२०५० जेठ ३ गते तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा गाडी दुर्घटनामा निधन भयो,जसलाई षड्यन्त्रपूर्ण गरिएको हत्या समेत भनिन्छ । यसै विषयमानिर्देशक मनोज पण्डितले सिनेमा बनाए–दासढुंगा । दासढुंगा घटनामा जोडिएर आउने पात्र हुन्, भण्डारीको गाडीचालक रहेका अमर लामा । कतिले लामालाई प्रयोग गरेर भण्डारीको हत्या गरिएको अनुमान गरे । पछि लामा पनि रहस्यमयी ढंगले मारिए । ‘दासढुंगा’ सिनेमामा अमर लामाको चरित्र अभिनेता दयाहाङ राईले निर्वाह छन् । दयाहाङ त्यस चरित्रलाई आफ्नो अभिनयको ‘मास्टर क्यारेक्टर’का रुपमा लिन्छन् । दयाहाङसँग ‘दासढुंगा’सिनेमा र उनले निभाएको चरित्रबारे साप्ताहिकका समर्पण श्रीले गरेको कुराकानी :
‘दासढुंगा’मा तपाईंचालक अमर लामाको चरित्रमा हुनुहुन्थ्यो । यो भूमिकाको लागि प्रस्ताव तपाईंसम्म कसरी आइपुग्यो ?
निर्देशक मनोज पण्डितले‘दासढुंगा’सिनेमाका लागि मदन भण्डारीको ड्राइभर अमर लामा भन्ने पात्रका लागि कलाकार खोजिरहनु भएको रहेछ । उहाँले अन्य कलाकारसँग पनि कुरा गरिरहनुभएको रहेछ । मलाई एकदिन अचानक उहाँकोफोन आयो । हामी बबरमहलमा भेट्यौं । त्यस भेटमा उहाँले केही पनि भन्नुभएन । छुट्ने बेलामा म तिमीलाई अर्को दिन फोन गर्छु भन्नुभयो । एक महिनापछि मलाई उहाँको फोन आयो । फोनमा उहाँले दासढुंगा फिल्ममा अमर लामाको भूमिकाका लागि मलाई प्रस्ताब गर्नुभयो । म सहमत भएँ । एक हप्तापछि हामी काम गर्ने भयौं ।त्यसपछि मैले अमर लामा पात्रको लागि तयारी गर्नुपर्ने भयो । तर, अमर लामा मैले कहिल्यै देखको थिइनँ ।
नदेखेको अमर लामाको चरित्रको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण काम हो । उनीबारे कसरी खोजी गर्नुभयो ?
सहमति भएकै दिनदेखि मैलेअमर लामाबारे अध्ययन र खोजी गर्न थालेँ । निर्देशक पण्डितसँग धेरै आइडियाहरुमा पनि कुरा भयो । मैले त्यतिबला केही पत्रिका राखेको थिएँ । पत्रिकाको ‘नेपाल’ म्यागाजिनको खापभित्र अमर लामालाई कीर्तिपुरमा मारिएको फोटो र समाचार भेटें । त्यसले चाहिँ अमर लामाका शारीरिक हाउभाउबारेमा अनुमान लगाएँ । मनोज पण्डितलेमलाई ‘दासढुंगा दर्पण’संकलन फोटोकपी गरेर दिनुभएको थियो । दासढुंगाबारे अमर लामाले आफूमाथि लागेका आरोपको खण्डन गरेको लेख थियो । विशेष त म त्यतिबाटै तयार भएँ ।
लामाको शैली र लवज कस्तो थियो भनेर कसरी थाहा पाउनुभयो ?
सुरुमा त अमर लामा कसरी बोल्थे, लवज कस्तो थियो भनेर निकै खोजी गर्दा पनि सफल भइन । तर, एकजना मेरा साथी थिए, राजु लामा । उनले भेटेका रहेछन् अमर लामालाई एकपटक । उसको शैली कस्तो रहेछ भन्दा एकदम आरामले निश्चित भएर बोल्नुहुन्छ भन्ने कुरा उनीबाट सुनेँ । त्यहीँबाट केही अनुमान लगाएँ ।
‘दासढुंगा’ बन्नुपहिले पनि तपाईंले केही फिल्ममा काम गरिसक्नुभएको थियो । तर, एउटा ऐतिहासिक घटनामाथि बन्न लागेको फिल्ममा पहिलो पटक काम गर्दै हुनुहुन्थ्यो, के कठिनाइ अनुभव गर्नुभयो कि ?
