि प्रसिद्ध छन् । विश्वयुद्धहरूमा गोरखाली सेनाको वीरताको गाथा धेरै सुनेको र पढेको छु । ब्रिटिस सेनामा गोरखाली सेनाको धेरै इज्जत छ । भारतीय सेनामै पनि गोरखा रेजिमेन्ट छ । मेरो गृहनगर उत्तरप्रदेशको गाजिपुरमा हाम्रो छिमेकमा गोरखा रेजिमेन्टमा कार्यरत एक जना गोरखा सैनिक जंगबहादुर थापा बस्नुहुन्थ्यो । बाल्यकालमै मैले उहाँबाट नेपालको सुन्दरता र गोरखाली सेनाको वीरताका गाथाहरू सुनेको छु ।
अन्त्यमा आफ्ना नेपालका प्रशंसकहरूलाई केही भन्न चाहनुहुन्छ कि ?
मलाई थाहा छ, नेपालमा पनि ठूलो संख्यामा भोजपुरी भाषी छन् । यहाँ पनि भोजपुरी चलचित्रका पारखी प्रशस्तै छन् । हाम्रा चलचित्र पनि हेरिदिनुस् । हामीलाई माया गर्न नछाड्नुहोस् ।