साप्ताहिक संवाददाता
दार्जीलिङ–सिलिगुडीमा बच्चादेखि वृद्धावस्थासम्मका दर्शक हाम्रो चलचित्र हेर्न आउनुभएको थियो । उहाँहरू फ्रेस नेपाली चलचित्र हेर्न चाहनुहुँदो रहेछ । त्यहाँ चलचित्र हेरिसकेपछि ताली बजाउने चलन रहेछ ।
नेपालमा बलिउड तथा हलिउडका चलचित्र सातैपिच्छेजसो प्रदर्शन भैरहन्छन् । ती चलचित्रलाई नेपालमा प्रदर्शनका लागि यहाँका वितरकहरूले अधिकार लिएका हुन्छन् । ती चलचित्रलाई नेपालमा प्रदर्शन गराउन चलचित्रका निर्माता, निर्देशक वा कलाकार नेपाली नै हुन आवश्यक छैन । मैले चलचित्रको छायांकनका लागि केही देश जाने मौका समेत पाएको थिएँ । यद्यपि यसपटकको भारत यात्रा मेरा लागि फरक भयो ।
आफू अभिनित चलचित्र ‘लभ यू हमेसा’ को प्रमोसन तथा रिलिजका लागि पहिलो पटक म, चलचित्रकी दुई अभिनेत्री ऋचा थापा, फिजा योन्जन तथा छायाँकार शिव ढकाल नेपाल बाहिर गएका थियौं । चलचित्रका निर्माता तथा निर्देशक भारतकै भएकाले नेपाल रिलिजअघि नै यो चलचित्रको माग भारतको दार्जीलिङ, सिलिगुडी, कालिम्पोङबाट भैसकेको थियो । हामीले कोलकातामा चलचित्रको सेन्सर गराएर दार्जीलिङ तथा सिलिगुडीका दर्शकलाई देखाइसकेका छौं भने आगामी शुक्रबार कालिम्पोङमा रिलिज गर्दैछौं ।
नेपालमा चाडबाडको माहौलले गर्दा निकै तनावपूर्ण अवस्थामा काम गर्नुपर्यो । यता चलचित्र सेन्सर नगरी कोलकातामै चलचित्र सेन्सर गर्यौं । नेपाली भाषा बुझ्ने तीन जना मानिस तथा सेन्सर बोर्डका सदस्यहरूले चलचित्र हेर्नुभयो । नेपालमा चलचित्र सेन्सर गर्दा चलचित्रका निर्माता एवं निर्देशक पनि हलमा बस्ने चलन छ, तर भारतमा भने त्यस्तो नियम रहेनछ । चलचित्रभन्दा बाहिरका मानिसले मात्र चलचित्रको सेन्सर हेर्न पाउँदा रहेछन् । चलचित्रको सेन्सर भैसकेपछि सेन्सर हलबाहिर निस्कँदा सेन्सर सदस्यले चलचित्र अत्यन्त राम्रो बनेको प्रतिक्रिया दिनुभयो । हामीले फोनमै कुराकानी गरेर सेन्सरको समय मिलाएका थियौं । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पायौं ।
चलचित्र सेन्सरपछि दर्शकहरूबाट पनि राम्रो चलचित्र बनाएको प्रतिक्रिया पाइयो । दार्जीलिङ–सिलिगुडीमा बच्चादेखि वृद्धावस्थासम्मका दर्शक हाम्रो चलचित्र हेर्न आउनुभएको थियो । उहाँहरू फ्रेस नेपाली चलचित्र हेर्न चाहनुहुँदो रहेछ । त्यहाँ चलचित्र हेरिसकेपछि ताली बजाउने चलन रहेछ । चलचित्र हेरेपछि दर्शकबाट यसको सिरिजको माग भयो । उहाँहरूले जहाँ कथा सकिएको छ, त्यहीबाट नयाँ कथा सुरु हुनुपर्ने सल्लाह दिनुभएको छ । दर्शकको मागका विषयमा निर्माता, निर्देशक तथा कलाकारहरू बसेर सरसल्लाह गरिरहेका छौं । मलाई लाग्छ, चाँडै नै यसको दोस्रो भागको घोषणा हुनेछ ।
भारतमा अहिले पनि चलचित्र लभ यु हमेसा चलिरहेको छ । भारतीय वितरक भयो भने मात्र भारतीय बजारमा नेपाली चलचित्र प्रदर्शन गर्न सजिलो हुँदो रहेछ । त्यसो भयो भने नेपाली चलचित्रको बजार विस्तारमा सहयोग पुग्ने रहेछ । विदेशमा चलचित्र रिलिज झन्झटिलो मानिन्छ, तर मेरो अनुभवमा सबै प्रक्रिया पुर्याएर विदेशमा चलचित्रको सेन्सर तथा प्रदर्शनको वातावरण मिलाइयो भने त्यस्तो झन्झट बेहोर्नु पर्दैन ।