यो फिल्म गर्दा मलाई निकै चुनौती थियो । किनकि, मैले भूमिका निर्वाह गर्ने चरित्र नै एउटा संवेदनशील थियो । अमर लामा मदन भण्डारी र दासढुंगा घटनासँग जोडिएर आउने नाम । आम मानिसमा यो पात्र भन्नेबित्तिकै भिलेन भन्ने मानसिकता थियो ।ऊ नै सबै घटनाको दोषी भन्ने धारणा थियो । यो एउटा मुख्य क्यारेक्टर पनि थियो । सत्य कुराचाहिँ के हो भन्ने कसैलाई जानकारी पनि थिएन, जुन अमर लामालाई मात्र थाहा छ होला । उनी कति सत्य र झुट छन् भन्ने कुरा पनि उनलाई नै थाहा थियो होला । तर, मैले त्यो क्यारेक्टर गर्दा म एक्टरको लागि आफू त सत्य नै हुनुपर्दथ्यो । व्यक्तिगत रुपमा उहाँ भिलेन त हैन । त्यो चिज सन्तुलन गर्नका लागि धेरै गाह्रो भएको थियो । उनी जस्तो भए पनि मैले त्यो क्यारेक्टरलाई चाहिँ कसरी न्याय गर्ने भन्ने चुनौती थियो । मसँग कुनै आग्रह पूर्वाग्रह थिएन । क्यारेक्टरको नेगेटिभ व पोजेटिभ जे कुरा आए पनि एउटा एक्टरले न्याय गर्नुपर्ने हुन्छ । न्याय गर्नका लागि एकदमै इमान्दार भएर काम गर्नुपर्छ ।
सिनेमामा अमर लामाको भूमिका गर्दा शरीर पातलो र दुब्लो देखिन्छ । त्यसमा तपाईंको पहिरन उनीसँग मिल्दोजुल्दो थियो त ?
सुटिङमा जानुअघि मसँग २५ दिन मात्र समय थियो । त्यही अवधिमा मैले क्यारेक्टरको लागि अभ्यास गरेँ । त्यो पात्रमा म दुब्लो छु । पात्रजस्तै बन्नका लागि मैले २५ दिनको बीचमा७ केजीभन्दा बढी तौल घटाएँ । म बुद्धनगर बस्थें । त्यहाँबाट महाराजगन्ज र महाराजगन्जबाट बुद्धनगर हिंडेर आउने जाने गर्दथें । त्यतिबेला मेरो ‘दोषी चस्मा’ नाटकको रिहर्सल चलिरहेको थियो । त्यसरी पैदल हिँड्दा तौल घटाउन मद्दत ग¥यो । अमर लामा बन्दा पहिरनमा पनि ध्यान दिनुपर्दथ्यो । किरण पौडल भन्ने साथीले अमर लामाबारे धेरै खोजीगरेका थिए । पहिरनबारे पनि उनलाई थाहा थियो । अमरले कस्तो खालका कपडा लगाउँथे, घटनाको बेलामा कस्तो खालको कपडा लगाएर आएका थिए भन्ने कुराबारे किरणजीले मलाई बताए । त्यहीअनुरुपको कपडा तयार भयो । त्यही डिजाइन वा कलरको कपडा हामीले सिलाएका थियौं । धेरै प्रत्यक्षदर्शीले पनि अमरले लगाएकोपहिरनबारे सुनाएका थिए । त्यही आधारमा कपडा तयार ग¥यौं ।
सुटिङको क्रममा भोगेका कठिनाइ र चरित्र निर्वाह गर्दाका अनुभव कस्ता थिए ?
