साप्ताहिक संवाददाता
केदार घिमिरे ‘माग्नेबुढा’, हास्यकलाकार
होलीमा केटीको हुल नै तपाईंलाई रंग दल्न आयो भने ?
केटीले होलीमा रंग दल्ने उमेर त गैहाल्यो तर दली हाले भने आन्टीहरूले दल्न सक्छन् । केटीहरूले त अंकल, ठूलो ड्याडी भन्न थालिसके । आन्टीहरूले नै दले भने चाहिँ धन्यवाद भन्नुपर्ला ।
सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भने अगाडि कसको हात हुन्छ ?
आफ्नै हात हुन्छ । किनभने, आफ्नो हात पछाडि हुँदैन्, अगाडि नै हुन्छ ।
तीन पाने (रक्सी)मा कहाँ–कहाँको पानी मिसिएको हुन्छ ?
ललितपुरमा तीन पाने भन्ज्याङ भन्ने ठाउँ नै छ, काठमाडौंबाट हेटौंडा जाने बाटोमा । त्यहीको पानी हाल्छन् होला ।
पत्नी र प्रेमिकामा के फरक छ ?
प्रेमिका क्यासेट प्लेयरजस्तै हो, बेलाबेलामा सुनिन्छ, कहिलेकाहीँ बन्द गर्न पनि मिल्छ, त्यसबाट छुटकारा पनि पाउन सकिन्छ । तर, पत्नी भनेका रेडियोजस्तै हुन बजेका बज्यैं हुन्छन्, तिनीहरू जिन्दगीभरिकै लागि हुन् ।
तपाईंका पछाडि अनमोल केसीकाजस्तै केटीहरू लागि परे भने के गर्नुहुन्छ ?
अनमोल केसीका झैं केटीहरू पछि परे भने केश काट्न छाड्ने, दाह्री नकाट्ने, दात नमाझ्ने त्यसपछि केटीहरू आफैं साइड लाग्छन् ।
अर्काकी श्रीमती देख्दा लोग्ने मान्छेलाई किन डाहा लागेको होला ?
अर्काकी श्रीमती देखेर मलाई त डाहा लाग्दैन् । मलाई त कसैको विवाह भएको देख्दा खुच्चिङ भन्न मन लाग्छ– विचरो फस्यो भनेर ।
साला एक मच्छड आदमीको हिजडा बना देता है किन भनिएको होला ?
नाना पाटेकरले आफ्नो सालालाई भनेका हुन सक्छन् । सालालाई मच्चडले हिजडा बनाउँछ, झुल हालेर सुत्नुपर्छ भनेका होलान् ।
सालीहरू भिनाजुको जुत्ता किन लुकाउँछन् ?
भिनाजु अब तपाईंले जुत्ता लगाउने दिन सकिए, आजदेखि खाली खुट्टा दौड्नुहोस् भनेका हुन् कि ?