आफूले अभिनय गरेका हरेक चलचित्रमा फरक चरित्र उतारेर दर्शकको मनमा बस्न सफल अभिनेता विपिन कार्की के गर्दैछन्, के सोच्दैछन् यो लकडाउनमा ? समर्पण श्रीले यसकै सेरोफेरोमा उनीसँग कुराकानी गरेका छन् :
एकातिर फुर्सद, अर्कातिर संकट । कस्तो सोच आउँदो रहेछ यस्तो बेला ?
केही नयाँ अनुभूति भएको छ । केही समय त आत्तिएँ । धेरै वर्षअघि प्रदूषणसम्बन्धी सडक नाटक गरेका थियौं, अक्सिजन बोकेर हिँड्नुपर्ने वातावरण बन्दैछ भन्ने सन्देशको । अहिले आएर त्यो कल्पना सत्यको नजिक रहेछ भन्ने लाग्यो । महामारी फैलिनुअघि एउटा फिल्म हेरेको थिए– ट्रेन टु बुसान । अहिलेको परिस्थिति हेर्दा त्यससँग पनि मिल्दोजुल्दो छ । पछिल्लो समयचाहिँ सजग हुन सके कोरोना त्यति ठूलो होइन रहेछ भन्ने थाहा पाएपछि अत्यास छैन । तर, भविष्यमा अझ ठूलो महामारी नआउला भन्न सकिन्न । त्यसैले अहिले सुरक्षित रहने र भोलि थप महामारी फैलिन नदिन प्रकृतिलाई माया गर्ने कुरामा जागरुक हुनुपर्यो ।
फुर्सदमा आफ्नै विगतलाई पनि फर्केर हेर्नुभयो होला, हिजो थिएटरमा संघर्षरत विपिन र अहिलेको विपिनमा के फरक पाउनुभयो ?
हेरेँ । र, आफूलाई एकदम डराएको पाएँ । विगत फर्केर हेर्दा म खत्तम भइसकेछु जस्तो लाग्यो । उत्साह, जोश घट्दै गएको हो कि भन्ने लाग्यो । अभिनयप्रति जुन रुचि थियो त्यो त घटेको छैन । तर, एक्सरसाइज तथा थप अभ्यासचाहिँ नभएको महसुस भयो । अरूको प्रशंसाचाहिँ पाइरहेको छु, तर मेहनतचाहिँ घटेको लाग्यो । मैले छड्केमा गरेको र सेल्फी किङमा गरेको मेहनतमा निकै फरक पाएँ ।
मन चिसो भयो । मैले गर्नुपर्ने धेरै रैछ भन्ने लाग्यो । मैले मेरै स्टाइलले पो काम गरिरहनुपर्ने रहेछ, जुन मिस भएको हो कि भन्ने महसुस भयो । कतै मैले हावामा गरिरहेको रहेछु भन्ने पनि अनुभव भयो । अब गर्ने काममा अझै मेहनत गर्छु । अब कहिले काम गर्न पाउँला भन्ने छट्पटी भइरहेको छ ।
तपाईंले प्रत्येक फिल्ममा निभाएका चरित्र भिन्न छन् । केही त दर्शक र समीक्षकले निकै अब्बल माने । तर, तपाईंलाई चाहिँ कुन ‘पर्फेक्ट’ लाग्यो ?
मलाई लाग्छ, मेरो अभिनय कहिल्यै पूर्ण हुन सकेन । अगाडि गरेका अभिनय बेला बेलामा हेर्ने गर्छु । एउटा कलाकारलाई आफूले गरेको काम पूर्ण लाग्नु राम्रो होइन । आफूले गर्ने काममा एक खालको डर हुनुपर्छ । सिक्नका लागि सधैं नयाँ कुरा हुन्छन् । मलाई लाग्छ, आफूले गर्ने कुनै काम पूर्ण हुँदैन ।
तपाईंलाई पनि अभिनयको दौरान कुनै समय ‘वाह’ लागेका क्यारेक्टरपछि फितलो जस्तो लागेका छन् कि छैनन् ?
