साप्ताहिक संवाददाता
साहित्यकार झमककुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेर चलचित्र ‘जीवन काँडा कि फूल’ निर्माण गरिएको छ । कात्तिक २२ गते प्रदर्शनमा आउने यो चलचित्रमा विनोद विष्टको निर्माण तथा निर्देशन छ । चलचित्र निर्देशक बिष्टसँग साप्ताहिककर्मीले गरेको कुराकानीको सम्पादित अंश :
कृतिमाथि चलचित्र बनाउने सोच कसरी आयो ?
झमकजीको पुस्तक पढेपछि उहाँको संघर्षको कथाले मलाई छोयो । हाम्रो संघर्ष र झमकजीको संघर्ष फरक छ । हामी आफ्नो हात, गोडाको बलबुतामा काम गरिरहेका छौं, तर झमकजी न त हिँड्नै सक्नुहुन्छ, न त हामीले लेखे जसरी लेख्न सक्नुहुन्छ । उहाँको संघर्ष कथा प्रशंसनीय छ । उहाँमार्फत उहाँजस्तै अरूलाई पनि प्रेरणा प्रदान गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको हो ।
जीवन काँडा कि फूल नै किन रोज्नुभयो ?
यो कृति आफैमा एउटा विशिष्ट कृति हो । धनकुटाको गाउँकी एउटी केटीले घरको आँगनमा बसेर धूलो, माटोमा लेखेर अहिले डक्टरेटको उपाधि पाइसकेकी छिन् । आफ्नै बलबुतामा शिक्षा लिएर यो उपलब्धि हासिल गर्नु चानचुने कुरा होइन ।
झमकको अनुमति लिन गाह्रो भयो होला नि ?
हो, यो चलचित्र बनाउने अनुमति लिन निकै समय लाग्यो । किनभने यो पुस्तकमा चलचित्र बन्छ कि बन्दैन भन्नेमा झमकजी आफैंमा अन्यौलता थियो । मैले पुस्तकमा रहेका सबै कुरा समेटेर चलचित्र बनाउँछु भनेर फाइनल गर्न झन्डै ८ महिना लाग्यो । चलचित्रको स्क्रिप्ट लेख्ने क्रममा उहाँले धेरै पटक त्यसमा करेक्सन गर्नुभयो ।
बायोपिक चलचित्र बनाउनु कत्तिको चुनौतीपूर्ण हुँदो रहेछ ?
बलिउडमा यस्तो चलचित्रको निर्माण चुनौती मानिँदैन, तर हामीकहाँ भने चुनौती छ, किनभने स्क्रिप्ट फाइनल भएपछि कथालाई न्याय दिनसक्ने कलाकारको आवश्यकता थियो । मलाई स्क्रिप्टमा भन्दा पनि कलाकार छनौट चुनौतीपूर्ण लाग्यो । कुनै सामान्य मानिसको संघर्षको कथा भए नाम चलेको सेलिब्रेटी लिन सकिन्थ्यो, तर कथा फरक भएकाले त्यसैअनुरूप कलाकार खोज्यौं ।
पात्रको छनौट कसरी गर्नुभयो ?
यो चलचित्रमा झमकको १३ वर्षसम्मको संघर्ष र ठूलो भएपछिको संघर्ष प्रस्तुत गरिएको छ । उपयुक्त पात्र छनौटका लागि अडिसन गरियो । बाल्यकालकी झमकको चरित्रमा सिलिगुडीकी अवस्था थापालाई छान्यौं । हामीलाई अभिनय गर्ने भन्दा पनि फ्लेक्जिबल शरीर भएको व्यक्ति चाहिएको थियो । जो खुट्टाले लेख्ने, घस्रेर हिँड्न सक्ने होस् । अवस्था राम्रो नाच्न सक्ने भएकाले पनि उनमा बाल्यकालकी झमकको गुण पायौं । वयष्क झमकको भूमिकाचाहिँ काठमाडौं थिएटर भिलेजकी रोजिता बुद्धाचार्यले निर्वाह गरेकी छिन् ।
यो कृतिका धेरै पाठक छन् । उनीहरूले पुस्तकको सन्तुष्टि चलचित्रबाट पाउलान् ?
म कृति बाहिर गएको छैन । कृति भित्र रहेका धेरैभन्दा धेरै कुरालाई समेट्ने प्रयास गरेको छु । मेरा साथीहरूले यो बायोपिकलाई व्यवसायिक बनाउनु भनेर सुझाव नदिएका होइनन् । मलाई झमकले सम्झिएको भन्दै लोकगीत हाल्न पनि सुझाव दिइएको थियो, तर मैले यसमा त्यस्तो गीत हाल्न सकिनँ किनभने झमकजीले कहिल्यै गीत सम्झिएको कुरा पुस्तकमा उल्लेख गर्नुभएको छैन ।