कमेडी च्याम्पियन बनेपछि के परिवर्तन आयो तपाईंमा ?
पहिले थोरैले चिन्नुहुन्थ्यो । युवालक्षित कमेडीमात्रै गर्थें । कमेडी च्याम्पियनमा सबै उमेर समूहका दर्शकलक्षित कमेडी गरियो । चिन्ने समूह ठूलो भएको छ । सबै उमेर समूहको माया पाएको छु । त्यसैले सबै उमेर समूहलक्षित ‘कन्टेन्ट’ बनाउन मेरो ध्यान गइरहेको छ ।
सबै उमेर समूहका लागि बनाइने कन्टेन्टचाहिँ फरक हो ?
सुरुमा त मलाई फरक हुन्छ जस्तो लागेको थिएन । लागेको थियो– कमेडी भनेको कमेडी नै हो, जस्तो ‘कन्टेन्ट’ भए पनि हँसाउन सकिन्छ । तर, फरक हुँदो रहेछ । जस्तो ‘जोक्स’ले युवाहरू हाँस्नुहुन्थ्यो, त्यसमा अहिले पाका ‘अडियन्स’ हाँस्नुभएन । उहाँहरूलाई ‘सटायर’ मन पर्दो रहेछ । ‘जोक्स’ भन्दा फरक खालको कमेडीमा रमाउने अर्को समूह हुँदो रहेछ । कमेडीमा पनि फरक–फरक स्वाद हुँदो रहेछ र त्यसका आ–आफ्नै ‘अडियन्स’ हुँदा रहेछन् भन्ने कमेडी च्याम्पियनमा आएर थाहा पाएँ ।
कमेडी च्याम्पियनको यात्राचाहिँ कसरी सुरु भयो ?
त्यसअघि म ‘कमेडी सर्कल’मा स्ट्यान्ड–अप कमेडी गर्थें । त्यसमा अभिनय हुँदैनथ्यो । सीमित समूह थियो । त्यहाँ हामी ‘टेलिभिजन रियालिटी शो’बारे पनि सोच्थ्यौं । कमेडीसम्बन्धी ‘रियालिटी शो’ ल्याउँदा कस्तो होला भन्ने छलफल पनि हुन्थ्यो । कतिपयको धारण थियो— कमेडीमा ‘रियालिटी शो’ राम्रो हुँदैन । यसैबीच ‘कमेडी च्याम्पियन’ आयो । मलाई लाग्यो— यो मञ्च ठूलो प्लेटफर्म हो । तर, जाऊँ कि नजाऊँभन्ने दुविधा थियो । साथीहरूको सल्लाहमा गएँ र उपाधिसम्मको यात्रा तय भयो ।
च्याम्पियन बन्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो ?
प्रतिस्पर्धामा सबै उपाधिकै सपना देखेर आउँछन् । झन्डै दुई वर्ष आफैं ‘कन्टेन्ट’ लेख्ने र प्रस्तुत गर्ने अनुभव थियो । त्यसैले अडिसनबाटै आत्मविश्वास थियो । हुन त ‘कमेडी सर्कल’मा मभन्दा बढी परिचित साथी त हुनुहुन्थ्यो, उहाँहरू पनि प्रतिस्पर्धामा सहभागी हुनुहुन्थ्यो । तथापि मेरो ‘आइडिया’मा मलाई विश्वास थियो । साथै निरन्तर मेहनत गरिरहेँ । अहिले लाग्छ, सपना देखियो र त्यसलाई पूरा गर्न मेहनत गरियो भने सफल हुन सकिने रहेछ ।
च्याम्पियन बन्दा कसको सम्झना पहिले आयो ?
त्यतिबेला विशेष अनुभूति भएको थियो । मैले कसैलाई सम्झिन सकिनँ । आमा–बुबा र आफन्त त्यहीँ हुनुहुन्थ्यो । ‘सुट’ सकिएपछि हुटिङ भइरहेको थियो, चारैतिरबाट बोलाइरहनुभएको थियो । झन्डै दुई घन्टा ‘म त खत्रै भएछु’ कि भन्ने अनुभूति पनि भयो । जब रुम फर्किएँ, त्यसपछि सामान्य भएँ । पहिलाजस्तो थिएँ, अहिले पनि उस्तै छु नि भन्ने भयो ।
अहिलेसम्मको जिन्दगीमा मेरो लागि सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो त्यो पल । अरू महत्त्वपूर्ण क्षण निर्माण गर्न थप मेहनत जरुरी छ । भोलि म जहाँ पुगे पनि ‘कमेडी च्याम्पियन’को त्यो मञ्च, हौसला र सिकाइ महत्त्वपूर्ण रहनेछ । कमेडी च्याम्पियनको टिम अनि यति धेरै माया गरेर मलाई खुसी र उचाइ दिने हरेकलाई कहिल्यै भुल्नेछैन ।
यस्तो प्रतियोगितामा क्षमता र भोटको कस्तो सम्बन्ध हुँदो रहेछ ?
