साप्ताहिक संवाददाता
मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्याङ बनाइरहेका हुन्छन् ।
चलचित्र क्षेत्रमा महिला कलाकारहरूमाथि दुव्र्यवहारको अवस्था कस्तो छ ?
महिलाहरूमाथि शोषण नभएको कुनै क्षेत्र छैन होला । चलचित्र क्षेत्रमा पनि कुनै न कुनै रूपमा महिलाहरू शोषित हुनुभएको होला । तर, राम्रो पृष्ठभूमि बनाएर, फाइटर शैलीमा आउने हो भने तपाईंलाई कसैले केही गर्न सक्दैन । आफैं कमजोर हुनुभयो भने जो–कोहीले शोषण गर्न खोज्छ । त्यस्तो शोषणबाट बच्न आफैं बलियो हुनुपर्यो, शिक्षित हुनुपर्यो ।
क्षमता नभएर पो महिला कलाकारहरू शोषित हुन्छन् भन्न खोज्नुभएको हो ?
क्षमता नभएका महिला मात्र होइन, पुरुष कलाकारहरू पनि शोषित भइरहेको पाएकी छु । क्षमतावान् महिला कलाकारहरूलाई कसैको दबाब, शोषण खेप्नु पर्दैन । शोषण हरेक ठाउँमा छ, तर सबैभन्दा तल्लो लेभलको कुरा मात्र सार्वजनिक हुन्छ । प्रतिष्ठित व्यक्तिहरूको जीवनमा त्यस्ता घटना अझ बढी घटिरहेका होलान्, तर चुप लागिन्छ । गुपचुपमा समाधान गरिन्छ । बाहिर आउने कुरा भनेको त सानो वर्गको मात्र हो ।
चलचित्र क्षेत्रमा मिटूका केही मुद्दा त बाहिरिए नि ?
खै, मैले त्यस्तो सुनेकी छैन । मलाई कसैले आएर ममाथि यौनहिंसा भयो अथवा म मिटूको सिकार भएँ भनेर सुनाएको छैन । फेरि यहाँ पुरुषले मात्र महिलालाई शोषण गरेका छैनन्, महिलाहरूले पनि पुरुषहरूलाई माथि पुग्न भर्याङ बनाइरहेका हुन्छन् । भर्याङ चढेर माथि पुग्नेबित्तिकै त्यो भर्याङलाई नै बिर्सने परिपाटी छ । चित्त बुझेन भने अथवा आफ्नो उद्देश्य पूरा हुनेबित्तिकै महिलाले पुरुषहरूलाई लत्याएका घटना पनि छन् । कति पुरुषहरू त्यसरी टुटेका होलान्, फुटेका होलान् । उनीहरूको वेदनाचाहिँ कसले सुनिदिने ?
चलचित्रमा पुरुष पीडित छन् भन्नुभयो, कसरी ?
हो, मैले त महिला होइन पुरुषमाथि हिंसा भएका सुनेकी छु । महिला कलाकारहरूले पुरुष कलाकारलाई माथि उक्लने भर्याङ बनाएर शोषण गरेको सुनेकी छु । कतिपय पुरुष निर्माता अभिनेत्रीबाट शोषित भएको सुन्न पाइएको छ । विगतमा मैले पुरुषहरूका लागि आवाज उठाएकै हो ।
चलचित्र क्षेत्रमा महिलाहरू पीडित छैनन् त ?
