सत्तामा बस्नेहरूले नचाहिँदो गरे भन्दैमा गणतन्त्र नै ठीक छैन, पुरानो व्यवस्था नै ठीक हो भन्ने कुरा सरासर गलत छ । र, यो कहिल्यै सम्भव हुन पनि सक्दैन ।
जनआन्दोलन २०६२–०६३ मा ज्यान नै बाजी राखेर हिँडेकामध्ये एक हुन हास्यकवि अर्जुन पराजुली । कवितामार्फत उनले शाहीतन्त्रलाई चुनौती दिए, जनतालाई जनआन्दोलनमा लाग्न प्रेरित गरे । १२ औँ गणतन्त्र दिवसको अवसरमा पराजुलीसँग साप्ताहिकका लागि कृष्ण आचार्यले कुराकानी गरेका छन्ः
आज गणतन्त्र दिवस । यसलाई कसरी लिनुहुन्छ ?
गणतन्त्र मेरो जीवन र देशकै ठूलो उपलब्धी हो । यसैका लागि हामीले देश र जनताको पक्षमा सडक–संघर्ष गरेका थियौँ, जेल–नेल भोगेका थियौँ । रगत, पसिना र बलिदानले प्राप्त उपलब्धीलाई सबैले एक उत्सवको रूपमा मनाउनुपर्छ ।
एकातर्फ, कोरोना महामारी छ । अर्कातर्फ, सरकारले गणतन्त्र दिवसमा ३ दिनसम्म दीपावली गर्ने भनेको छ । कतिको सान्दर्भिक लाग्छ ?
कोरोना संक्रमणको डरभन्दा गणतन्त्र दिवस ठूलो कुरा हो । कोरोनाले केही मानिस मृत्यु हुन सक्छ, जुन अरू रोगबाट पनि हुने सम्भावना हुन्छ नै । तर, गणतन्त्र नआएको भए देशमा हजारौं मानिस मर्ने थिए । त्यसैले हामीले यी दुईलाई एक–अर्कासँग अन्तरसम्बन्धित गरेर दाँज्नु नै गलत छ ।
जनआन्दोलनमा कवि–साहित्यकार निकै सक्रिय देखिएका थिए है ?
आन्दोलनमा दलहरूलाई मानिसले विश्वास नगर्दा, दलहरूले बोलाउँदा जनता नआउँदा कवि, कलाकार र साहित्यकारले महत्वपूर्ण भूमिका खेलेका हुन् भन्ने मलाई लाग्छ । उनीहरूले अगुवाई गरेर त्यतिबेला हजारौँ जनता सडकमा उतारेका थिए । लोकतन्त्र र शान्तिका लागि भएको नागरिक आन्दोलनको मञ्चमा साहित्यको योगदानले जनतालाई तताउने काम गरेको थियो । हामीले आफैँ भन्नु भन्दा पनि हाम्रो भूमिकालाई अरूले कसरी मूल्यांकन गरेका छन् भन्ने कुरा महत्वपूर्ण होजस्तो लाग्छ ।
त्यो बेला जनताको रगत उमाल्ने कविता लेख्ने जोश, जाँगर र ऊर्जा कसरी प्राप्त हुन्थ्यो ?
ज्यान नै माया मारेर हिँडिएको थियो, त्यसैको शक्ति थियो कि ! अर्को कुरा, कसैले कसैलाई अन्याय–अत्याचार गरेको, पीडा दिएको सहन नसक्ने स्वभावका कारण भित्रैदेखिको भावना ज्वाला बनेर आएको थियो । त्यतिबेला मात्र होइन, अहिले पनि उत्तिकै जोश, जाँगर र ऊर्जा छ ।
आन्दोलनमा होमिँदा आशा र अपेक्षाचाहिँ कस्ता थिए ?
त्यतिबेला क–कसले के–के सोच्नुभयो त्यो त थाहा भएन । तर, मैले भने धेरै कुरा सोचेको थिइनँ । जबसम्म हामीसँग घडेरी हुँदैन नि, तबसम्म कस्तो घर बनाउने भन्ने कल्पना गर्न सकिँदैन । त्यतिबेला नेपालीसँग राजनीतिक रूपमा एउटा घडेरीसमेत नभएको अवस्थाजस्तो थियो । घडेरी नभएकाले जसरी पहिला घडेरी जोड्न पाए हुन्थ्यो भन्ने इच्छा राख्छ, त्यसरी नै मेरो पनि गणतन्त्र ल्याउने इच्छा थियो । र, त्यो इच्छा पूरा पनि भयो ।
तपाईंको इच्छाअनुसार घडेरी प्राप्त भयो । अनि घडेरी कसैलाई जिम्मा पनि दिनुभयो । घडेरीमा सोचेजस्तो घर बन्यो त ?
