कोरोना भाइरस संक्रमणको भयावह अवस्था निम्तिनुमा प्रकृति–पर्यावरणको विनाश नै मलाई मुख्य कारण हो । हामी मानिस सचेत बनेर प्रकृति–पर्यावरणको दोहनलाई तत्काल रोक्नुपर्छ ।
नेपाली साहित्यका प्रभावशाली व्यक्तित्व अविनाश श्रेष्ठले कविता, नाटक, कथा, नाटक र टेलिशृङ्खलामा कलम चलाएका छन् । कथामा ‘तान्या, इन्द्रकमल र अन्धकार’, नाटकमा ‘अश्वत्थामा हतो हत:’ र टेलिशृङ्खला ‘कालीगण्डकीको सेरोफेरो’ उनका ‘सिग्नेचर’ कृति हुन् । ‘समकालीन साहित्य’, ‘कविता’, ‘गरिमा’जस्ता साहित्यिक पत्रिकामार्फत उनको कुशल सम्पादकको पहिचान त छँदैछ । उनीसँग साप्ताहिकका लागि समर्पण श्रीले कुराकानी:
लकडाउनमा के गर्दै हुनुहुन्छ ?
किनेर थुपारी राखेका पुस्तकहरू पढ्दै, केही महत्वपूर्ण फिल्म हेर्दै, दैनिक रूपमा थोरै भए पनि केही लेख्दै, टिपोट गर्दै अनि आत्मीय मित्रहरूसित टेलिफोनमा लामा–लामा वार्तालाप गर्दै बितिरहेको छ समय । तर भित्र कतै सधैं बोध भइरहन्छ– यो सामान्य समय भने होइन । त्यसैले समयको यस असामान्यतालाई सामान्य ढङ्गले जिउने प्रयास गरिरहेको छु ।
यसअघि कहिल्यै यति लामो समय घरभित्रै गुजार्नुपरेको थियो ?
सन् १९८२मा असमको गुवाहाटी छँदा असमीयाहरूको विदेशी लखेट्ने आन्दोलनले उग्र रूप लिएपछि सरकारले कर्फ्यु लगाएको थियो । स्थिति नसम्हालिएपछि सेनालाई सडकमा उतारेको थियो । त्यतिबेला लगभग २८ दिनसम्म घरमै थुनिनुपरेको थियो । सडक र गल्लीमा समेत निस्कन नपाइने कठोर मिलिटरी निगरानी, धरपकड, यातना र दमनका ती विरसीला एकान्तबासका दिनहरू मैले कहिल्यै बिर्सनसक्ने छैन ।
त्यतिबेला दिन कसरी बिताउनुभयो त ?
त्यतिबेला न मोबाइल फोन थियो न आजजस्तो टिभी नेटवर्क । पुस्तक पढ्नु नै एक्लो उपाय थियो समय कटाउने । ती दिनहरूमा धेरै पढियो । कविता र नाटक लेख्ने र कथाका नोट बनाउने काम गरेको सम्झन्छु ।
कोरोना संक्रमणको यो भयावह स्थितिमा कवि/लेखकहरू कस्तो मानसिकताबाट गुज्रिरहेका छन् ?
मेरो सम्पर्कमा रहेका मेरा अग्रज, मित्र र अनुज पुस्ताका लेखक, कलाकार र पत्रकारहरूलाई मैले सधैंझैं सामान्य नै पाएको छु । कसैको पनि मनोबल खस्किएको वा डराएको अवस्थामा रहेको मलाई बोध भएको छैन । सबैलाई लागेको कुरो लगभग एउटै छ– यो विपत्ती मलाई, मेरो परिवार वा मेरो मुलुकलाई मात्र नभई सम्पूर्ण विश्व–मानवतामाथि आइलागेको यथार्थ हो । सबैले सामूहिक रूपमा यसको सामना गर्नु नै समयधर्म हो ।
कवि लेखक अझै सिर्जनात्मक हुने समय हो यो ?
हो, समयको सदुपयोग गर्न जान्नेहरूका लागि यो अवधि स्वर्णकाल बन्न पनि सक्छ । नतिजा भविष्यले देखाउला नै ।
यो समय लेखकको भूमिका र कर्तव्यचाहिँ के हुनसक्छ ?
सडकमा निस्केर वा सभा/समारोहमार्फत् सन्देश दिन सकिने समय यो हुँदै होइन । आफू र आफ्नो घरपरिवारको अस्तित्व जोगाउने चिन्तामै सबैको ध्यान केन्द्रित भइरहेको यो समयमा लेखक/साहित्यकारले निर्वाह गर्नुपर्ने पनि आपदधर्म नै हो । अझ पनि हामी सबै अनिश्चय र धरमरमै छौ । कोरोना भाइरस संक्रमणले निम्त्याएको विश्वव्यापी सङ्कट कति लम्बिने हो ? अगाडि आउने दिनहरू यी चलिरहेका दिनहरूभन्दा अझ भयावह हुने त होइनन् भन्ने अड्कलबाजीले सामान्य मानिसलाई त्रस्त बनाइरहेको बेला लेखक/साहित्यकारले उनीहरूलाई भयमुक्त गर्ने किसिमका लेख–रचना लेखेर प्रचारप्रसार गर्नसके राम्रो हुनेछ ।
यो बेला कस्तो पुस्तक पढ्दा उचित होला ?