क्षमता नै नभए त भोट कसरी आउँथ्यो होला र ? अनि भोटले मात्रै त कसरी जितिएला ? कमेडी च्याम्पियनमा सबैभन्दा बढी अर्थात् तीन पटक ‘पर्फमर अफ द राउन्ड’ भएको थिएँ । फाइनलमा पुगेका सुमन कोइराला दुई पटक तथा खड्गबहादुर ‘खबपु’ पुन: एकपटक ‘पर्फमर अफ द राउन्ड’ हुनुभएको थियो । यसरी हेर्दा सुरुदेखि अन्तिमसम्मको प्रस्तुति हेर्ने हो भने नतिजा स्वाभाविक लाग्छ । त्यसमा भोट एउटा ‘फरम्याट’ हो । यसमा मलाई अडियन्सको माया पनि उत्तिकै प्राप्त भयो ।
तपाईं च्याम्पियन बनेपछि सन्तोष पन्तको नामसमेत जोडेर विरोध भयो । यसलाई कसरी लिनुभयो ?
यो विवाद नभएको भए हुन्थ्यो । थर मिल्दैमा ‘सपोर्ट’ हुन्छ भन्ने धारणा नै गलत हो । सन्तोष पन्तसँग भेट हुने भनेको सुटिङका बेलामा मात्रै हो । त्यो बेला पनि उहाँ आउनुहुन्थ्यो, बस्नुहुन्थ्यो । धेरै बोलचाल हुँदैनथ्यो । प्रस्तुतिमा ‘कमेन्ट’ गर्नुहुन्थ्यो, जानुहुन्थ्यो । त्यसबाहेक हाम्रो अरू कुनै खालको ‘कनेक्सन’ नै हुँदैनथ्यो । त्यसमा पनि एउटा ‘जज’को ‘इन्ट्रेस्ट’ले मात्रै चल्ने भए हरेकको फरक रुचि हुन्छ होला नि †
अन्तिमसम्म साथै रहेका दुई प्रतिस्पर्धीलाई कसरी सम्झिनुहुन्छ ?
उहाँहरूको आफ्नै खालको क्षमता छ । खबपु ‘स्टोरी टेलिङ’मा असाध्यै राम्रो गर्न सक्ने मान्छे हुनुहुन्छ । ‘क्यारेक्टर बेस्ड’ कमेडीमा सुमनको राम्रो सम्भावना छ । मेहनत र निरन्तरता भयो भने उहाँहरूको भविष्य निकै सुन्दर छ जस्तो लाग्छ । उहाँहरू पनि लामो दौडको घोडा हो । त्यतिमात्रै होइन, ‘टप सेभेन’ मा पुग्नुभएका सबै कमेडी च्याम्पियनको उत्तिकै दाबेदार हुनुहुन्थ्यो । उत्तिकै सम्भावना र क्षमता थियो ।
कमेडी च्याम्पियनको यात्रामा केही नमीठो अनुभूति पनि भयो ?
प्रस्तुतिका क्रममा धर्मको सन्दर्भमा ‘कन्ट्रोभर्सी’ बन्यो । त्यसबेला एकदमै धेरै गाली खाएँ । त्यस्ता गाली हेर्दिनँ भन्दा पनि हेर्न मन लाग्थ्यो, जसले दिमाग नै ह्याङजस्तो भयो । दुई एपिसोड म ‘डिस्टब्र्ड’ भएँ । त्यसबेला यस्तो कुरा आउँछ, आत्तिनु हुन्न भनेर धेरैले सम्झाउनुभयो । रवि लामिछाने दाइले पनि फोन गरेर गालीसँग नडराउन भन्नुभयो । उहाँहरूको उत्प्रेरणाले आफूलाई ‘रिकभर’ गरेँ ।
अहिले अलि–अलि अपाच्य वा दोहोरो अर्थ लाग्ने शब्द नबोले कमेडी हुन्न भन्नेजस्तो मानसिकता विकास भएको पाइन्छ, तपाईं पनि त्यसबाट अछूत हुनुहुन्न, यसलाई कसरी हेर्नुहुन्छ ?
