निमोनियाँ जाडोमा मात्र हुन्छ भन्ने भ्रम धेरैमा छ । गर्मी तथा जाडो दुवै मौसममा निमोनियाँ उत्तिकै देखा पर्छ । बालबालिकालाई हुने यो रोगमा ज्वरो आउने, कोखा हान्ने, खोकी लाग्ने, छिटो–छिटो सास फेर्ने जस्ता लक्षण देखिन्छन् ।
जाडोमा तापमान घट्ने भएकाले धेरै मानिसमा रुघाखोकी लाग्ने तथा घाँटी खसखस हुने समस्या देखिन्छ । भाइरल तथा चिसोका कारण यतिबेला धेरैलाई यस्तो समस्या हुने गर्छ । उचित रेखदेख गरी न्यानो बस्ने तथा ताता खानेकुरा खाने गरे रुघाखोकी आफैं निको हुन्छ भने कतिपय अवस्थामा औषधी नै सेवन पनि गर्नुपर्ने हुन्छ । यसका साथै जाडो मौसममा मुटुरोग, दम, निमोनियाँ, हाडजोर्नीलगायतका रोगले पनि बढी नै दु:ख दिने गरेको छ ।
धेरै चर्को घाम (११ बजेदेखि ३ बजेसम्म) मा बस्नु हुँदैन । घामको सम्पर्कमा आउनुअघि सन स्किन क्रिम लगाउनुपर्छ ।
नियमित रूपमा मनतातो पानीले नुहाउनुपर्छ ।
शरीरमा देखिने सुक्खापन कम गर्न मोस्चराइजर साबुनको प्रयोग गर्नुपर्छ । नुहाउनासाथ नरम रुमालले पुछेर मोस्चराइजर लगाउनुपर्छ । आफ्नो रुमाल अरूसँग सेयर गर्नु हुँदैन ।
एसी हिटरबाट हुने सुक्खापन कम गर्न ह्युमिडिटी फायर राख्नुपर्छ ।
अनुहारमा नन ड्राइङ फेस वासको प्रयोग गर्नुपर्छ ।
फङ्सको संक्रमण हुन नदिन भित्र सुतीका पहिरन लगाउनुपर्छ । यसल पसिना सोस्नुका साथै शरीरमा शीतलता प्रदान गर्छ । भित्री पहिरन नियमित परिवर्तन गर्नुपर्छ ।
चिल ब्लेनबाट बच्न हिटर ताप्नु हुँदैन । चिसो चलाउनुपरेमा पन्जाको प्रयोग गर्नुपर्छ ।
सन्तुलित स्वस्थ खाना खानुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
खानपान
शरीर स्वस्थ रहन खानेकुराको महत्त्वपूर्ण भूमिका हुने भएकाले मौसम परिवर्तनसँगै उचित खाद्यवस्तु छनोट गर्नुपर्छ । जाडो मौसममा बाहिरी तापक्रम कम हुने भएकाले शरीरलाई चिसो महसुस गर्न नदिन पोषण तत्त्वयुक्त खानेकुरा खानु प्रभावकारी हुने डाइटिसियन विपिन कार्की बताउँछन् । कार्कीका अनुसार जाडोमा खाना बढी रुच्ने भएकाले उपयुक्त क्यालोरी खपत हुने किसिमका खानेकुरा खानुपर्छ । शरीरले बढी क्यालोरी खपत गरेको खण्डमा मोटोपनाको समस्या पनि निम्तन सक्छ । त्यसैले यो मौसममा कम क्यालोरी भएका खानेकुरा थोरै तर पटक–पटक खाइरहनुपर्छ ।
जाडो मौसममा घाममा बसेर सुन्तला, अनार, भोगटेजस्ता भिटामिन सीयुक्त फलफूल खान सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै छालालाई चम्किलो बनाउने, रेटिनाको कार्यक्षमता समेत बढाउँछ । साइट्रस फलफूलको सेवनले खराब कोलेस्टेरोल कम गराई रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
