जनताले हाम्रो घरमा आऊ, खाऊ अनि हाम्रो कुरा सुन भनेका त हुन् । तर यहाँ जनताका दु:ख सुनिदिने कुनै नेता भेटिएनन् । जनताले कसैलाई भन्न नपाउने र सुनिदिने कोही नभएका कारण यो देश बिग्रिएको हो ।
२०६२/०६३ को जनआन्दोलनताका सडकमा खुबै सुनिएको नाम हो– रुबिन गन्धर्व । उनका राजतन्त्रविरोधी गीत र सारंगीको धुन निकै चर्चामा थियो । उनी संलग्न आन्दोलनको बलमा देशमा गणतन्त्र आएको १४ वर्ष भइसकेको छ । यसै सन्दर्भमा साप्ताहिककर्मी महेश तिमल्सिनाले उनीसँग गरेको कुराकानी :
आन्दोलनलाई कसरी सम्झनुहुन्छ ?
म ठमेलका सडकमा, कलेजका छेउछाउमा गीत गाउँदै हिँड्थें । त्यहिबेला अखिलका नेता सुदेश पराजुलीसँग चिनजान भयो । उहाँले आन्दोलनमा जाउँ भन्नुभयो । त्यतिबेला राजनीति के हो भन्ने मलाई पत्तो थिएन । लहैलहैमा आन्दोलनमा होमिएँ । त्यसपछि त निरन्तर आन्दोलनमा सरिक भएँ ।
आन्दोलनमा सामेल हुँदै गर्दा हामीले महान सपना देखेका थियौं । हामीलाई नयाँ नेपाल बन्छ, जनताको शासन आउँछ, धर्म निरपेक्षता हुन्छ भन्ने सपना देखाइएको थियो । ती केही पूरा भएका छन् तर धेरै पूरा हुन बाँकी छ । गणतन्त्र आएपछि जति प्रगति हुनुपर्ने हो, त्यो भएको छैन । यति हो कि गणतन्त्र आएपछि बोल्न नजान्ने मानिसहरू बोल्न जान्ने भएका छन् ।
निकै गीत गाउनुहुन्थ्यो है ?
‘कखगघ पढ्न जाउँ त, मेरो ढंग छैन,
कखगघ नपढ्नेले जागिर पाउनी भैन,
यसै मर्नी उसै मर्नी, मर्न के को गाह्रो,
यही रिसले सामन्तीलाई हान्नु पर्छ तारो
सुन दाजुभाइ,
गरिबको छालामा शोषकको दाइँ ।’
टुँडिखेलमा मैले यो गीत गाउँदा त्यहाँ १ लाखभन्दा बढी र बुटवलमा २ लाखभन्दा बढी दर्शक हुनुहुन्थ्यो । त्यहीबेला तत्कालीन युवराज पारस शाहमाथि ढुंगा प्रहार भयो, त्यसपछि मलाई सेनाले खोज्न थाल्यो । यहीक्रममा म गिरिजाबाबु (तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला)सँगै सात दलले गरेको आमसभाका लागि पोखरा गएका थिएँ । पोखरामा गिरिजाबाबुसँगै एउटा होटलमा बसेको थिएँ । त्यहिबेलामा मलाई सेनाले गिरफ्तार गर्न आँटेको गिरिजाबाबुले सुईंको पाउनुभएछ । त्यसपछि उहाँले मलाई रातारात पोखराबाट भगाएर पाल्पा पुर्याउनुभयो । मेरो लागि त्यो क्षण ऐतिहासिक हो । त्यसलाई त कसरी वर्णन गर्न सकिन्छ र ? मैले गाेंगबु र कलंकीका सडकमा जनताका गीत गाउँदा कति मेरै आँखा अघि प्रहरीको गोली लागेर अंगभंग भए । जुनबेला म १३ वर्षको थिएँ । प्रहरीको कुटाइले कयौंपटक म आफैं पनि घाइते भएको थिएँ ।
त्यसबेला गाएका कति गीत सम्झनुहुन्छ ?
‘दाइ नि माऱ्यौ, भाउजू नि माऱ्यौ,
फोकट्मा राजगद्दी हात पाऱ्यौ,
माइला नानी, रै’छौ बेमानी’
‘यसको जवाफ पत्थरले दिनेछौं,
यो घटनाको बदला लिनेछौं’
‘सुन दाजुभाइ, गरिबको छालामा शोषकको दाइँ’लगायतका गीत मैले त्यसबेला धेरै गाएँ । अहिलेको जस्तो युट्युबको जमाना थिएन, रेकर्ड पनि भएन । त्यसैले कतिपय सिर्जना बिर्सिएँ ।
आन्दोलनका बेला कुन—कुन नेताले चिन्थे ?
सुरुसुरुमा रातोघरमा जनताका गीत गाउँथे । त्यति नै बेला तत्कालिन विद्यार्थी नेताहरू खिमलाल भट्टराई, रामकुमारी झाँक्री, गगन थापा, टीकाध्वज खड्कालगायतसँग चिनजान भयो । तत्कालीन नेताहरू अधिकांशले मलाई चिन्थे ।
अहिले उनीहरूसँगको सम्बन्ध कस्तो छ ?
