कुनै बेला बलिउडकी नम्बर एक पाश्र्व गायिका अनुराधा पौडवाल यतिबेला भजन गायिकाका रूपमा लोकप्रिय छिन् । वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको संगीतमा झन्डै आधा दर्जन नेपाली चलचित्रका लोकप्रिय गीतमा स्वर भरिसकेकी गायिका पौडवाल गत शुक्रबार राति काठमाडौं अवतरण गरिन् । संगीतकार बासकोटाकै पहलमा प्रशंसा संरक्षक समूहले शनिबार साँझ आयोजना गरेको ‘अनुराधा पौडवाल भजन सन्ध्या’ मा प्रस्तुति दिन उनी काठमाडौं आएकी थिइन् । कार्यक्रममा अनुराधासहित उनका गायक तथा गायिका छोरा–छोरी आदित्य तथा कविताले समेत प्रस्तुति दिएका थिए । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा सहभागिता जनाउने क्रममा साप्ताहिकका कृष्ण भट्टराईसँग कुराकानी गर्दै गायिका पौडवालले सांगीतिक कार्यक्रमका क्रममा नेपाल आइरहने कुरा बताइन् ।
यस पटकको नेपाल भ्रमण कस्तो रह्यो ?
छोटो तर मीठो । म छोरा–छोरीसँगै काठमाडौं ओर्लिएकी थिएँ । तीजको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भजन प्रस्तुत गरेको भोलिपल्टै हामी मुम्बई फर्कंदै छौं ।
यसअघि पनि नेपाल आउनुभएको थियो ?
म वर्षमा कम्तीमा एकपटक नेपाल आइरहेकी हुन्छु । अघिल्लो वर्ष पनि संगीतकार शम्भुजित बासकोटाको निमन्त्रणामा सांगीतिक कार्यक्रममै सहभागिता जनाउन काठमाडौं आएकी थिएँ । यसपटक पनि मलाई उहाँले नै निम्त्याउनुभएको हो ।
शनिबार साँझको भजन सन्ध्या कस्तो रह्यो ?
अत्यन्त सफल भयो । म लगायत मेरा छोरा र छोरीले करिब डेढ घण्टा राम्रा–राम्रा भजन गायौं । नेपाली दर्शकहरू बडो भलाद्मी हुनुहुन्छ, उहाँहरूले धैर्यतापूर्वक हाम्रो प्रस्तुति सुनेर हामीलाई उत्साहित बनाइरहनुभयो ।
कार्यक्रममा कस्ता गीत प्रस्तुत गर्नुभयो ?
मैले आफ्ना लोकप्रिय भजनहरू प्रस्तुत गरें । हिन्दूहरूको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा कार्यक्रमको आयोजना भएकाले शिवस्तुति पनि सुनाएँ । त्यसबाहेक मैले दर्शकहरूले अत्यन्तै रुचाएका केही फिल्मी गीत पनि गाएँ । दिल है कि मानता नहीँ, जिए तो जिए कैसे, नजर के साम ने जिगर के पास, धिरे धिरे से मेरे जिन्दगी में आनाजस्ता गीत मैले जहाँ पुगे पनि गाउनैपर्छ । त्यसबाहेक नेपाली चलचित्र युगदेखि युगसम्मको ‘तीन पाते डाँडा काटेर...’ पनि गाएँ ।
भजन सन्ध्याको थालनी कसरी गर्नुभयो ?
म प्राय: आफ्नो गायन कार्यक्रमको थालनी गायत्री मन्त्र ‘ओम भुर भुवस्वह...’ बाट गर्छु । काठमाडौंको कार्यक्रममा पनि त्यसै गरें । त्यसपछि मैले शिव भजनसहित मन मेरा मन्दिर, तुने मुझे बुलाया, ओ पालन हार, राधे राधे जपो, यशोमती मइयाँजस्ता लोकप्रिय भजन प्रस्तुत गरें, जसलाई दर्शकहरूले ध्यान दिएर सुन्नुभयो ।
काठमाडौंमा पशुपतिनाथको चरणमा भगवान शिवको भजन प्रस्तुत गर्न पाउँदा कस्तो महसुस गर्नुुभयो ?
