श्रवण मुकारुङ थोरै कविता लेखेर साहित्य जगतमा तरङ्ग उत्पन्न गर्ने कविमध्येका एक हुन् । राजनीतिक चेत भएका कवि मुकारुङ बेला–बेला कवितामार्फत सत्ताको खवर दारी गर्छन् । लकडाउनको समयमा उनले ‘ क्वारेन्टाइनबाट कविता शृङ्खला’ सञ्चालन गरेका छन् । यस शृङ्खलाअन्तर्गत बुधबार सम्म उनले ५७ कविका कविता वाचन गरि सकेका छन् । उनै मुकारुङसँग उनको कविता शृङ्खला, कविताको आममानिस र राजनीतिसँगको सम्बन्ध, पछिल्लो समय प्रधानमन्त्रीले सार्वजनिक गरेको कवितालगायतका विषयमा साप्ताहिकका कृष्ण आचार्यले गरेको कुराकानी:
सेल्फ क्वारेन्टाइनको समय कसरी बिताइरहनुभएको छ ?
यो समय सबैका लागि निकै कठिन छ । किनभने देशमात्र नभएर विश्वले नै एउटा संकटको सामना गरिरहेको छ । भोलि के होला भन्ने भयले आज खराब भइरहेको छ । यस्तो अवस्थामा म फेसबुक लाइभमार्फत विभिन्न कविका कविताहरू पढ्दै छु । लेख्ने, पढ्ने र सिनेमा हेर्ने काम पनि भइरहेकै छ । योभन्दा अरू समयमा परिवारसँग बसेर रमाइलो भइरहेको छ । यसरी नै सामान्य रूपमा दिनहरू बितिरहेका छन् ।
फेसबुकमा कविता वाचन गर्ने योजना कसरी बनाउनुभयो ?
लकडाउनको समयमा सबै घरभित्र थुनिएको भए पनि फेसबुकमा हुन्छौं भन्ने लाग्यो । त्यसैले मैले कविता पढ्दा अरूलाई पनि आनन्द दिन्छ भन्ने मनसायले यो काम सुरु गरेको हुँ । कविता सुन्दा यसले थेरापीको काम गर्छ र लकडाउनमा अलमलिन सहयोग पुग्छ भन्ने मेरो विश्वास हो । अर्को कुरा राष्ट्रलाई विपत्ति पर्दा स्रष्टाहरूले पनि कुनै दायित्व निर्वाह गर्नुपर्छ भन्ने लाग्यो । हामी स्राष्टाहरू आर्थिक सहयोग गर्न सक्दैनौं । त्यसैले हाम्रो काम साहित्यिक गतिविधि गर्ने नै हो भनेर कविता वाचन सुरु गरेको हुँ ।
तपाईंले पुरानादेखि थुप्रै नयाँ कविका कविताहरू वाचन गरिरहनुभएको छ । यसको संकलन स्रोत र छनोटको आधार के हो ?
मैले वाचन गरेका कविताहरू प्राय: सबै मसँग उपलब्ध कविताहरू नै हुन् । केही कविताहरू मौखिक रूपमा याद पनि छन् । उपलब्ध भएकामध्ये पनि छोटा कविताहरू वाचन गरिरहेको छु । केही कविताहरू आफूले सम्झिएको आधारमा खोज्छु भने केही खोज्दै र पढ्दै जाँदा राम्रो लागेका कविताहरू पनि वाचन गर्छु । यदि सम्झिएको कविता आफूसँग रहेनछ भने इन्टरनेटको माध्यमबाट पनि खोज्नुपर्ने हुन्छ । कवि छनोट गर्दा पनि यो कविका सबै कविताहरू राम्रा छन् है भन्ने लागेपछि छनोट गरेको छु । कविता छनोट गर्दा मानिसको मुड फ्रेस हुने खालका छनोट गर्छु ।
मञ्चमा कविता वाचन गर्दा र सामाजिक सञ्जालमा वाचन गर्दाको अनुभव कस्तो रह्यो ?
