
अंग्रेजी बार मण्डे अर्थात् सोमबारको दिन कराँते खेलको पहिलो दिनकै स्पर्धामा नेपाली कराँतेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ (३५) ले नेपाललाई १३ औं सागमा पुरुष कातामा पहिलो स्वर्ण पदक दिलाए । उनको सफलताले नेपाली खेलकुदको क्षेत्र तरंगीत भएकै अवस्थामा श्रेष्ठले पुन: अर्को सफलता टिम कातामा पनि दिलाएँ । एउटै सागमा नेपाली खेलाडीले दोहोरो स्वर्णको सफलताको स्वाद पहिलो पटक चखाउने मण्डेकाजी श्रेष्ठसँग मुकुन्द बोगटीले गरेको कुराकानी ।
तपाईंको फ्यामिलीका सदस्यहरू खेलकुदको क्षेत्रमा त छैनन् । तर, तपाईंले नेपाली खेलकुदको क्षेत्रलाई ठूलै सफलता पो दिलाउनुभयो ?
हाम्रो घर मध्यपुर ठिमीको छेउमै कराँते सिकाउने डोजाङ थियो । त्यो डोजाङमा खेलेको कुराहरू म सानोमा लुकीलुकी हेर्ने र त्यस्तै नक्कल गर्ने गर्थे । एक दिन बुबाले मैले आफैं कराँते खेलिरहेको देखेपछि मलाई १० वर्षकै उमेरमा कराँते खेल्न भर्ना गरिदिनुभयो । कराँतेको हरेक बेल्ट टेस्ट गर्दा म पहिलो हुँदै गए । अनि म कुनै दिन नेपालको झन्डा फहराएर देखाउँछु भन्ने भावना आएपछि ममा खेलाडी बन्छु भन्ने भावना आयो । एसएलसी सकेपछि खेलप्रतिको लगाव अझ बढ्दै गयो ।
कराँते त मारपिटको खेल मानिन्छ ? तपाईंको स्वभावचाहिँ कस्तो छ ?
कराँतेलाई बाहिरबाट हेर्दा मारपिटको खेल मानिए पनि यसभित्र रहेको खेल कलाले मानिसलाई अनुशासित बनाउँछ । म कत्तिको अनुशासित छु भन्ने कुरा अहिले जितेको सफलताले पनि पुष्टि गरेको छ ।
तपाईंलाई कराँतेमा निकै इख भएको खेलाडी मानिन्छ नि ?
कराँते खेलबाटै मैले सानोमै राष्ट्रिय झन्डा फहराउने धोको राखेको थिए । यो धोकोलाई मैले पूरा गर्छु भनेर नेपालमा भएका राष्ट्रिय खेलहरूबाट प्रमाणित गरिसकेको थिएँ । ११ औं साग गेममा म छनोट भएर वैदेशिक प्रशिक्षणमा थिए । मलाई कतिखेर साग होला र पदक जितेर नेपालको झन्डा फहराउला जस्तो भएको थियो । अन्तिम समयमा मैले खेल्ने र अरू साथीहरूले खेल्ने ५ वटा तौल समूहको खेल नहुने भएपछि सागमा स्वर्ण जित्ने मेरो सपना तुहियो । १२ औं सागमा केही होला भन्ने आशा थियो । यो सागमा पनि कराँते नभएपछि म निकै निराश भएको थिए । तर, घरपरिवारले प्रतियोगिता फेरि आउँछ तिमी मेहनत गर्न नछोड भनेपछि १३ औं साग आयो र वर्षौंको सपना पूरा गर्न सकेँ ।
१३ औं सागको पहिलो स्वर्ण पदक जित्दा कस्तो लाग्यो ?
