
विगत ४० वर्षदेखि नेपाली खेलकुद क्षेत्रसँग जोडिएका सुशीलनरसिंह राणा एथलेटिक्सको खेलाडी हुँदै अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत भए । लामो समय नेपालको एथलेटिक्स खेलमा मध्यम र लामो दूरीको दौडको प्रशिक्षण गराउँदै आएका राणा १३ औं सागमा राष्ट्रिय टिम तयारी समितिको प्राविधिक विज्ञ सदस्य पनि हुन् । राणासँग साप्ताहिकका मुकुन्द बोगटीले जम्काभेट भएका बेला गरेको कुराकानी :
समष्टिमा १३ औं साग प्रतियोगिता कस्तो रह्यो ?
१३ औं साग आयोजनामा जुन किसिमको अन्यौलता थियो, त्यसका बाबजुत पनि नेपालले आयोजना गर्यो र अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सक्यो । त्यो दृष्टिकोणबाट हेर्ने हो भने यो साग नेपाली खेलकुदको क्षेत्रमा स्वर्ण अक्षरले नै लेख्नुपर्ने प्रतियोगिता भएको छ ।
आयोजनाको पक्षबाट हेर्दा हामी कति कुरामा सफल भयौं र कुन कुरामा असफल भयौं ?
साग प्रतियोगिता आयोजना र खेलाडी तयारी जुन अवस्थाबाट गुज्रिरहेको थियो, त्यो अवस्थालाई राखेपका सदस्य–सचिवको व्यवस्थापकीय खुबीकै कारण सम्पन्न हुन सकेको म मान्छु । उहाँ जुन अन्योलको अवस्थामा आउनुभयो र उहाँले त्यो बेलाको संकट हटाउन सकेकै कारण साग सम्पन्न भएको हो । डेढ महिनाअगाडि बल्ल समिति बन्यो र सबै समितिले पनि सक्रियता देखाए । यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दा केही कुरामा पक्कै पनि त्रुटि र असफलता आउँछ नै । तर, प्रतियोगितामा ठूला त्रुटिभन्दा सफलताको प्रतिशत धेरै माथि भयो ।
खेलकुदको पक्षमा चाहिँ हामी कत्तिको सफल भयौं ?
पदकका हिसाबले यो सागमा नेपालले इतिहास कोरेको छ । यो सफलता हिजोको आजै आएको भने होइन । २०५४ सालमा राष्ट्रिय प्रतियोगिता भएपछि एकैपटक २०६५ मा आएर पाँचौं राष्ट्रिय प्रतियोगिता आयोजना भयो । यो समय नेपाली खेलकुदको क्षेत्र धेरै निराशाको क्षणमा पुगिसकेको थियो । पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउन थालेकाले खेलाडीहरू पनि खेलकुदमा बाँधिन पाए । युवराज लामा राखेपको सदस्य सचिव भएका बेला राष्ट्रिय टिम तयारी समिति भन्ने अवधारणा आयो । राष्ट्रिय टिममा परेका खेलाडीहरूलाई केही सुविधा दिएर नियमित प्रशिक्षणमा समावेश गरियो । यसरी सुविधा पाउने खेलाडीहरूले नियमित प्रशिक्षण, वैदेशिक प्रशिक्षण अनुभव गर्न पाएँ, जसका कारण पनि यो सागमा नेपालले सफलता पाएको हो । अबको चुनौती भनेको यो सफलतालाई कसरी जोगाउने भन्ने पनि छ ।
खेलाडीहरूलाई नियमित प्रशिक्षणको दायरामा ल्याएकै कारण यो सफलता हात परेको हो ?
नतिजा हेर्ने हो भने त्यही देखिन्छ । कुनै पनि खेलाडीले रातारात सफलता पाउनै सक्दैन । सफल आयोजनालाई खेलाडीहरूले पाएको सफलताले सफल बनाउने काम गर्छ । उद्घाटन समारोह र समापन समारोह भव्य गरेर प्रतियोगिता भव्य भयो भन्न मिल्दैन । ती त क्षणिक रूपमा हेर्ने कुरा मात्र हुन् । चर्चा भनेको खेलाडीहरूले पाउने सफलताले नै गर्छ । जस्तो गौरिका सिंहले ४ स्वर्ण जितेको प्रतियोगिता कुन हो भन्दा बल्ल यो सागको सम्झना आउँछ । वैकुण्ठ मानन्धरले रेकर्ड राखेको कुन साग भन्दा तेस्रो साग कलकत्ता भनेर नाम आउँछ । त्यसैले यो साग प्रतियोगिता पनि यो क्षेत्रको खेलकुद प्रतियोगितामा ‘माइल्ड स्टोन’ का रूपमा रहनेछ ।
खेलअनुसार हेर्नुपर्दा १३ औं सागमा हामी कुन खेलमा बढी सफल भयौं ?