शोषणमा पर्दै परेका छैनन् भन्दिनँ । शोषणमा परेका छन् । त्यसलाई कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । यही क्षेत्रमा करियर बनाउन बाध्य भएर आफ्नो सौन्दर्यलाई प्रयोग गर्नुपर्ने अवस्था पनि छ । वास्तवमा यो गलत हो । यदि तपाईं सौन्दर्यको प्रयोग नगरी आफ्नो क्षमताले चलचित्र क्षेत्रमा टिक्न चाहनुहुन्छ भने आफूलाई सक्षम र सबै प्रकारले योग्य बनाउनुपर्छ । त्यसपछि तपाईंलाई कसैले छुने हिम्मत समेत गर्दैन । चलचित्र पनि समाजकै अंग हो । मैले सबै महिला कलाकारहरू हरेक तरिकाले सुरक्षित छन् नै भन्न खोजेको होइन । तर, उनीहरूमाथि शारीरिक शोषण भइरहेको छ भन्ने कुरा सुनेको भरमा विश्वास गर्ने कुरा पनि आएन । आँखैले देख्नुपर्यो नि । बाहिर चलेजस्तो पनि नहोला । चलचित्र क्षेत्रमा कोही न कोही कुनै न कुनै सम्बन्धमा गाँसिएका हुन्छन् । कसैकी श्रीमती, कसैकी दिदी, कसैकी साली अर्थात् कुनै न कुनै सम्बन्धमा बाँधिएका महिला कलाकारहरू छन् । आउट अफ द बक्स आउने महिला कलाकार कम भएकाले त्यस्तो धेरै समस्या नहोला ।
बलिउडमा मिटू अभियानले ठूलै रूप लियो, नेपालमा किन नउठेको होला ?
बलिउडमा भयो भन्दैमा नेपालमा पनि जबर्जस्ती मिटू अभियान हुनुपर्छ भन्ने कुरा सान्दर्भिक लाग्दैन । कसैको कसैसँग अफेयर थियो होला, कसैको ब्रेकअप भयो होला । ब्रेकअप भएपछि बोलौं न त बोलौं भनेर उकासेर हुने होइन । कसैलाई वास्तवमै त्यस्तो भएको छ भने बाहिर आएर बोल्न सक्नुपर्यो नि ! चलचित्र क्षेत्रका पुरुषहरू त्यति अमानवीय होलान्जस्तो त लाग्दैन । रिस उठेकै भरमा मिटू अभियान लगाइदिउँ न भन्ने कुरा हुँदैन होला नि । म त राजनीतिमा सबैभन्दा बढी मिटू देख्छु । राजनीतिक क्षेत्रमा शारीरिक, मानसिक र अन्य हिसाबले मिटू भइरहेको सुन्छु । नेपालमा मिटू अभियानलाई कडाइका साथ लागू गर्ने हो भने राजनीतिक क्षेत्रबाट त्यसको थालनी गर्नुपर्छ, अनि मात्र यो अभियानले सफलता पाउने छ ।
राजनीतिलाई नै किन आरोपित गर्नुभएको ?
राजनीतिमा लागेका पुरुषहरू र उच्च तहका नेताहरू परिवर्तन हुन जरुरी छ । राजनीतिका महिलाहरूले आफ्नो क्षमतामा विश्वास गर्न अनिवार्य छ । कसैकी श्रीमती, कसैकी छोरी, कसैकी बहिनी, कसैकी साली, कसैकी प्रेमिका भएर सत्तामा आउने क्रम रोकिनुपर्छ । यिनै कारणहरूले गर्दा त्यहाँ केही न केही गडबड देखिन्छ । त्यो त जनताले नै अनुभव गरिसकेका छन् । केही उदाहरण त भर्खरै मात्र पनि देखिएकै हो । नेताका कार्यकर्ताहरूलाई गएर सोध्नुहोस्, उनीहरूका स्वकीय सचिवहरूलाई सोध्नुहोस् । यस विषयमा उनीहरू बोल्छन् कि बोल्दैनन् ? महिला नेतृहरूका पनि पीए होलान्, बोल्छन् कि बोल्दैनन् ? म त भन्छु मिटू जताततै छ । केही अघि एक जना मुख्यमन्त्रीलाई नै मिटूको अभियोग लागेको होइन र ? खै के भयो ? रोशनी काण्डमा के भयो ? नेपालमा यस विषयमा कसैले पनि बोल्दैनन् । किनभने अभ्यास नै छैन । सबैलाई राम्री र चरित्रवान् देखिने भ्रम छ । भित्र खोक्रो भए पनि बाहिर सुन्दर बनेर देखाउनु छ । भ्रममा बाँच्ने र आत्मरतिमा बाँच्ने हाम्रो बानी छ । जबसम्म हामी आत्मरतिमा रमाइरहन्छौं, यो भइरहन्छ ।
रेखा थापा, अभिनेत्री