कतिपय कुराहरू परिपक्व हुँदै गएपछि बुझिँदो रहेछ । कतिमा अहिले अझै राम्रो गर्थें भन्ने लाग्छ, कति हेर्दा लाजै लाग्छ । यस्तो हुनु भनेको परिपक्वता आउँदै जानु पनि हो जस्तो लाग्छ । वास्तवमा अहिलेसँग तुलना गर्दा त्यस्तो देखिएको हो । त्यही भएर नै त्यस्तो लागेको हो । पशुपति प्रसादको क्यारेक्टरमा त्यतिबेला सन्तुष्ट थिएँ, जात्राको पनि । तर, अहिलेको गरेको भए अझै गज्जबले गर्थें जस्तो लाग्छ ।
कहिलेकाहीँ अभिनय गर्दा कलाकारले चरित्रलाई न्याय गर्न सकिरहेको हुँदैन । त्यो दर्शकले वा समीक्षकले अनुभूत गर्छन् । त्यस्तो बेला कस्ता अनुभूति हुन्छ ?
जुन चरित्र हुनु पथ्र्यो, त्यस्तो हुन सकेन भने ठूलो समस्या निम्त्याउँछ । कलाकारले नाटक वा स्क्रिनमार्फत् समाजका कुरा भन्ने हो । त्यो भन्दा त्यहाँ ऊ मात्र हुँदैन, समग्र टिम हुन्छ । एउटा क्यारेक्टरमा न्याय नहुनु भनेको समग्र योजना नै बिफल हुनु हो । त्यसले दिने सन्देश गलत जान्छ । त्यो कलाकारले निभाउने धर्म विपरीत हुन्छ । समग्र कुरामा धक्का लाग्छ ।
तपाईंको लिड क्यारेक्टर भएको केही फिल्म गोपी, प्रसादलाई नै लिऊँ न । कन्टेन्टमा समीक्षकहरू आलोचनात्मक देखिए तर अभिनयलाई चाहिँ मन पराइयो । यस्तो बेला कस्तो लाग्छ ?
दु:ख लाग्दो रहेछ । मैले खेलेको फिल्ममा मेरो क्यारेक्टरमात्र दर्शकले रुचाइदिँदा मज्जा नहुँदो रहेछ । सिनेमा नै राम्रो भइसकेपछि मात्र मैले खेल्नुको औचित्य पूरा हुन्छ । एउटा झुर चलचित्रमा राम्रो काम गर्नुभन्दा बरु एउटा राम्रो चलचित्रमा थोरै भूमिका भए पनि त्यसमा आनन्द आउँछ मलाई । मैले खेल्ने चलचित्र नै समग्रमा राम्रो हुनुपर्छ । त्यसपछि मात्र मेरो क्यारेक्टरको कुरा आउने हो । फिल्म झुर भइदिँदा मैले छनोट गर्न सकिनछु भनेर दु:ख लाग्छ । मैले सुरुमै त्यो कुरा भन्नुपथ्र्याे वा मैले जानिन भन्ने कुरा लागिरहन्छ ।
सोच–विचार गरेरै छनोट गरेका फिल्म पनि त असफल भएका उदाहरण छन् नि ?
त्यस्तो पनि हुन्छ । स्क्रिप्ट र अभिनयमात्र फिल्मको पक्ष होइन । अन्य धेरै पक्ष छन् । र, एउटा कलाकारले सबै जिम्मा लिन भ्याउँदैन । त्यही नभ्याउनुको कारण मैले केही फिल्ममा पीडा महसुस गरेँ । मैले भूमिकामाथि सोच्ने हो । सबै बुझ्न त मैले सक्दिनँ पनि । सबैतिर लागेँ भने जिम्मेवारी लथालिंग हुन्छ । मैले सुझाव दिन सक्छु जानेका कुरामा । यसकारण एक पक्ष राम्रो हुँदा पनि दुर्घटना त भई नै हाल्छन् ।
तपाईंले सबैभन्दा बढी मेहनत गर्नुभएको चरित्रचाहिँ कुन हो ?
मैले सुरुवातमा गरेको फिल्म छड्केको चरित्र सम्झन्छु । त्यो मेरो डेब्यू मुभि नै मान्छु । यसअघिमा फिल्ममा आक्कलझुक्कल दृश्य थिए । छड्केमा भने कथामा नै प्रभाव पार्ने भूमिका थियो । त्यसमा मैले एकदमै धेरै काम गरेको थिएँ । स्क्रिप्टमा धेरै घोत्लिएँ । रिहर्सल नै कति धेरै गरेँ । निर्देशकले पनि एकदम चासो राखेर उत्साहित बनाए ।
अभिनय गर्दा चरित्र कसरी निर्माण गर्नुहुन्छ ?