घडेरी जिम्मा दिएको होइन, घर बनाउने ठेक्कामात्र दिएको हो । तर, ठेकेदारले राम्रो काम गरेन । प्राविधिकरूपमा सोचेजस्तो राम्रो घर बनेन । हामी त्यो घर भत्काएर नयाँ घर बनाउन पनि सक्छौँ । घडेरीको लालपुर्जा हामीसँग भएकाले घडेरीमा कसैले कब्जा जमाउन सक्दैन । सबैलाई हेक्का होस्, हामीले कसैसँग हात फिँजाएर पाएको घडेरी होइन यो ।
जनआन्दोलनका उपलब्धीबाट सन्तुष्ट हुनुहुन्छ ?
सैद्धान्तिकरूपमा कुरा गर्ने हो भने उपलब्धीहरू सन्तोषजनक छन् । हामीले सोचेजस्तै भएको छ । तर, व्यवहारिकरूपमा भने उपलब्धी हुन सकेको छैन । यो सबैका लागि दुःखद कुरा हो ।
के कारणले व्यवहारिक उपलब्धी हासिल हुन सकेन ? कि अर्को आन्दोलन गर्नुपर्ने अवस्था हो ?
घडेरी जिम्मा लिएकाले राम्रो घर बनाउन सकेनन् अर्थात नेताहरू जनताप्रति उत्तरदायी हुन सकेनन् । र, जहाँसम्म आन्दोलनको कुरा छ अब फेरि नेपालको इतिहासमा त्यस्तै आन्दोलन हुन्छजस्तो मलाई लाग्दैन । स्वाधीनता रक्षाका लागि भने आन्दोलन हुन सक्छ ।
हिजोका दिनमा कविताले शासकको कुर्सी हल्लाउने सामथ्र्य राख्थ्यो । आजको कवितामा पनि त्यो शक्ति कायम छ या ह्रास भयो ?
दुई सय वर्षदेखि जरो गाडेर बसेको पीपलको रुख (राजतन्त्र)लाई जुरुक्क उखेल्ने शक्ति कवितामा देखियो भने अहिले भर्खरै उम्रदै गरेका दुई पाते विरुवालाई उखेल्न कुनै गाह्रो छैन । कविताको शक्तिमा हिजो र आजमा कुनै ह्रास आएको छैन । त्यो झन् सशक्त बन्दै गएको छ । यो कुरा सत्ताले पनि महसुस गरेको छ ।
अहिले केही मान्छेले पुरानै व्यवस्था नै ठीक थियोसम्म भन्न थालेका छन् । यसलाई कसरी हेरिरहनु भएको छ ?
सत्तामा बस्नेहरूले नचाहिँदो गरे भन्दैमा गणतन्त्र नै ठीक छैन, पुरानो व्यवस्था नै ठीक हो भन्ने कुरा सरासर गलत छ । यो षड्यन्त्रकारी तत्वले फैलाएको भ्रममात्र हो । र, यो कहिल्यै सम्भव हुन पनि सक्दैन । गणतान्त्रिक व्यवस्था विश्व परिप्रेक्ष्यमै सबैभन्दा जनपक्षीय व्यवस्था हो । त्यसकारण अब हामी सत्ता चलाउनेलाई हटाउन सक्छौँ, फेर्न सक्छौँ । तर, व्यवस्थालाई फेर्न वा हटाउन सक्दैनौँ । सत्ता गलत मानिसको हातमा पर्नुमा हाम्रो पनि योगदान छ । हामीले पनि सत्तामा मानिसहरू छानेर पठाउनुपर्यो । रोप्ने बेला करेला रोप्ने अनि खाने बेला तीतो भयो भनेर हुँदैन । त्यसैले करेलो तीतो फल्यो भन्दैमा जमिन बेच्ने कुरा नगरौँ । बरू, त्यसमा आफूलाई मनपर्ने विरुवा रोपौँ ।