यो प्रशस्त पैसाले बनेको फिल्म हैन । टिमसँगसीमित बजेट थियो ।बहुतै दुःख गरेर काम गरियो ।मेरो ड्राइभिङ राम्रो थिएन । एउटा पानी पार्ने दृश्य थियो । सेट लगाएर पानी पार्ने अवस्था थिएन । सामान्य खोल्साको पानी उभाउँदै हजारीले वाइपर चलाउँदै हामीले त्यो सिनमा काम ग¥यौं ।सुटिङ पनि जति दिनमा सक्छौं भनेर अनुमान गरेका थियौं, त्यो भन्दा धेरै लम्बिएर गयो ।एक महिनामा सकाउने योजना थियो । तर, कारणवश २ महिना लाग्यो । यद्यपि कठिनाइ भए पनि आत्मविश्वास र उत्साह उत्तिकै बढको थियो । त्यो नै रमाइलो कुरा थियो ।
दासढुंगाको एउटा दृश्य छ । अमर लामालाई एक व्यक्तिले ‘ठीक छ अमरजी’ भन्दा ओठमा सूर्ती च्याप्दै उनले ‘ठाक छ’ भनेको सुनिन्छ । यो एउटा रोचक लागेको दृश्य । त्यो सूर्ती च्यापेको दृश्य तपाईंले कलात्मक बनाउन गर्नुभएको थियो कि अमर लामाको शैली नै त्यस्तो थियो ?
यो दृश्य मलाई पनि रोचक लाग्छ । एक परिचित व्यक्ति के छ अमरजी भन्दा मैले ‘ठाक छ’ भनेको प्रसंग छ । त्यो प्रसंग फिल्ममा राखियो । तर, उनले ‘ठाक छ’ मात्र भने त भन्ने कुरा दुविधात्मक थियो । कतै सोध्नेले त्यतिमात्र सुन्यो कि ? यसलाई कसरी बनाउने भन्ने कुरा सोच्यौं । मैले प्रोसेसमा के गरें भने सूर्ती मुखमा लगाएँ । त्यसमा मुखमा सूर्ती हाल्दा मैले ठिक र त्यसपछि ठाक छ भनेको छु । त्यो गर्दा ठीक भन्ने शब्द सुनिएन । कुनै पनि मान्छेले सुन्ने एउटा र देख्ने एउटा हुन्छ । अमर लामा एकदमै सूर्ती खान्थे रे । सूर्ती च्याप्ने क्रममा ठिकठाक छ भन्दा ठाक छ मात्र सुनिएको होला भन्ने मलाई लाग्यो । अनि मैले सूर्ती प्रयोग गरें ।
उनको चरित्र निभाउँदै गर्दा तपाईंमा अमर लामाबारे कस्तो चित्र बन्यो ?
अमर लामा जस्तो भए पनि एउटा कलाकारको लागि आफूले निभाएको पात्र प्रिय नै हुन्छ । जसरी बाहिर उनीबारेमा एउटा धारणा बनाइएको छ, त्यो आकृति चाहिँ उसको होइन भन्ने मलाई लागिरहन्थ्यो । किनकि, त्यो हो भनेर भनेर काम गर्दा मस्तिष्कमा नकारात्मक सेन्स त आउँछ । मेरो लागि त्यो क्यारेक्टर त एकदमै प्रिय थियो ।मैले उनीमाथि पूर्वाग्राह राखेर कुनै पनि काम गरिनँ । एउटा कलाकरको धर्म पनि त्यही हो जस्तो लाग्छ । इतिहासको एकदमै क्रुर पात्रमाथि काम गर्दा पनि त्यसमा पूर्वाग्राही ढंगले क्रुर मान्छे भन्ने आवश्यकता छैन होला । जुन समयमा जे भोगेको थियो उसको पक्षबाट मैले त्यहीमात्र भोग्ने प्रयास गरें ।तर, आकृति मैले जे देखें,त्यो सिनेमामा गरेको छु । अरु चिजमा त मैले भन्न सक्दिनँ । पछि उसको पनि हत्या भयो । दासढुंगा एउटा रहस्यमै रह्यो । त्यो पत्ता लागेन ।दुई दृष्टिकोणलाई हेर्ने हो भने अमर लामा पनि एउटा रहस्यमयी पात्र हो । तर, मेरो लागि त्यो समयमा अमर लामा प्रिय थिए ।
तपाईंले पात्रलाई न्याय गर्न भरसक प्रयास गरें भन्नुभयो । यो चरित्रमाथि आफू सन्तुष्ट भएको कुरा
बेलाबेलामा भन्नु पनि हुन्छ । चरित्रलाई जीवन्त उतार्न सकें भन्ने महसुस कतिबेला भयो ?