एउटा पात्रमा धेरै चरित्र मिसाउने गर्छु । हुबहु कपी वा क्यारिकेचर गर्दिनँ । कसैको स्वर, कसैको शारीरिक हाउभाउ, कसैको हाँसो, कसैको हिँडाइ मिसाउँछु । त्यसमा अभ्यास गर्छु । त्यो फिल्म वा थिएटरमा लाँदा जस्ताको तस्तै हुँदैन । त्यसलाई बनाउन अझै धेरै मेहेनत गर्नुपर्ने हुन्छ ।
सेलिब्रेटी भइसकेपछि ‘अब्जरभेसन’ गर्न त कठिन हुन्छ होला नि ?
सेलिब्रेटी भनेको त एउटा चिनिएको अनुहार हो । त्यही अनुहार लिएर ‘अब्जर्भ’ गर्न थालियो भने उनीहरू पनि अभिनय गर्न थालिहाल्छन् । सतर्क हुन्छन्, स्मार्ट देखाउँछन् । त्यसैले म परिचित अनुहार लिएर कहिल्यै पनि जान्नँ ।
कसरी जानुहुन्छ त ?
अरूले थाहा नपाउने गरी जान्छु गेटअप परिवर्तन गरेर । त्यसरी जाँदा मलाई नचिन्ने रमाइलो क्यारेक्टर भेटेँ भने म घण्टौं बसिदिन्छु । त्यसरी थुप्रै बसेको छु । चलचित्रमा मेरो गेट–अप फरक हुन्छ । त्यसैले मेरो रियल अनुहार झट्ट चिनिहाल्दैनन् । कहिलेकाहीँ कुरा गर्दा–गर्दै तपाईंलाई कहाँ देखेको हो भनेर सोध्छन् । त्यसपछि उनीहरूले सोच्दा–सोच्दै म हिँडिसकेको हुन्छु । कसैले ‘विपिन कार्की होइन ?’ भनेर सोध्दा ‘हैन । म त्यस्तै देखिन्छु रे, अरूले पनि भन्नुहुन्छ । अनुहार मिल्दो रैछ अलि अलि’ भनिदिन्छु । यस्तो धेरै पटक भएको छ ।
तपाईंले एउटा कार्यक्रममा भन्नुभएको थियो, ‘परम्परागत अभिनयको सिद्धान्त भत्काउनुपर्छ । तर, त्यो भत्काउँदा कलाकारलाई आफूले भत्काइरहेको थाहा नहोस् ।’ त्यसो गर्न कत्तिको सहज छ ?
केही परम्परागत नियम हामीलाई सिकाइएको हुन्छ । समयसँगै धेरै कुरा परिवर्तन हुन्छ, त्यसलाई आत्मसात् गरेर नयाँपन दिने प्रयास गर्नुपर्छ । नयाँपन अर्थात् अर्गानिक कुरा त हामी प्रत्येकसँग हुन्छ । त्यसैले आफ्नो कुरा, शैली र भोगाइ जोड्नुपर्छ । अनि मात्र युनिक हुन्छ । गुरुले सिकाएका कुरा त सबैले गर्छन्, त्यसमा आफ्नो नयाँ कुरा जोड्ने हो । त्यसरी ब्रेक गर्न सक्नु भएन भन हराइन्छ ।
अहिलेसम्म नपाएको तर चाहेको चरित्र कुनै छ ?
मलाई एउटा नेगेटिभ सेन्सको चरित्र गर्न मन छ । गर्न त नाका, छड्के, पशुपतिप्रसादलगायतमा गरेको छु । तर, तीभन्दा भिन्नै गर्न चाहन्छु । पछिल्ला फिल्ममा निरन्तर सकारात्मक चरित्र मात्र छन् । तर, अब गर्ने नेगेटिभ क्यारेक्टर भिन्नै तरिकाले सोचेको छु । त्यो आकर्षक पनि हुनेछ ।
लकडाउनपछि के–के योजना बनाउनुभएको छ ? रंगमञ्चबाट टाढिनुभएको पनि धेरै भयो । फर्किने केही योजना छ ?
लकडाउनपछि सम्झौता गरेको फिल्म नै गर्नु छ । केही नयाँ पनि गर्नुपर्ला भन्ने सोचमा छु । रंगमञ्चमा पनि केही योजना बनिरहेका छन् । वैशाख–जेठमै गर्ने कुरा थियो, रोकियो । विमल सुवेदीजीसँग कुरा भइरहेको छ । लकडाउनलगत्तै रंगमञ्चमा पनि काम गर्दैछु ।