केपी ओली, शेरबहादुर देउवा, गगन थापा, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, विष्णु पौडेल, वामदेव गौतम, बाबुराम भट्टराईलगायतका सबै नेताहरूसँग सम्बन्ध राम्रो छ । केपी ओली, विष्णु पौडेल र वामदेव गौतमले त मलाई बेलाबेलामा घरमै बोलाएर के/कसो छ भनेर सोध्ने, खाना खुवाउने गर्नुहुन्छ । शेरबहादुर देउवाले पनि चिन्न त चिन्नुहुन्छ तर उहाँ आफ्नै पाराको मान्छे हुनुहुन्छ । कसैको मतलव नराख्ने, आज भेटेको मान्छे भोलि नचिन्ने उहाँको स्वभाव छ । रामचन्द्र दाइ त तनहुँकै भएकाले उहाँसँग राम्रो सम्बन्ध छ । गगन दाइलाई मैले जतिबेला फोन गरे पनि उठाउनुहुन्छ । साथै रामकुमारी झाँक्री, चन्द्र भण्डारी, गुरु बराललगायतका नेताहरूले पनि सम्झिरहनुहुन्छ ।
त्यतिबेला गीत गाएको सम्झना कतिको आउँछ ?
त्यतिबेला मभन्दा सिनियर जेबी टुहुरे, जीवन शर्मा दाइहरू हुनुहुन्थ्यो । तैपनि मैले गीत गाउँदा ‘वान्स मोर’ आउँथ्यो । मेरा गीत सुनेर दर्शकहरू झण्डा फ्याँक्दै, लगाएका कपडा फुकाल्दै उफ्रन्थे । अहिलेका सचिव, मुख्य सचिव, पूर्व सचिवहरू मेरो गीत सुन्न टुँडिखेल आउनुहुन्थ्यो रे । मैले गीत गाउने भनेपछि यत्रतत्र भएका मान्छेहरू पनि जम्मा हुन्थे । गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल मैले गीत गाइसकेपछि मात्र भाषण गर्न जानुहुन्थ्यो । मैले त्यतिबेलाका राजनीतिक दलले आयोजना गरेका थुप्रै आमसभामा गीत गाएँ । त्यहिबेला तत्कालिन नेकपा एमालेले बुटवलमा गरेको आमसभा कहिल्यै भुल्दिनँ । त्यो सभामा २ लाख हाराहारीमा मान्छे थिए होलान् ।
तपाईंले गणतन्त्र भनेको बुझ्नुभएको थियो ?
त्यतिबेला मेरो बुझाइ सामान्य थियो । गिरिजाबाबु प्रधानमन्त्री भएपछि मलाई पढ्ने व्यवस्था मिलाइदिनुभयो । एसएलसी पास गरेपछि होस्टेलमा बस्दा विभिन्न पुस्तक पढेँ । अनिमात्र गणतन्त्र, निरकुंशतन्त्र, राजतन्त्र, सामन्ती शासन भनेको यो हो भन्ने बुझेँ ।
अहिलेको गणतन्त्र कस्तो लागिरहेको छ ?
समग्रमा व्यवस्था राम्रो हो । तर, कर्मचारीतन्त्रबाट गणतन्त्रलाई धरापमा पारिएको छ । जनतामा गणतन्त्रप्रति अपनत्व नहुनुको मुख्य कारण नै कर्मचारीतन्त्रबाट सही प्रणालीबाट काम नहुनु हो । कुनै काम समयमा नहुँदा जनताले दु:ख पाइरहेका छन् । त्यसैले जबसम्म कर्मचारीतन्त्रले गणतन्त्रलाई स्वीकार्दैन, तबसम्म जनताले गणतन्त्रको अनुभूति गर्न पाउँदैनन् । साथै राजनीतिमा लागेका नेताहरू पनि सुध्रिनुपर्छ ।
आन्दोलनपछिका सकारात्मक र नकारात्मक पक्ष के–के लाग्छ ?
बोल्न नसक्ने अथवा नजान्ने मान्छेहरू बोल्न सक्ने भए । देश संघीयतामा गयो, स्थानीय तह बने । यी सकारात्मक पक्ष हुन् । तर व्यक्तिगत रूपमा लाभ लिएर जनतालाई दु:ख दिने प्रवृत्ति नहट्नु, भष्ट्राचार बढ्नुचाहिँ नकारात्मक पक्ष हुन् ।
त्यसबेला गणतन्त्रका लागि लडेका कतिपय मानिसमा अहिले त्यसैप्रति वितृष्णा देखिन थालेको छ, यसको परिणाम के होला ?
नेताहरूले माथिल्लो तहमा पुगेपछि आफ्नो धरातल बिर्सिनाले यो अवस्था आएको हो । जनताले हाम्रो घरमा आऊ, खाऊ अनि हाम्रो कुरा सुन भनेका त हुन् । तर यहाँ जनताका दु:ख सुनिदिने कुनै नेता भेटिएनन् । जनताले कसैलाई भन्न नपाउने र सुनिदिने कोही नभएका कारण यो देश बिग्रिएको हो । अब पनि यस्तै अवस्था रहिरह्यो भने गणतन्त्र धरापमा पर्न सक्छ ।