मलाई सबैभन्दा चुनौति नै पात्रलाई न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने थियो । सुटिङकै क्रममा पोखरा जाँदाको एउटा दृश्य याद आइरहन्छ । हरि पाण्डेको घरमा घटना भएको दिन बिहानको खाना खाइसकेपछि मदन भण्डारी, जीवराज आश्रित र अमर लामा हिँडेका थिए । त्यही घरमा छायांकन सकेपछि हामी खाना खाँदै थियौं । हरि पाण्डेको श्रीमतीले मलाई निन्यारो हुँदै एकटकले हेर्नुभयो । मलाई हेर्दा हेर्दै रुनुभयो । उहाँले अनौठो गरी मलाई भन्नुभयो, ‘मलाई त अमर लामा नै आएर बसेको जस्तो भयो ।’ त्यसपछि उहाँले अझै विस्तृतमा अमर लामाबारे भन्नुभयो । त्यो सुनिसकेपछि मलाई लाग्यो, म त्यो पात्रको नजिक पुगिसकेछु । म सफल हुँदै रहेछु, पात्रलाई न्याय गर्न सकेछु । मैले गरेको शारीरिक हाउभाउ, लवजलाई क्याच गर्दै लगें । त्यहाँदेखि मलाई आत्मविश्वास झनै बढ्दै गयो ।
त्यसपछाडि कीर्तिपुरमा अन्तिम सुटिङ भयो । अमर लामाको हत्याको दृश्य थियो । त्यसमा म दौडेर आउनुपर्ने दृश्य थियो– गुहार गुहार भन्दै । त्यो दृश्य सुटिङ गर्दा के भयो भने हामीले क्यामेरा लुकाएर पब्लिकलाई थाहै नदिईकन सुटिङ गरिरहेका थियौं । ‘गुहार गुहार’ भनेर म दौडँदै आएँ । मलाई तीन जना साथीहरुले लखेट्दै आएका थिए । त्यो सुटिङ गर्दा चारैतिर हल्लाखल्ला भयो । मान्छेहरुले सटर बन्द गर्न थाले । पछाडि रिटेक गर्ने सम्भावना हामीसँग भएन । किनकि, सटर सबै बन्द भइसकेका थिए । केही मान्छेहरु आएर हेर्न थाले मलाई छाम्न थाले । कुरा गर्न थाले । उनीहरुले मलाई चिनेका रैनछन् । उनीहरुले ल ‘यो त अमर लामाको आत्मा हो कि क्या हो’ भनेर कुरा गर्न थाले । त्यो क्षण देख्ने प्रत्यक्षदर्शीले अमर लामा यसरी नै आएको थियो भनेर कुरा गरे । उनीहरु भन्दै थिए, ‘अमर लामा त्यसरी नै भागेर आएको थियो । त्यही आत्मा हो । अनुहार, बोली र शारीरिक हाउभाउ सबै मिल्छ ।’
त्यो कुरा सुनेपछि मलाई लाग्यो–मेरो अभिनय सफल भएछ । पछि पब्लिकलाई हामीले सुटिङ गरेको भनेर बुझायौं ।
सिनेमा प्रदर्शन भएपछि पनि मैले राम्रै प्रशंसा बटुलेँ । प्रदर्शनपछि धेरैले मलाई सोध्नुभयो, ‘तिमीले देखेको थियौ त्यो पात्रलाई ?’मैले भनेँ, ‘मैले दुई वटा फोटो मात्र देखेको हो । मान्छे देखेको छैन ।’ तर, उसलाई देख्ने मान्छेले भने, ‘तिमीले खेलेको चरित्र उसँग धेरै मिल्छ ।’मेरो परिकल्पना ठीक भएछ भन्नेमा पक्का भयो ।
यो सिनेमामा काम गरिसकेपछि मदन भण्डारी र अमर लामाबीचको सम्बन्ध कस्तो थियो भन्ने लाग्यो ?