सबैले आ–आफ्नो रुचि क्षेत्रअनुसारका पुस्तक पढ्ने हो । यस्तो आपद्कालमा यो वा त्यो पुस्तक पढ्नोस् भनेर सुझाउनुको कुनै अर्थ हुन्छजस्तो मलाई लाग्दैन ।
केही समयअघि विजय मल्लका नयाँ कथा र लघु उपन्यास संग्रहित पुस्तक ‘मान्छेको नाच’ तपाईंको सम्पादनमा प्रकाशन भयो । ती कथा लेख्न तपाईंको सहयोग रहेको कुरा पनि लेख्नुभएको छ । कस्तो सहयोग गर्नुभएको थियो ?
विजय मल्लका पहिले प्रकाशित भइसकेका दुई कथासंग्रह ‘एक बाटो अनेक मोड’ र ‘परेवा र कैदी’ मा नपरेका कथाहरू साथै एउटा लघु उपन्यासलाई समेटेर मैले उहाँको यो नयाँ कथासंग्रह ‘मान्छेको नाच’ पाठकसमक्ष ल्याएको हुँ । स्वनामधन्य लेखक विजय मल्ल जीवित छँदै यस संग्रहको सम्पादन/प्रकाशनको योजना बनेको थियो तापनि विभिन्न कारणले पाठकको हातमा पुस्तक आइपुग्न ढिलो भयो । यस पुस्तकको अन्तरकथा वा गर्भकथाबारे मैले जे जति भन्नु थियो त्यो पुस्तकको भूमिकामा विस्तारपूर्वक भनिसकेको छु ।
संग्रहका केही कथामा कतै सम्पादक अविनाश श्रेष्ठ नै हाबी भएको हो कि पनि भन्छन् नि ?
यो व्यर्थको अड्कलबाजी र बुद्धिविलास मात्र हो । विजय मल्लजस्ता यशस्वी लेखकका केही कथाको सिर्जन–प्रक्रियाको साक्षी बन्न पाउनुलाई नै मैले गर्वको कुरो ठानेको छु । उहाँजस्ता सिद्धहस्त सर्जकका रचनामा म हाबी हुने कुरै आउँदैन । उहाँ जीवित छँदै उहाँकै उपस्थितिमै भए गरेको काम अहिले पाठकसमक्ष ल्याइदिने काममात्र गरेको हुँ । यसको श्रेय दिन मनलागे मलाई दिए हुन्छ । नगरेको कामको यश मलाई चाहिंदैन ।
तपाईं साहित्यिक पत्रिकाको सम्पादक, अनि लेखक पनि । सम्पादक र लेखक व्यक्तित्वबीच के–के फरक छ ?
साहित्यिक पत्रिकाको सम्पादक हुनु र साहित्य–सर्जक हुनु नितान्त फरक–फरक कुरा हुन् भन्ने मलाई लाग्छ । हो, एउटा साहित्यिक पत्रिकाको कुशल सम्पादक बन्न साहित्यको गम्भीर अध्येता मात्र भएर पुग्दैन, प्रचलित प्रविधिको सदुपयोगको जानकारी र रचनाचयनको ज्ञान पनि व्यक्तिमा हुनु जरुरी भइदिन्छ । साहित्यका बारेमा जानकार स्रष्टालाई साहित्यिक पत्रिकाको सम्पादन गर्न भने केही सजिलो हुनेरहेछ भन्ने मेरो निजी अनुभव रहेको छ ।
अन्त्यमा, अहिलेको संकटले दिएको सन्देश के होला ?
कोरोना भाइरस संक्रमणको भयावह अवस्था निम्तिनुमा प्रकृति–पर्यावरणको विनाश नै मलाई मुख्य कारण हो भन्ने लागेको छ । हामी मानिस सचेत बनेर प्रकृति–पर्यावरणको दोहनलाई तत्काल रोक्नुपर्छ । क्षणिक र व्यक्तिगत लाभका लागि नदी–खोलाको दोहन, वनजङ्गल विनाश, पशुपक्षी–कीटपतङ्गको जीवनचक्रलाई विनष्ट गर्ने मूर्खतापूर्ण कार्यलाई तत्काल रोकेर प्राकृतिक सन्तुलनका निम्ति भूमिका खेल्न नसक्ने हो भने भविष्यमा मान्छेको प्रजाति नै सखाप हुनसक्ने खतरा देखिएको गम्भीर सङ्केत हो यो । यसलाई आत्मसात गरेर नयाँ वैश्विक चेतनासहित अगाडि बढ्न सकेमात्र मानव मात्रको कल्याण हुन सक्छ भन्ने बुझ्न जरुरी छ सबैले ।