नेपाली चलचित्रकी अभिनेत्री रेखा थापा अहिले फरक अभियानमा छिन् । उनी अहिले रिल लाइफ छाडेर सामाजिक अभियन्ताका रूपमा प्रस्तुत भैरहेकी छिन् । वालविवाहजस्तो कुरीति र कुसंस्कारका कारण धेरै नेपाली महिलाहरू कष्टको जीवन जीउन बाध्य छन् । उमेर नपुग्दै विवाह भएपछि उनीहरू अनेकन समस्याले जेलिन्छन् । कतिपय त मुत्युको मुखसम्म पुग्छन् भने कतिपय सम्झौताको जीवन बाच्न बाध्य हुन्छन् । रेखा अहिले त्यही कुरीति र विसंगतिविरुद्ध स्वर्णिम नेपाल महाअभियानअन्तर्गत ठाउँ–ठाउँमा बालविवाह अन्त्यका लागि संकल्प सम्मेलन गरेर हिँडिरहेकी छिन् । यही प्रसंगमा कपिलवस्तु पुगेका बेला साप्ताहिक संवाददाता मनोज पौडेलले अभिनेत्री थापासँग लामै कुराकानी गरेका थिए ।
कलाक्षेत्रमा लागेको मान्छे एक्कासि यो अभियानमा जोडिनुभयो नि ?
वास्तवमा म अचानक यो अभियानमा आएकी होइन । म सात–आठवर्ष अघिदेखि नै सामाजिक कामहरूमा संलग्न छु । म नारी जागरण र सशक्तीकरणका लागि सधैं आवाज उठाउँदै आएकी कलाकार हुँ । मैले आफ्ना चलचित्रमा पनि ती कुरा उठाएँ, तर त्यतिले मात्र पुगेन । पर्दामा देखाइने चलचित्र मानिसहरू एकछिन हेर्छन्, मनोरञ्जन लिन्छन् र बिर्सन्छन् । त्यही भएर अब समय आयो, अब जनतासँग प्रत्यक्ष सम्पर्क राख्दै सचेतना अभियान चलाउनुपर्छ भनेर म यो अभिनयमा लागेकी हुँ । यो सचेतना अभियानबाट मैले वास्तवमै राम्रो प्रतिक्रिया पाइरहेकी छु ।
यो अभियानलाई कसरी अझ प्रभावकारी बनाउने, केही सोच्नुभएको छ ?
वालविवाह गर्नु भनेको छोरीमाथिको ठूलो अन्याय हो । यसले परिवारदेखि लिएर राष्ट्रलाई नै पछाडि धकेलिरहेको छ । महिलालाई जानी–जानी मृत्युशैयामा पुर्याइरहेको छ । यसले हरेक कुरामा महिलालाई पछि पार्छ । उनले घरदेखि राज्यसम्म सम्झौतामा बाँच्नुपर्छ, अरूको भर पर्नुपर्छ । यो अभियान लिएर गाउँ–गाउँमा पुग्दा मैले बालविवाहको जड के भन्ने कुरा बुझ्दै गएकी छु, विषयवस्तु पहिचान गर्दैछु । अब बालविवाहविरुद्ध आत्मजागरण हुने विषयमा केन्द्रित रहेर चलचित्र बनाउने योजना छ, जसले पूरै राष्ट्रलाई फाइदा पुर्याउनेछ ।
चलचित्रमा काम गर्दागर्दै सामाजिक अभियन्ताका रूपमा सक्रिय भएपछि यी दुईबीच के फरक पाउनुभयो ?
प्लास्टिकको फूल र वास्तविक फूलमा कति अन्तर हुन्छ ? म वास्तविक फूलको वासना र सुन्दरताले लोभ्याएकै कारण सामाजिक अभियन्ता भएकी हुँ । नेपालमा धेरै महिलामा गर्न चाहेर पनि घरभित्रै बस्नुपर्ने तीतो यथार्थ विद्यमान छ । म ती सबै महिलाको अनुहारमा हाँसो नआएसम्म काम गरिरहन्छु । यो अभियानमा मानसिक सन्तुष्टि पनि छ भने यसमा उत्तिकै मीठो निद्रासमेत लाग्छ । मेरो दिन खुसीसँग बित्छ । मानिसलाई योभन्दा ठूलो सन्तुष्टि के चाहियो ?