निकै रोमाञ्चक रह्यो । कार्यक्रममा सयदेखि ५ सयसम्म मानिसहरू उपस्थित हुन्थे । सामाजिक सञ्जालमा त फ्रेन्ड लिस्टमामात्र ५ हजार साथी हुन्छन् । फलोअर्स हुन्छन् । भिडियो सेयर गरिन्छ । सामाजिक सञ्जालमार्फत धेरैको जमातमा पुग्न सकिँदो रहेछ । कतिले हेरे, कति लाइक कमेन्ट आयो भन्ने थाहा हुन्छ । जे होस् स्वाद नै आउँदो रहेछ । मलाई त एउटा ठूलो सभामा कविता वाचन गरेजस्तै लागिरहेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो पाइरहेको छु । मैले लकडाउन भएको भोलिपल्टबाट फेसबुकमा कविता वाचन सुरु गरेको थिएँ । अहिले त थुप्रैले वाचन गरिरहनुभएको छ । खुसी लाग्छ ।
मानिसको कवितासँगको सम्बन्ध कस्तो हुन्छ ?
मानिसले आफ्नो जीवनमा थुप्रै भौतिक चिजहरू प्राप्त गरेको होला । तर, बौद्धिक, मानसिक र आध्यात्मिक हिसाबले प्राप्त गरेको सबैभन्दा ठूलो सम्पत्ति कविता नै हो । बेदको ऋचा, बाइबलका पद, गीताका स्लोक सबै कविता हुन् । बच्चालाई फकाउने लोरी पनि कविता हो । राष्ट्रलाई एकढिक्का बनाउने चिज कविता हो । हाम्रो विवाह, संस्कार, संस्कृतिमा हामीले जप्ने मन्त्रहरू सबै कविता हुन् । त्यसैले मानिसले प्राप्त गरेको अभिव्यक्तिको सबैभन्दा ठूलो माध्यम नै कविता हो । कविता चेतनाको कुरा पनि हो । विपत्ति, राजनीतिक विसंगतिहरूमा बोल्ने एउटा आवाज हो । यसले मानवलाई सुसोचित र स्वस्थ बनाउने काम गर्छ । त्यसैले मानिस र कविताबीचमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कुनै न कुनै सम्बन्ध रहेकै छ ।
कविताको राजनीति वा सत्तासँग कस्तो सम्बन्ध पाउनुहुन्छ ?
कुनै पनि सत्ताको प्रतिपक्ष भनेको कविता नै हो । प्रतिपक्षमा राजनीतिक दल हुनु प्रतिपक्ष छन् है भन्ने कुरा मात्र रहेछ । किनभने स्वार्थ मिल्दा उनीहरू सत्तासँग अँगालो हाल्न पनि पछि पर्दा रहेनछन् । सत्ता एउटा शक्ति हो । ठूलो शक्तिले सानो शक्तिलाई अन्याय नगरोस् भनेर खबरदारी गर्ने काम कविताले गर्छ । व्यथिति, अन्याय र अत्याचारको विरुद्धमा, सुव्यवस्था र परिवर्तनको पक्षमा कविताको भूमिका महत्वपूर्ण देखिएको छ । सत्ताले गलत गर्दा खबरदारी गर्ने काम कविताले गर्छ ।
हिजोका दिनमा कविताले सत्ता हल्लाउने क्षमता राख्थ्यो । त्यसैले होला, कविता लेखेकै आधारमा कविहरू जेलसमेत हालिन्थ्यो । तर, अहिले कवितामा त्यो बल नदेखिएको हो ? कविहरू कमजोर भएका हुन् वा सत्ताले नटेरेको ?
‘माटोको भाँडोलाई काठको मुङ्ग्री’ भनेजस्तो सत्ताले नटेरेको हो । नत्र अहिले पनि निकै बुलन्द कविताहरू आइरहेका छन् । सत्ता नै निदाएको अभिनय गर्ने भएका कारण यस्तो भएको हो । लकडाउनपछि पनि श्रमिकहरूको पक्षमा निकै कविताहरू लेखिए । सत्ताले सुनेको छ र उसलाई बिझाएको पनि छ तर, नसुनेझै गर्छ । यसमा कविताको दोष छैन । कविको पनि दोष छैन । दोष कसको छ, त्यसको मूल्यांकन जनताले गरिरहेका छन् ।
अहिलेको समय र परिवेशमा कस्ता खालका कविता लेखिनुपर्छजस्तो लाग्छ ?
