साप्ताहिक संवाददाता
अहिलेका चर्चित अभिनेता हुन्— प्रदीप खड्का । चलचित्र स्केपबाट सिने क्षेत्रमा पाइला चालेका खड्का अहिले डिमान्डेड अभिनेताका रूपमा चिनिन्छन् । उनका लागि निर्माताहरू महँगो पारिश्रमिक दिन पनि तँछाडमछाड गर्छन् । यतिबेला उनी चलचित्र लभ स्टेसनमा व्यस्त छन् । उनको यो चलचित्र चैत्र २२ गते प्रदर्शनमा आउने तयारीमा छ । नेपाली चलचित्रमा व्यस्त यी अभिनेतालाई प्रेम प्रस्तावको ओइरो नै लाग्छ । यद्यपि उनी भने प्रेममा विश्वास नलाग्ने बताउँछन् । विवाहका लागि पनि उनलाई धेरै युवतीले प्रस्ताव गरेका छन्, तर आफूले बुहारी खोज्न बुबा–ममीलाई जिम्मा लगाएको खड्का बताउँछन् । प्रदीप भन्छन्, ‘विवाह गर्छु भन्ने धेरै छन्, तर म अहिले करियरमै फोकस भएकाले विवाह गर्ने सोंच त छैन, तैपनि बुबाआमालाई बुहारी खोज्ने स्वीकृति भने दिएको छु ।’
भनिन्छ, लगन जुरेपछि विवाहका लागि कसैले पनि छेक्न सक्दैन, तर प्रदीपले भने ५ वर्षयता विवाह नगर्ने सोच बनाएका छन् । तैपनि सबै कुरा मिल्यो भने त्यसभन्दा अघि पनि विवाह हुन सक्ने खड्का बताउँछन् । तत्काल विवाह नगर्ने सोच भए पनि यी चकलेटी अभिनेताले आफ्नी जीवनसाथी कस्ती हुन् भन्ने चाहेका छन् त ? आफ्नी ड्रिम गर्लका सम्बन्धमा खड्काले साप्ताहिकका महेश तिमल्सिनासँग मनको कुरा खोले ।
घर परिवारलाई बुझ्ने
पहिलो त विवाह नै गर्ने भएपछि परिवारलाई बुझ्ने खालकी हुनुपर्छ । यदि परिवारलाई राम्रोसँग नबुझ्ने श्रीमती भइन् भने घर चलाउन एकदमै गाह्रो हुन्छ ।
मेरो कामलाई बुझ्ने
म चलचित्रमा करियर बनाइरहेको छु । जसले गर्दा सधैं घरपरिवारलाई समय दिन नभ्याउन सक्छु । त्यसैले मेरो कर्मलाई पनि राम्रोसँग बुझ्ने हुनुपर्छ ।
भेजिटेरियन भैदिए राम्रो
म भेजिटेरियन हुँ, त्यसैले मेरी श्रीमती पनि भेजिटेरियन नै हुनुपर्छ भन्ने छैन, तर सकेसम्म दुवै जना भेजिटेरियन हुन पाए राम्रो हुन्थ्यो ।
साधारण तरिकाले जीवनयापन गर्न सक्ने
मलाई धेरै फेन्सी भएको मन पर्दैन, साधारण तरिकाले जीवनयापन गर्ने युवती नै मन पर्छन् ।
अनुहारको रंग र वर्णसँग सरोकार छैन मलाई अनुहारको रंग र वर्णसँग कुनै सरोकार छैन, मात्र मन राम्रो भए पुग्छ ।
आत्मनिर्भर हुनुपर्यो
कतिपय महिला श्रीमान्मै निर्भर हुन्छन्, तर त्यस्तो नहोस् । आफू पनि केही गर्न सक्छु भन्ने अनि आत्मनिर्भर हुन् ।
केटाकेटीपन नहोस्
म उमेरको खासै ख्याल गर्दिनँ । यद्यपि आफूसँग मिल्दोजुल्दो उमेर भने हुनैपर्छ । अर्को कुरा, मेरी हुनेवाली श्रीमतीमा केटाकेटीपन नहोस् भन्ने कामना गर्छु ।
परिस्थिति बुझ्न सक्ने
कतिपय युवती परिस्थिति नबुझी ओभर रियाक्ट गर्ने खालका हुन्छन् । मेरी हुनेवाली श्रीमती परिस्थिति बुझ्न सक्ने हुन् ।
फेसन कन्सस
फेसनको कुरा गर्दा साडी र कुर्ता नै लगाउनुपर्छ भन्ने त छैन अथवा तडकभडक नै चाहिँदैन पनि भनेको होइन, परिस्थितिअनुसार फेसनलाई बुझ्न सक्ने हुन् भन्ने चाहना छ ।
पढाइमा मास्टर
मलाई अध्ययनमा अब्बल युवती मन पर्छिन् । त्यसैले कुनै विषयमा मास्टरसम्मको अध्ययन पूरा गरेको भए राम्रो ।
बिजनेस गर्न सक्ने
म कलाकारितामा छु । फिल्मभित्रकै भइन् भने उनलाई मलाई बुझ्न सजिलो हुन्छ । यद्यपि दुवैजना फिल्म क्षेत्रमै हुँदा घरपरिवारमा समस्या हुन्छ कि भन्ने पनि लाग्छ । म बिजनेसको विद्यार्थी हुँ । त्यसैले बिजनेस गर्न सक्ने भइन् भने दुवै जना मिलेर केही राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्छ ।