यो अभियानमा लाग्नुपर्छ भनेर कसरी आत्मजागरण भयो ?
संयोगले आत्मजारणका कुशल प्रशिक्षक नरबहादुर कार्कीसँग मेरो भेट भयो । उहाँ पनि केही गरौं भन्ने खालको मान्छे, दुवैको सामाजिक स्वार्थ एउटै भयो र हामी यो अभियानमा लाग्यौं । संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने नेपालसम्बन्धी मानव अधिकार प्रतिवेदनमाथि छलफल हुँदा बालविवाहको विषयले नेपालको छवि नै नकारात्मक बनाउन थालेकाले उहाँको ध्यान त्यता तानिएको थियो । अब अभियान चलाइएन भने मुलुककै बेइज्जत हुन्छ भनेर हामी हतार–हतार यो अभियानमा जुट्यौं ।
यो अभियान कहिले सुरु भएको हो ?
म कार्कीसँगै यो संयुक्त अभियानमा सक्रिय छु । कार्की कुशल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँका कुरा सुनेर धेरै आमा तथा अभिभावकका आँखा रसाउँछन् । २०१६ को मार्चमा सुर्खेतबाट यो अभियान सुरु गरिएको थियो । हामी सधैंभरि अभियानमा मात्र लाग्न सक्दैनौं । हामी दुवै आफ्नो कामबाट समय निकालेर अहिलेसम्म १५ भन्दा बढी जिल्लामा पुगिसकेका छौं ।
स्रोतको व्यवस्थापन कसरी गर्नुभएको छ ?
कसैसँग सहयोग नलिई आफ्नै खर्चमा यो अभियान चलाएका छौं । सहयोग लिदा अर्कै अर्थ लाग्छ । त्यही भएर सकेसम्म सहयोग नलिई अभियान सञ्चालन गर्छौं । हाम्रो काम देखेर धेरै दाताले हाम्रो सहयोगमा हिँड्नुहोस् भनेका छन्, तर हामीले त्यस्तो सहयोग लिएका छैनौं ।
अभियानको प्रभाव कस्तो छ ?
यो अभियानले हामीलाई निक्कै उत्साहित बनाएको छ । जहाँ गए पनि राम्रो सद्भाव पाएका छौं । हामी वास्तवमै कुसंस्कारमा बाँचिरहेका छौं भन्ने महसुस हुन थालेको छ । अब यसलाई सक्दो छिटो फाल्नुपर्छ भन्ने भावना सबैमा जागृत हुँदै गएको छ । कम्तीमा तीन वर्षभित्र वालविवाह मुक्त नेपाल बनाउने चाहना छ ।
सफल अभिनेत्री रेखा र आजकी रेखामा के परिवर्तन पाउनुहुन्छ ?
वास्तवमा म त्यही रेखा हुँ । भूमिका मात्र फरक छ । चलचित्रको छायांकनका क्रममा १६/१७ वर्षको उमेरमा गाउँतिर पुग्दा मलाई बालबालिकाहरूको पीडाले पोल्यो । काठमाडौं नजिक बालाजुमाथिको एउटा गाउँमा मैले १८ वर्षमै ३ वटा सन्तान जन्माइसकेकी किशोरीलाई देखें । उनी बिहान ४ बजे उठेदेखि राति ९ बजेसम्म कामै मात्र गरिरहन्छिन् भन्ने कुरा सुनेपछि मलाई असह्य भयो । के महिलाहरू मेसिन हुन् ? मैले उनको अनुहारमा पीडा र समस्या मात्र थोपरिएको देखे । अझ उनी काठमाडौंमा ब्युटि कन्टेस्टमा विजयी भएर आएकी महिला थिइन् । त्यसैले मलाई आफूमात्र खुसी र हाँसोमा बस्न मन लागेन । जब म आम महिलाको अनुहारमा हाँसो र खुसी ल्याउन सक्छु तब मात्र सन्तुष्ट हुन्छ भनेर यो अभियानमा लागेकी हुँ । यद्यपि फरक भूमिकामा आउँदा सन्तुष्टिका लागि केही समय कुर्नुपर्ने हुन्छ ।
तपाईं चलचित्रमा पनि पुरुषको स्वभावमा बढी देखिनुहुन्छ नि ?