पशुपतिनाथको चरणमा आएर शिव भजन गाउँदा मलाई असाध्यै खुसी लागेको छ । पशुपतिनाथकै कारण म पटक–पटक नेपाल आइरहन पाउँछु । यसले पनि मलाई असाध्यै खुसी दिन्छ ।
नेपालसँग तपाईंको सम्बन्ध कति पुरानो हो ?
नेपालसँग मेरो निकै पुरानो नाता छ । सन् १९९० मा जब मैले पहिलो आध्यात्मिक एल्बम ‘शप्तसती’ तयार पारेकी थिएँ, त्यसको सार्वजनिक समारोहमा शंकराचार्यसहित विश्वभरिबाट गुरुहरू आउनुभएको थियो । नेपालबाट पनि थुप्रै जना आउनुभएको थियो । त्यसभन्दा अघि नै मैले नेपाली गीत गाएर नेपालसँग नाता जोडिसकेकी थिएँ । म अहिले आध्यात्मिक गीत मात्र गाइरहेकी छु, भगवान् पशुपतिनाथ यहीं हुनुहुन्छ । त्यसकारण पनि मेरो नेपालसँगको नाता अटुट छ । अर्को शब्दमा भन्नुपर्दा नेपालसँग मेरो लगाव छ, नेपाल मेरो मुटुको नजिक छ ।
संगीतकार शम्भुजित बासकोटासँगको चिनजान कति पुरानो हो ?
हाम्रो चिनजान भएको धेरै वर्ष भैसक्यो । उहाँको संगीतमा मैले करिब ३१ वर्षअघि नै नेपाली चलचित्र ‘युगदेखि युगसम्म’ का लागि दुईवटा गीत गाएकी थिएँ । उक्त चलचित्रका ‘तीनपाते डाँडा काटेर’ तथा ‘आँधीले रोक्न सक्दैन’ गीत लोकप्रिय पनि भएका थिए ।
बासकोटासँगको सम्बन्धचाहिं कस्तो छ ?
हामी एउटै परिवारका सदस्य झैं छौं । मेरा श्रीमान् अरुण पौडवाल (संगीतकार) सँग पनि उहाँको राम्रो मित्रता छ । उहाँकै कारण म नेपाली सांगीतिक क्षेत्रसँग जोडिन सफल भएकी थिएँ ।
अचेल तपाईं नेपाली गीतमा सुनिनुहुन्न नि ?
अहिले उहाँ (शम्भुजित बासकोटा) हरू गीत लिएर मुम्बई आउनुहुन्न । आउनुभए पक्कै गाउँथें होला । यद्यपि निकट भविष्यमै म नेपाली गीतमा सुनिनेछु । अब नेपाली भाषाको भजन गाउने योजना छ ।
कुनै बेला बलिउडकी नम्बर एक पाश्र्व गायिका हुनुहुन्थ्यो, अचेल हिन्दी चलचित्रमा तपाईंलाई सुनिंदैन नि ?
यो समय–समयको कुरा हो । बलिउड चलचित्र उद्योग शाश्वत सत्य होइन । त्यहाँको मौसम परिवर्तनशील छ । उदाहरणका लागि आज एक जना अभिनेता अथवा अभिनेत्री चलिरहेका हुन्छन्, भोलि उनीहरूलाई अर्कैले रिप्लेस गरिसकेका हुन्छन् । भन्नुको अर्थ बलिउड भनेको अनिश्चिताले भरिएको क्षेत्र हो । मैले रोजेको क्षेत्र भनेको आध्यात्मिक क्षेत्र हो । म भगवान्सँग जोडिएर गीत गाउन चाहन्छु, जहाँ मलाई शान्ति मिल्छ, आनन्द मिल्छ । यिनै कारणले मैले बलिउडका चलचित्रका लागि गाउन छाडेकी हुँ ।
बलिउडका चलचित्रकै कारण तपाईंले पद्मश्रीदेखि फिल्मफेयर एवार्ड सम्म जित्नुभएको थियो, त्यही उद्योगप्रति वितृष्णा किन ?
