परम्परागत कलामा आफ्नो छुटै पहिचान बनाएर अघि बढी रहेका कलाकार हुन्– समुन्द्रमानसिंह श्रेष्ठ । सानैदेखि परम्परागत कलामा आकर्षित भै लागिपरेका समुन्द्रले केही समयदेखि कन्टेम्परी आर्टलाई पनि सँगै लगिरहेका छन् । ४ पटक राष्ट्रिय कला पुरस्कार तथा ३ वटा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका समुन्द्रले २०१९ को अरनिको युवा पुरस्कारसमेत प्राप्त गरेका छन् ।
सानैमा परम्परागत चित्रकलामा लाग्नुको कारण के होला ?
म सानैदेखि कमिक्सका पात्रहरूको चित्र कोरिरहन्थें । माइला बुबा विकासानन्द पनि घरमा थान्का बनाउनुहुन्थ्यो । उहाँले साथी कलाकार दीपककुमार जोशीलाई चिनाई मेरा लागि कक्षाको व्यवस्था गरिदिनुभयो । त्यसपछि कलाकार प्रेममान चित्रकारसँग सिक्न पुगें । जहाँ मैले मेरो बालसुलभ कमिक्स पात्रलाई छोडेर उहाँको जस्तै परम्परागत कलामा कुचि चलाउँदै गएँ ।
त्यति बेला पेन्टिङका अरू विधामा कत्तिको रुचि थियो ?
त्यो समयमा मेरो शिरमा चित्र सिक्ने भूत थियो । प्रेममान सरसँग चित्र सिक्दा सिक्दै अनायासै परम्परागततिर मोडिएँ । पौभा कोर्न थालेपछि अरू चित्रतर्फ हातै गएन । म यसैमा रमाएँ ।
यसमा दाम बढी पाइने भएर हो कि ?
म आफ्नो कलालाई पैसासँग तुलना गर्ने चाहन्नँ । जति मेहनत गरेर एउटा चित्र तयार हुन्छ, त्यो अनुपातमा त्यसको मूल्यलाई बढी भन्न मिल्दैन । मुख्यत: यस्ता कलामा मेरो रुचि बस्यो ।
तपाईंको सिर्जना कुन–कुन देशका कला संग्रहालयमा छन् ?
जर्मनी, चाइना, युके, अमेरिका, जापान, इन्डिया आदि देशमा छन् । आर्ट कलेक्टरहरूको हकमा त मुस्लिम देशहरू वाहेक प्राय: सबै देशमा मेरा कलेक्सन पुगेका छन् ।
तपाईंलाई त स्टाइलिस्ट कलाकारका रूपमा पनि चिनिन्छ नि ?
खोइ, हो र ? सम्भवत: यो विधामा युवापुस्ताको कमी भएर त्यसो भनिएको हो कि ? कलाकार हुँदैमा स्मार्ट देखिन नहुने भन्ने छैन । म उमेरअनुसारको गेटअपमा हिडेको मात्र हुँ, स्टाइलिस्ट नै त नभनौं ।
तपाईंका प्रशंसक कस्ता छन् ?
सबैजसो पुस्ताले मेरा चित्र मन पराएको पाएको छु । टिनएजरदेखि वृद्धवृद्धाहरूसम्म मेरो कलाका प्रशंसक छन् ।
तपाईंको चित्रको मूल्य कस्तो छ ?
म मेहनतका आधारमा मूल्य तोक्छु । अचेल विदेशी आर्ट कलेक्टरहरूले दिने मूल्य नेपाली कलेक्टरहरूबाट पनि पाउन थालेकी छु ।
नेपालमा बढी कसले तपाईंका चित्र किनेका छन् ?
नामै तोकेर भन्नुपर्दा पृथ्वीबहादुर पाण्डे, वीरेन्द्र शाही तथा बोधीसत्व ग्यालरी ।
पहिलो राष्ट्रिय पुरस्कार पाउँदाको अनुभव कस्तो रह्यो ?
मैले २२ वर्षको उमेरमा २०५३ सालमा राष्ट्रिय पुरस्कार पाएँ । हरहर बाहण लोकेश्वर चित्रबापत मैले उक्त पुरस्कार प्राप्त गरेको थिएँ, जसबाट म आर्ट कलेक्टरहरूमाझ परिचित भएँ । त्यो चित्र मैले त्यति बेला ११ हजार रुपैयाँमा बिक्री गरेको थिएँ ।
तपाईंका चित्रको कपी गर्नेहरू पनि उत्तिकै छन्, कलामा कपीराइट लाग्दैन ?
कपी गरेर कोही पनि राम्रो कलाकार बन्न सक्दैन । अहिले पेन्टिङका लागि धेरै राम्रो समय छ । प्रतिभावान् कलाकारहरू पनि आइरहेका छन् । सिक्नका लागि कपी गर्नु ठीक छ तर हुबहु नक्कल उतारेर बेच्नु गलत हो । यद्यपि जति नै कपी गरे पनि ओरजीनललाई बुझ्नेहरूले त्यस्ता कपी देख्नासाथ चिनिहाल्छन् । सुन र पित्तलमा फरक त हुन्छ नै । यसमा कपीराइट्स नलाग्ने कुरा त होइन, तर विभिन्न कारणले अहिलेसम्म म यस विषयमा मौन नै छु ।
अहिले आएर परम्परागतका साथमा कन्टेम्परी कलाकारका रूपमा पनि चिनिन थाल्नुभएको छ नि ?
मैले परम्परागत आधार लिई अहिलेको समसामयिक घटना र परिवेश देखाउन खोजेको हुँ । यसबाट पनि मलाई सन्तुष्टि मिलेको छ ।
अरू कलाकारको जस्तो तपाईंको त्यति कला प्रदर्शनी नहुनुको कारण ?
आफूसँग चित्रको कलेक्सन नभएर । केही वर्षअघि डिना वाङ्देलको सक्रियतामा विदेशबाट र बोधीसत्व ग्यालरीसँग भएका कलेक्सनहरू मगाएर प्रदर्शन गरें । बनाएका चित्रहरू स्टकमा नभएका कारण चाहेर पनि कला प्रदर्शनी गर्न सकिरहेको छैन ।