मभन्दा अगाडि कराँतेको एक बहिनीले रजत जितेपछि मलाई स्वर्ण जित्छु भन्ने आत्मविश्वास बढ्दै आयो । उनीपछि मेरो पालो आयो र मैले जिते । स्वर्ण पदक जिते पनि नेपालको तर्फबाट पहिलो स्वर्ण जितेको भन्ने थाहा थिएन । पछि साथीहरूले भनेपछि थाहा पाए । यसले मलाई थप हौसला मिल्यो र अर्को टिम कातामा पनि जित्छु भन्ने भावना आयो नभन्दै एउटै सागमा दोहोरो स्वर्ण पदक पनि जित्न सफल भएँ ।
निराशबाट गुज्रिएर सफलताको शिखर चुम्दा कस्तो लाग्यो ?
यो पदक जित्न खेल्ने मैले भए पनि मलाई यो अवस्थासम्म आइपुग्न धेरैले मेहनत गर्नुभएको छ । जस्तो बुबाले सायद मलाई कराँतेमा भर्ना नगरिदिएको भए म खेलाडी बन्ने थिइन । मलाई कराँतेको पहिलो स्टेप ठिमी डोजोमा सिकाउने सजग श्रेष्ठ, सागको तयारीमा मलाई प्रशिक्षण गराउने गंगाराम महर्जन, राष्ट्रिय टिमका प्रशिक्षकहरूको मेहनत, नेपाल प्रहरीको टिम नभएको भए म केही हुने थिइन । मेरो जीवनको सफलतामा उहाँहरूको नाम सम्मानित रूपमा रहनेछ । मेरो खेल करिअरलाई पछिल्लो पटक हौसला दिनेमा मेरी श्रीमती पनि छिन् । हामीबाट जन्मिएकी छोरीको आगमन भएपछि मेरो जीवनको सफलता तीव्र रूपमा अगाडि बढिरहेको कारण मेरी छोरीले मेरो भाग्यलाई अझ बढाएको जस्तो लागिरहेको छ । त्यसैले मैले मेरो सफलताको श्रेय उनीहरूलाई नै दिनेगर्छु ।
के–के योजना बनाउनुभएको छ ?
मलाई दबाब पर्छ भनेर मेरो खेल हेर्न बुबा आउन सक्नुभएन । श्रीमती र छोरी आएका थिए । टोलका बाल्यकालदेखिका साथीहरू छन् । उनीहरू मेरो सफलताप्रति निकै खुसी छन् । उनीहरूसँग खुसी बाँड्न बाँकी छ । हामी टोले साथीहरू उपत्यकाको विभिन्न ठाउँमा घुम्न जाने खानपिन गर्ने रमाइलो गर्ने गथ्र्यौ । धेरै भयो यो मौका नआएको, अब उनीहरूसँग डाँडाकाँडाका केही ठाउँहरू घुम्न जाने योजनामा छौं ।
नेवारी बस्तीमा हुर्किनुभयो ? खानपिनको निकै सौखिन हुनुहुन्छ होला जस्तो छ नि ?
मेरो बुबाले हामीलाई हुर्काउन मध्यपुर ठिमीमा होटल सञ्चालन गर्नुभएको थियो । नेवारी खाना पाइने यो होटलकै खानेकुरा खाएपछि स्वाद पनि यसकै बस्ने भइहाल्यो । मलाई राँगोको छोएला अतिनै मन पर्छ, जसको कारण हामी डाँडाकाँडा घुम्न जाँदा हाम्रो प्राथमिकतामा खानेकुराहरू नै पर्ने गर्छन् ।
अहिले पाउनुभएको सफलतालाई अब कहाँसम्म लाने सोचमा हुनुहुन्छ ?
यो सफलताले मलाई राष्ट्रप्रति अझ केही गर्ने हौसला मिलेको छ । अब जुन प्रतियोगिता आउँछ त्यसका लागि पनि मैले पदक जित्ने किसिमले तयारी गर्नै पर्ने भएको छ । यसका लागि म तयार पनि हुन्छु ।
तपाईंको विवाह एरेन्ज कि लभ ?
हाम्रो भेट फेसबुकबाट भएको हो ? त्यो भेट लभ हुँदै एरेन्जमा परिणत भयो । उनी पेसाले बैंकर हुन् ।