सफलताका हिसाबले यही खेलमा हामी सफल भयौं भन्न अलि मिल्दैन । समग्र रूपमा हेर्दा सबै खेलमा हामी सफल नै भएका छौं, जसमा पदक नै आउँदैनथ्यो भन्ने खेलमा पनि पदक जितेका छौं । कुस्तीमा एउटा स्वर्ण नै आयो । अहिले यो राम्रो र ऊ नराम्रो भन्ने अवस्थै आएन । सबै खेलले आफ्नो उच्चतम प्रदर्शन गरे र सबै सफल पनि भए ।
हामीले स्वर्ण पदकको आशा राखेका कतिपय खेल पनि थिए होलान्, जसले निराश पनि गराएको होस् ?
हामीले पदकको आशा नराखेका खेलले पनि पदक जिते यसपटक । हामी बास्केटबलको फाइनलसम्म पुग्यौं । खो–खो खेलमा पदक जित्यौं, ह्यान्डबलमा पदक जित्यांै । त्यसैले अहिले तत्काल नै हामी यसमा सफल भयौं र यसमा असफल भयौं भनेर भन्नै मिल्दैन । यो सफलता र असफल भएको विषयलाई विश्लेषण गरेर अब भविष्यमा कसरी जाने भन्ने कुरा महत्त्वपूर्ण भएको छ ।
१३ औं सागमा पाएको ५१ स्वर्णले हामीलाई गौरव गराएको छ कि चुनौती प्रस्तुत गरेको छ ?
यो सफलताले हामीलाई गर्वभन्दा पनि चुनौती थपेको छ । यसैमा गर्व गरेर बस्यौं भने भविष्य त भएन नि । अब चुनौती थपियो । यो चुनौती भनेको राखेपलाई मात्र होइन, सम्बन्धित खेलका संघहरूलाई पनि हो । अब त सम्बन्धित खेलका संघहरू पनि जागरुक हुनुपर्ने भएको छ ।
आठौं सागमा पाएको सफलतालाई हामीले नवौं सागमा कायम राख्न सकेनौं । के १३ औं सागको सफलतालाई १४ औं सागमा प्रस्तुत गर्न सक्छौं त ?
इस्लामाबाद साग हाम्रो लागि अर्को चुनौती हुनेछ । अहिले पाएको सफलतालाई कायम राख्न पनि हामीले धेरै ठूलो मेहनत गर्नुपर्नेछ । १४ औं साग पाकिस्तानले भारतसँग टक्कर गर्न आयोजना गर्दैछ । पाकिस्तानले आफ्नो खेलकुदको स्तरलाई धेरै माथि लगिरहेको यो सागमा पनि देखियो । हामीले जसरी २६ वटा खेल समावेश गरेर प्रतियोगिता आयोजना गर्यौं, उनीहरूले पनि आफ्नो पहुँचका खेलहरूलाई समावेश गर्ने नै छन् । योबाहेक त्यो उनीहरूको गृहमैदान भएका कारण बढी फाइदा उठाउँछ नै । भारत पनि पाकिस्तानमा गएर हार्ने मनस्थितिमा हुँदैन र ऊ पनि धेरै राम्रा खेलाडीहरू लिएरै जान्छ । यो दुवै राष्ट्रको रणनीति बुझेर पनि हामीले अहिलेको भन्दा बढी तयारीका साथ जानुपर्ने हुन्छ ।
सागमा आयोजक राष्ट्रले आफ्नो सफलताको पहुँच हुने खेल समावेश गर्छन् । पाकिस्तानले पनि यस्तै गर्नेछ । यस्तो अवस्थामा हामीले कसरी सफलता पाउन सक्छौं ?
यसलाई कायम राख्न सक्यौं भने हाम्रो सफलताको दर यत्तिकै हुन्छ । तर यी खेलहरूले कत्तिको स्थान पाउँछन् भन्ने हो । अर्को कुरा, पाकिस्तानले समावेश गर्ने खेलहरूको तयारी हाम्रोमा कत्तिको छ त्यो कुराले पनि निर्धारण गर्छ । रातारात खेलाडी तयार पारेर सहभागिता गर्ने हो भने सफलताको दर त पक्कै घट्ने नै छ ।
हाम्रो जस्तो देशमा खेलेर केही हुँदैन भन्ने सन्देश के कारणले बढी प्रवाह भइरहेको छ त ?
विगतको खेलकुदमा लागेका खेलाडीहरूको अवस्था हेर्ने हो भने अहिले धेरै सुधार भएको छ । सेना, प्रहरी, सशस्त्रहरूले खेलकुदमा रुचि देखाएका कारण अहिले खेलाडीहरूलाई धेरै राम्रो भएको छ । राष्ट्रिय स्तरका खेलाडीहरूले यी ठाउँ फेला पारेका छन् । आम्दानीका हिसाबले हेर्दा खेलेर पैसा कमाउने अवस्था बनेको छैन, तर खेलेर तपाईंले कतै रोजगारी नै पाउनुभयो भने तपाईं सरकारी कर्मचारी त बन्नुहुन्छ नि † हाम्रो जस्तो देशमा खेलेपछि अरू देशका खेलाडीजस्तो धेरै महत्त्वाकांक्षी पनि हुनु हुँदैन । उसको टार्गेट भनेको पैसा कमाएर करोडपति हुने होइन, राम्रो खेल प्रदर्शन गरेर सफल खेलाडी बन्ने हो ।