कविता यो विषयमा नै लेख्नुपर्छ भन्ने हुँदैन । कविले आफ्नो रुचि, चाहनाअनुसार जुनसुकै विषयमा लेख्न सक्छ । प्रधान कुरा आफू उभिएको जमिन, समाज, विश्व कता जाँदैछ त्यसमा आधारित भएर आफ्नो ब्रह्मले देखेको कुरालाई आफूभित्रको देवतालाई जगाएर लेख्ने हो । हाम्रो राजनीतिक मुद्दाहरू हिजो र आज उस्तै छन् । यो सधैं लेखिरहनु पर्ने विषय हो । भ्रष्टाचार, अन्याय, अत्याचार र बदमासीको विरुद्धमा लेख्नुपर्ने पनि धेरै छ । गणतन्त्र सुदृढ गर्न खबरदारी गर्न लेख्न अझै बाँकी छ । अझ अहिलेको परिस्थितिले मानव र प्रकृतिबीचको सम्बन्धलाई कवितामार्फत प्रस्फुटन गर्नुपर्ने आवश्यकता देखाएको छ । हामीले प्रकृतिलाई दोहन गरेर जसरी पृथ्वीमा कब्जा जमाइरहेका छौं यो गलत रहेछ भन्ने कुरा अहिले प्रकृतिले हामीलाई सिकाउँदै छ । यसको विरुद्धमा लेख्नुपर्ने भएको छ अब कविता । आधुनीकीकरणको नाममा भइरहेका प्रदूषणको विरोधमा लेख्नुपर्ने छ । अर्थात, सम्पूर्ण वातावरणीय पक्षसँग सम्बन्धित विषयमा कविता लेख्नुपर्ने देखिएको छ । अब कविले कवितामार्फत पृथ्वी जोखिएमा न हामी जोगिन्छौं भन्ने कुराको सचेतना जगाउनुपर्ने अवस्था आएको छ ।
अहिलेको परिस्थितिमा मानिसहरू मानसिक तनावमा छन् । हाँस्ने–रमाउने आधारको खोजी भइरहेको छ । यस्तो अवस्थामा हास्य–व्यङ्ग्य कविताको आवश्यकता कत्तिको हुन्छ ?
कविता नव रसमा लेखिन्छ । त्यसमा हास्य–ब्यङ्ग्य पनि चाहिन्छ । हास्य–व्यङ्ग्यमा मानिसहरूको रुची भएकै कारण हास्य–व्यङ्ग्य कलाकारहरूले अहिले बजार लिइरहेका छन् । हाँस्य–व्यङ्ग्य भन्दैमा तल्लो स्तरमा झरेर कविता लेख्ने भन्ने पनि हुँदैन । स्तर कायम गरेर लेखिनुपर्छ । कविताको नाममा ‘स्ट्यान्ड अप’ कमेडी गर्ने परम्परा पनि बस्दै छ । तर कविता कमेडी बन्नु हुँदैन । भूपी शेरचनका कविताहरूमा उच्च हास्य–व्यङ्ग्य पाइन्छ । पाठकको चेतनाको विभिन्न तह हुन्छ । कसैलाई साधारण प्रकृतिको हास्य–व्यङ्ग्य चाहिन्छ भने कसैलाई गम्भीर प्रकृतिको । हामीले सबै किसिमका कविता लेख्नुपर्छ । आवश्यक छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १९ र २० गते लगातार दुई कविता सार्वजनिक गरे । धेरैले ती कविता होइनन् भनेर आलोचना गरे । तपाईंलाई चाहिँ प्रधानमन्त्रीका कविता कस्ता लागे ?
हास्य–व्यङ्ग्य गरेर उहाँले हँसाइरहनुभएको छ नि (लामो हाँसो) † उहाँले लेखेको कविता नै होजस्तो मलाई लागेन । एउटा सिकारुले लेखेको जस्तो कविता उहाँले लेख्नुभएको छ । जहाँ कुनै काव्यिक भाव वा झझल्को छैन । त्यो केवल एउटा नाराजस्तो देखिन्छ । त्यसलाई कविता भन्ने हो भने साढे ३ करोड नेपाली नै कवि हुन सक्छन् । तर, एउटा प्रधानमन्त्रीले कविता लेख्न खोज्नु कविहरूका लागि सम्मानको कुरा हो । यसबाट राष्ट्रप्रमुखले कवितालाई स्नेह गरेको र यसको महत्व बुझेको आभास हुन्छ ।