जाडो मौसममा मेथी, पालक, तोरीेको साग, ब्रोकाउली तथा धनियाँ खानु लाभदायक हुन्छ । भिटामिन ए तथा केयुक्त हरिया सागपात खाँदा शरीरमा फाइदा पुग्छ ।
जाडोमा शरीरलाई न्यानो बनाउन गेडागुडी, मसरुम तथा चिकेन सुप पनि सेवन गर्न सकिन्छ । तातो सुप तथा झोलिला खानेकुराले शरीरको तापक्रम सामान्य बनाउँछ ।
ज्वानोको रस, अदुवाको चिया, बेसार, दालचिनी, मह र ल्वाङ मनतातो पानीमा दैनिक बिहानी अथवा बेलुकीपख जाडोयाममा प्रयोग गर्दा टन्सिल, रुघा, फ्लू, ज्वरो, निमोनियाँजस्ता जटिलताबाट छुट्कारा पाउन सकिन्छ ।
हाडजोर्नीका बिरामीले क्याल्सियमयुक्त खानेकुरा दूध, चिज, साल्मोन, प्राउन, अन्डा खानु उपयुक्त हुन्छ ।
बालबालिकालाई चिसोबाट कसरी बचाउने ?
त्रि.वि. शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा. सुरभी अर्यालका अनुसार मौसम परिवर्तन हुँदा रोग प्रतिरोधात्मक क्षमता घट्ने हुनाले बालबालिकालाई रोगले छिटो संक्रमण गर्छ ।
रुघाखोकी : जाडोका बेला नाक बन्द हुने, खोकी लाग्ने, टन्सिल पाक्ने र हल्का ज्वरो आउने समस्या धेरै देखिन्छ । यो सबै उमेरका बालबालिकालाई हुन सक्छ । यसबाट बच्न बालबालिकालाई रुघाखोकी लागेको मानिसको नजिक जान दिनु हुँदैन, मास्क लगाउनुपर्छ र हात राम्रोसँग धुनुपर्छ । रुघा खोकी लाग्दा झोल पदार्थ धेरै सेवन गर्नुपर्छ ।
ब्रोन्काइटिस : आरएसभी भाइरसले गराउने ब्रोन्काइटिस हावाबाट सर्ने रोग हो । दुई वर्षमुनिका बालबालिकालाई लाग्ने यो रोगमा खोकी लाग्ने, स्वाँस्वाँ हुने, घ्यार–घ्यार आवाज आउने र हल्का ज्वरोसमेत आउने हुन्छ । यसबाट बच्नका लागि रुघाखोकी लागेको मानिसबाट टाढै बस्नुपर्छ । बच्चालाई सास फेर्न अप्ठ्यारो भएमा चिकित्सककहाँ लैजानुपर्छ ।
इन्फ्लुएन्जा : सामान्य भाषामा फ्लु भनिने यो रोग भाइरल हो । यसमा कडा रुघाखोकी लाग्ने, धेरै ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने गर्छ । यो रोग एउटाबाट अर्कोमा सजिलै सर्छ । यसबाट बच्नका लागि वर्षको एकपटक इन्फ्लुएन्जा खोप लगाउनुपर्छ ।
झाडाबान्ता : विशेष गरी जाडो महिनामा भाइरल झाडाबान्ता हुन्छ । रोटा भाइरसले गराउने यो रोग एक वर्षमुनिका बालबालिकामा देखा पर्छ । सुरुमा बान्ता आएपछि दिसा लाग्नु यसको लक्षण हो । साना बच्चालाई दिसा रोक्ने औषधी दिन नहुने भएकाले जीवनजल खुवाउनु उपयुक्त हुन्छ । सरकारले यसबाट बच्ने खोप छिट्टै राष्ट्रिय खोप तालिकामा समावेश गर्दैछ ।
