हालै अमेरिकामा सम्पन्न मिस भुटान युएस–२०१८ को उपाधि नर्थ क्यारोलाइनाको सार्लोटमा बसोबास गर्दै आएकी सुचिता प्रधानले हात पारिन् । प्रधान हिमालयन फेस्टिबलअन्तर्गत आयोजना हुने मिस भुटान युएसमा सहभागी ११ जना युवतीलाई पछि पार्दै उक्त उपाधि जित्न सफल भएकी हुन् । शारीरिक वनावटलाई भन्दा विचारलाई सम्मान गर्ने प्रधानसँग हेम गिरीको कुराकानी :
मिस भुटान युएसको उपाधि जित्दा कस्तो महसुस भयो ?
एकदमै आश्चर्य अनि खुसी लागेको थियो किनभने मैले त्यो ताज मेरो शिरमा पर्छ भन्ने कल्पना गरेकी थिइनँ ।
कसरी जित्नुभयो ?
मिस भुटान युएसका लागि आवेदन दिएपछि एक हप्ताको तालिममा सहभागी भए, जसमा धेरै नयाँ कुरा सिक्ने मौका पाए, मैले आफ्नो ठाउँबाट सधंै राम्रो गर्ने प्रयास गरिरहे ।
यो प्रतियोगितामा सहभागी हुने इच्छा कसरी जाग्यो ?
मेरो परिवारको सहयोग अनि हौसलाका कारण । हाम्रो समाजमा विद्यमान मानसिक रोग, चिन्ता, आत्महत्या आदिका विरुद्ध समुदायमा अझ व्यापक रूपमा चेतना फैलाउन सकिन्छ कि भन्ने लागेर पनि म यो प्रतियोगितामा सहभागी भएकी थिएँ ।
अरू प्रतियोगी र तपार्इंमा के फरक थियो ?
मैले आफूले सके जति राम्रो प्रस्तुति दिएँ । प्रतियोगितामा सहभागी सबै आ–आफ्नो ठाउँमा विशेष हुनुहुन्थ्यो । म अरूभन्दा भिन्न रहेर विशेष गर्ने प्रयास गर्थे । सबैको व्यक्तित्व फरक–फरक हुन्छ भने जस्तै हामी सबैको विचार फरक थियो । मैले आफ्नो प्रस्तुतिकै करण उपाधि चुमेको हुँ भन्ने लाग्छ ।
मिस भूटान युएसए भएपछि आफुमा के फरक पाउनुभयो ?
तुलनात्मक रूपमा आन्त्माविश्वासी भएकी छु, मसँग धेरै आशा अनि योजना छन् त्यही योजना पूरा गर्छु भन्ने लागेको छ ।
भावी योजना के छ ?
पढाइसँगै समुदायलाई सकेसम्म सहयोग गर्छ । मेरो मनले के भन्छ के गर्दा राम्रो हुन्छ त्यही काममा आफूलाई लगाउँछु ।
मानिसहरू मिस भुटान युएसको किन आलोचना गर्छन् ?
मलाई थाहा छैन । कतिपयले मिस भुटान युएसको अहिले पनि आलोचना भनौं वा विरोध गरिरहेको देख्न पाइन्छ तर सबैको आ–आफ्नै विचार हुन्छ । कसैले यो प्रतियोगितालाई माया पनि गर्छन्, सहयोग अनि सल्लाहसमेत दिन्छन्, कसै भने आलोचन अनि विरोध गर्छन् । यद्यपि आलोचना गरेर बस्नुभन्दा रचनात्मक सल्लाह दिनु राम्रो हो ।