हो, पहिले चलचित्रमा पुरुषको भूमिकालाई प्राथमिकता दिइन्थ्यो । मैले त्यसलाई ब्रेक गरें । म मारघाडमा पनि उत्रिएँ, एक्सन भूमिका निर्वाह गरें । चलचित्रका पोस्टरमा नायकको मात्र तस्बिर प्राथमिकताका साथ राखिन्थ्यो । मैले त्यसको विरोध गरे अनि नायिकाको मात्र तस्बिर राखेर पोस्टर बनाउन थालें । चलचित्र दुर्गादेखि मैले पोस्टरमा आफ्नो मात्र फोटो राख्ने कामको सुरुवात गरे, जुन कामले हिजोआज गति पाएको छ । अन्याय सहनु हुँदैन भन्ने विद्रोही भावना मभित्र पहिल्लैदेखि थियो । अरू नायिकाहरू नाम कमाएका फलानो जस्तो कलाकार बन्न पाए हुन्थ्यो भन्थे, तर मैले कहिल्यै त्यसो भनिनँ । मैले म रेखा नै हुँ र रेखा नै
बन्छु भन्दै आएँ ।
अब विवाह कहिले गर्नुहुन्छ ?
भर्खर त २० वर्षकी भएँ, अब अर्को वर्ष गर्छु (हाँसो) । म मोफसलका पत्रकारहरूलाई बढी सम्मान गर्छु । त्यही भएर तपाईंलाई वास्तविक कुरा भनेकी हुँ— म अहिले विवाहका लागि तयार छैन । धेरै काम गर्न बाँकी नै छ । २० देखि ३० वर्षभित्रै विवाह गर्नुपर्छ भन्ने होइन । हुन सक्छ, ४० वर्षमा विवाह होस्, नभए ५० वर्षमा होस । नेपाली रजतपटमा नायिकाहरूले यो चलन चलाएकै छन् ।
विवाहलाई कसरी लिनुभएको छ ?
विवाह मलाई मन पर्ने विषय हो । विवाहबाट कोही पनि भाग्न सक्दैन । यसको अर्थ कोही विवाह नगरी बस्नै सक्दैनन् भन्नेचाहिँ होइन । विवाह के–का लागि गर्ने ? किन गर्ने भन्ने हो ? मसँग सोध्नुहुन्छ भनेचाहिँ म साँच्चै अर्को विवाहका लागि परिपक्व छैन ।
तपाईंका पछिल्ला चलचित्र पलाँस, डायरी र रुद्रपिया त चलेनन् नि ?
पलाँस र डायरीको जिम्मेवारी म लिन्नँ । त्यसमा म विशुद्ध कलाकारको भूमिकामा छु । मैले आफ्नो भूमिका राम्रैसँग निर्वाह गरेकी छु । चलचित्रको मार्केटिङ गर्ने र त्यसलाई चर्चामा ल्याउने काम प्रोड्युसर तथा निर्देशकहरूको हो । रुद्रपिया भने मैले बनाएकी हुँ, जसको नाफा राम्रो छ ।
रेखा थापाको नायकहरूसँग त कहिल्यै राम्रो सम्बन्ध भएन हैन ?
यो पुरानो कुरा हो । जति बेला म परिवर्तनको सँघारमा थिए त्यतिबेलाको कथा हो । यो च्याप्टर अब क्लोज भैसकेको छ । अहिले मेरो सबैसँग अत्यन्त राम्रो मित्रता छ ।
रेखा थापालाई डेटिङ जान मन लाग्दैन् ?
खासमा अहिलेसम्म त्यतातिर ध्यानै गएन । म अरूलाई हेरेर होइन, आफूलाई हेरेर बाँच्न चाहन्छु । म अरूलाई आत्मसम्मानले बाँच्न सिकाउँदै हिँड्छु । अब म नै डेटिङ जान थालें भने मलाई अरूले कसरी लिन्छन् ? मप्रतिको सम्मान पनि घट्छ । समाज परिवर्तनको अभियान चलाउने अनि डेटिङ पनि हिँड्ने कुरा मेरो मान्यता र नैतिकताले दिँदैन ।