अमर लामाले पनि धेरै ठाउँमा भनेका छन् । एउट ड्राइभर र मालिकमात्र हैन, उनीहरुबीच एक कुशल नेता र कुशल कार्यकर्ताजस्तो सम्बन्ध देखिन्छ । एकदमै नजिकको साथीको रुपमा देखिन्छन् । हामीले अनुमान गरेभन्दा नजिक । मदन भण्डारी र लामाबीच छलफल पनि भइरहन्थ्यो होला । दुई जनाको स्तर, शिक्षा वा भोगाइ फरक देखिन्छ । त्यो कतिपय ठाउँमा एक अर्काको पूरक देखिन्छ ।
तपाईंले धेरै फिल्ममा भिन्न–भिन्न चरित्रमा काम गर्नुभएको छ । अरु चरित्रसँग अमर लामाको तुलना गर्दा यसलाई सधैं मास्टर क्यारेक्टर भन्ने गर्नुहुन्छ, किन ?
हो, मेरो लागि ठूलो स्कुलिङ नै त्यही क्यारेक्टर हो । एकदमै प्रिय क्यारेक्टर । जसरी मैले त्यो क्यारेक्टर बनाउन काम गरें, निकै मिहिनेत र अध्ययन गरको छु । त्यसपछि जति पनि क्यारेक्टर बनाउन मैले मिहिनेत गर्छु, सबैको यही प्रोसेसबाट काम गर्ने गर्छु । आजको दिनमा पनि म या क्योक्टर सम्झिरहन्छु । घटनामाथि आधारित मैले दुईवटा स्टोरी गरेको छु । दासढुंगा र तान्द्रो । तान्द्रो पनि गंगाबहादुर लामा दाइ, जो माओवादी जनयुद्धको घाइते योद्धा हुनुहुन्थयो, उहाँको जीवनमाथि बनेको सिनेमा हो ।उहाँ द्वन्द्वकालमा गोली लागेर गाउँको बारीमा अलपत्र भएर बस्नुभएको थियो । त्यो घटनामाथि मैले तान्द्रो भन्ने फिल्म गरेको थिएँ । उहाँको खुट्टामा गोली लाग्यो । त्यो खुट्टा काटेर एउटा खुट्टा छैन । उहाँसँग संगत गरेर उहाँले लेख्नुभएको किताबमा आधारित फिल्म हो यो । त्यो स्टोरीमा जाँदा के अनुभव हुन्छ भने जीवनमा त्यो क्यारेक्टर जस्तो कहिल्यै बन्न सकिन्न । न म अमर लामा नै बन्न सक्छु,न गंगाबहादुर लामा । तर, त्यो मान्छले त्यो समयमा कसरी बाँच्यो होला । मैले अनुमान गरेर खेल्ने हो । उहाँहरुको सोच, उहाँहरुको त्यो बेलाको मनोविज्ञान, त्रास सबै कुरालाई मैले परिकल्पना गरेर, त्यसलाई स्वीकार गरेर मैले बाँच्ने हो ।
मेरो जीवनमा एक्टर बन्नको लागि आकार दिएको क्यारेक्टर अमर लामा नै हो ।
दासढुंगा घटनाबारे बुझ्न चाहनेहरुले अध्ययन गर्दा अमर लामा केन्द्रीय पात्रमा देखिन्छन् । कतिले उनलाई दोषीको रुपमा चित्रण गरे, कतिले निर्दोष पात्रको रुपमा । तपाईंले अमर लामालाई कुन रुपमा पाउनुभयो ?
दुर्घटनाबारे त म केही भन्न सक्दिनँ । दुर्घटनापछि भने उनलाई धेरैले प्रयोग गरे । दुर्घटनापछि अमर लामा मात्र बाँकी रहे । त्यसपछाडि उनी बाँचुन्जेल र उनी रहँदा पनि अमर लामालाई धरैले प्रयोग गरेको हो । उनी बाँचिरहँदा पनि उनको कुरा कसैले सुनेनन् । उनलाई विभिन्न रुपमा प्रयोग गरिरहे । राजनीतिक रुपमा प्रयोग गर्दै गए होलान्। मैले कलाकारका रुपमा उनको चरित्रलाई आत्मसात् गर्ने कोशिस गरेँ । अर्थात्, एउटा अभिनेताको रुपमा काम गर्दा एक चरित्रको रुपमा मैले पनि उनलाई प्रयोग गरें । दोषी भन्दा पनि प्रयोग गरिएको पात्रको रुपमा मैले उनलाई पाएँ ।