ती पुरस्कारहरू भनेको मैले पाएको सम्मान हो, मेरो पहिचान हो । त्यो मैले पाइसकें । मलाई एक दिन बलिउडको उचाइमा पुगेर नम्बर एक पाश्र्व गायिका बन्नु थियो, त्यो म बनें । त्यो उदेश्य पूरा भएपछि म वास्तविकतामा फर्किएकी हुँ ।
भन्नाले तपाईंलाई बलिउडको जीवनशैली, सेलिब्रेटी जीवन मन पर्दैन ?
मैले त्यस्तो पनि भन्न खोजेकी होइन, यद्यपि मलाई मेरै आध्यात्मिक संगीतको जीवन प्यारो छ ।
अधिकांश दर्शक त तपाईंका फिल्मी गीतकै प्रशंसक छन् नि ?
मलाई त्यस्तो लाग्दैन । श्रोताहरू बिहान ६ बजे उठ्नेबित्तिकै आशिकी फिल्मको ‘सासों कि जरुरत है जैसी...’ सुन्न मन पराउँछन् जस्तो लाग्दैन, न त उनीहरू एकाबिहानै चलचित्र बेटाको धक धक करने लगा...नै सुन्न रुचाउलान् । त्यसको ठीक विपरीत उनीहरू बिहान उठेर मेरा भजन नै सुन्न रुचाउँछन् । त्यही नै मेरो उपलब्धि पनि हो ।
पुन: बलिउड चलचित्रका गीत गाउने सम्भावना कत्तिको छ ?
मलाई एकपटक बलिउडको उचाइ छुनु थियो, त्यो छोएँ । अब मैले पटक–पटक आफूलाई प्रमाणित गर्न पुन: उचाइ छोइरहनुपर्छ जस्तो लाग्दैन । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा एक पटक पुगे पुग्छ, तपाईं हरेक वर्ष सगरमाथाको चुचुरोमा पुग्ने कल्पनासमेत गर्न सक्नुहुन्न । मेरो बलिउडको पुनरागमनको कुरा पनि त्यस्तै हो ।
आफूले गाएका भजनका प्रशंसक कत्तिको भेट्नुहुन्छ ?
म अहिले जहाँ–जहाँ पुग्छु, अधिकांशले मेरा भजन सुनेरै दिनको थालनी गर्ने कुरा बताउँछन् । ती भजन सुनेर आध्यात्मिक रूपमा शान्ति मिलेको बताउँछन् । मेरा लागि योभन्दा ठूलो कुरा केही छैन ।
अहिलेको बलिउडको सांगीतिक ट्रेन्ड तपाईंलाई कस्तो लाग्छ ?
ठीकै छ । अहिले कलाकारहरूको एक्सप्रेसनको शैलीअनुसार गीत बनिरहेका छन् । अहिलेको पुस्ताले मन पराउने शैलीका गीत बनिरहेका छन् ।
भारतमा रियालिटी शोको बाढी आएको छ, ती शोहरूलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
त्यसलाई पनि मैले सकारात्मक रूपले लिएकी छु । आज कसैले पनि अर्थात् कुनै पनि प्रतिभाले गीत गाउने मौका पाइन भन्न पाएको छैन । प्रविधिले पनि गायक अथवा गायिका बन्न सजिलो बनाइदिएको छ ।
नेपाली संगीतको चाहिं कसरी मूल्यांकन गर्नुहुन्छ ?
नेपाली गीत–संगीत निकै मेलोडियस हुन्छन् । नेपालमा बन्ने करिब ९० प्रतिशत गीत मेलोडियस नै छन् । त्यसैले मलाई नेपाली गीत–संगीत मन पर्छ ।