युवालक्षित कमेडी गर्दा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गर्थें । कारण— मेरा अडियन्स नै त्यस्तै थिए । त्यस्ता भिडियो युट्युबमा हेर्ने हो भने ९९ प्रतिशत लाइक छ । उहाँहरूले त्यहाँ ‘इन्जोय’ गरिरहनुभएको छ । जब कमेडी च्याम्पियनको सुरुमा आफ्नो सर्कलबाट माथि उठ्न अलि गाह्रो भयो । पछि, यहाँ त सबै वर्गका अडियन्सका लागि कमेडी गर्दैछौं भन्ने सोचेर सुधारेको हो । सुरुवातका ५–७ प्रस्तुतिपछि एउटा पनि त्यस्तो खाले ‘जोक्स’ पाउनु हुन्न । ‘क्लिन कन्टेन्ट’ छ । मैले ‘कन्डम’को ‘जोक्स’ भनेको छु । जसलाई लिएर पनि अपाच्य भन्ने गुनासा सुनिए । त्योचाहिँ मलाई अपाच्य हो भन्ने लाग्दैन । यो हाम्रो स्वास्थ्यसँग जोडिएको कुरा हो र कन्डमको विज्ञापन हामी मज्जाले हेरिरहेका हुन्छौं नि ।
विज्ञान अध्ययनको पृष्ठभूमिबाट कमेडीमा आइपुग्न के–के कुराले उत्प्रेरित गर्यो ?
सबैभन्दा ठूलो त आफ्नै सपनाले उत्प्ररित गरेको हो । म विज्ञानको विद्यार्थी हुनुपहिले नै कमेडियनको सपना बोकेर हिँडेको थिएँ । स्कुलतहबाटै कमेडी गर्थें । एसएलसीमा राम्रो अंक आयो, त्यसपछि विज्ञान संकायमा पढ्न सुरु गरेँ । त्यसले मेरो कमेडी मोहलाई असर गरेन ।
कमेडीका लागि राजनीतिक कन्टेन्ट किन बढी छान्नुहुन्छ ?
मलाई राजनीतिमा धेरै रुचि छ । राजनीतिक विषय अध्ययन गर्छु, खोजी गर्छु । आफ्नो रुचिको विषयमा लेख्दा ‘फिल’ आउँछ । नेताहरूलाई व्यंग्य गर्न आफैंलाई पनि मज्जा लाग्छ । ‘अडियन्स’ले मेरो राजनीतिक व्यंग्यमा आनन्द अनुभव गरेको प्रतिक्रिया दिनुहुन्छ । उहाँहरूलाई आनन्द आउँदा मलाई पनि आनन्द लाग्छ ।
हाँस्न सजिलो कि हँसाउन ?
हाँस्न आफैं सिकिने रहेछ । हँसाउनचाहिँ अनुभव नै चाहिन्छ । काम गर्दै जाँदा सिक्दै गएँ । सिक्ने चरणमा हलिउड, बलिउड सबै क्षेत्रका कमेडी हेरियो । त्यहीँबाट लेख्न र प्रस्तुति दिन सिकेँ । अहिले पनि सिक्दैछु । तथापि मेरो सन्दर्भमा अरूलाई हँसाउन सजिलो हो, मलाई हत्तपत्त कसैले हँसाउन सक्दैन । हलिउड–बलिउडका कमेडीमा चाहिँ मज्जाले हाँसिरहेको हुन्छु । कुनै–कुनै अवस्थामा आफ्नो जोक्स आफैंलाई मन पर्छ । त्यस्तो अवस्थामा दर्शकसँगै म पनि हाँस्छु । नत्र आफ्नो प्रस्तुतिमा दर्शक जसरी हाँसिँदैन ।
कमेडीमा चेतना वा सन्देशको आवश्यकता कत्तिको देख्नुहुन्छ ?
योचाहिँ ‘अडियन्स’मा भर पर्छ । पाको उमेरसमूहका लागि सन्देश चाहिन्छ । युवालाई ९९ प्रतिशत ‘कमेडी’ चाहिन्छ ।
हास्यव्यङ्ग्य र जीवनको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
जीवनमा हामी अनेकन् समय दु:खी भइरहेका हुन्छौँ । एउटै काम ‘मोनोटोनस’ हुन्छौं । यस्तो बेला हामी खुसी खोजिरहेका हुन्छौं । यस्तो बेला हास्यव्यङ्ग्यले हामीलाई फ्रेस बनाउँछ ।
के योजना बुन्दै हुनुहुन्छ ?
अहिले भइरहेको र गरिरहेको भन्दा फरक खालको ‘कमेडी’ ल्याउने सोचमा छु । ‘अडियन्स’लाई छुने खालको कमेडी गर्छु । कमेडी च्याम्पियनमा गएपछि मैले मेरो युट्युब च्यानल हेर्न पाएकै छैन । व्यक्तिगत युट्युबमा पनि उत्तिकै सक्रिय हुन्छु ।