दम : पहिले नै दम भएका बालबालिकालाई जाडोमा दम अझ बढ्न सक्छ । त्यसैले दम बढेका बेला लिने औषधी सधैं साथमा राख्नुपर्छ ।
निमोनियाँ : निमोनियाँ जाडोमा मात्र हुन्छ भन्ने भ्रम धेरैमा छ । गर्मी तथा जाडो दुवै मौसममा निमोनियाँ उत्तिकै देखा पर्छ । बालबालिकालाई हुने यो रोगमा ज्वरो आउने, कोखा हान्ने, खोकी लाग्ने, छिटो–छिटो सास फेर्ने जस्ता लक्षण देखिन्छन् । बच्चाको कोखा हानेमा या नीलो भएमा तुरुन्त अस्पताल लैजानुपर्छ । यसबाट बच्नका लागि निमोनियाँविरुद्धको खोप लगाउनुपर्छ ।
जोर्नीको पीडा
जाडो मौसममा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखा पर्छन् । यतिबेला वृद्धवृद्धा, हाडजोर्नी दुख्ने समस्याबाट पीडित हुने गर्छन् । बाथका रोगीलाई पनि बढी नै पीडा हुन्छ ।
बाथरोगीलाई बाथरोग विशेषज्ञ
डा. श्वेता नकर्मीको सुझाव
जाडोमा चिसोका कारण वायुमण्डलको प्रेसर कम हुने भएकाले जोर्नीभित्र पनि प्रेसर बढ्छ । यसले गर्दा जोर्नी बढी सुन्निने, दुख्ने तथा अररो हुने गर्छ । त्यसैगरी यतिबेला छालाको बाथको समस्या पनि बढ्न सक्छ । हात तथा खुट्टाका औंला चिसोमा पर्दा रंग परिर्वतन हुनुलाई ‘रेनड्स फेनोमिना’ भनिन्छ । यो जाडो महिनामा बढ्ने सम्भावना हुन्छ । जाडोमा धूम्रपानको सेवन बढेमा बाथ बढ्छ, किनकि धूम्रपानले जोर्नीबाट बाथ गराउने तत्त्व निकाल्छ ।
के खाने ?
युरिक एसिडका बाथ रोगीले बाहेक अन्यले धेरै खाना बार्नु पर्दैन । सबैले स्वस्थ रहन चिनी, नुन तथा चिल्लो कम भएको खानेकुरा खान सकिन्छ । क्याल्सियम तथा भिटामिन डी हड्डी तथा मांसपेशीका लागि अत्यन्त जरुरी कुरा भएकाले क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । दूध तथा दूधबाट बनेका परिकार, दाल, गेडागुडी, बदाम, तोफु पनि खान सकिन्छ । घामबाट भिटामिन डी प्राप्त हुन्छ । त्यसैले छालामा घाम पर्ने गरी हरेक दिन १५ मिनेट बस्नुपर्छ । साल्मोन, टुना, कलेजो, अन्डामा पनि भिटामिन डी केही मात्रामा पाइन्छ ।
युरिक एसिडका रोगीले रक्सी, बियर, वाइन, कलेजो, मिर्गौला, गिदी जस्ता खानेकुरा खानु हुँदैन । यसैगरी रातो मासु (खसी, राँगा, सुँगुर), नुन, चिनी, चिनी भएको पेय पदार्थ, सेल फिस, गंगटो, बट्टामा भएको जुस कम खानुपर्छ । जुनसुकै बाथरोगीले पनि धूम्रपान तथा मध्यपान सेवन गर्नु हुँदैन ।
छालाको समस्या
जाडो महिनामा बालाजुकी सविता पौडेलको हातखुट्टाका औंला सुन्निएर रातो हुन्छ । हातखुट्टाका औंला चिलाउँदा र रातो हुँदा उनलाई जाडो महिना नआए पनि हुन्थ्यो जस्तो लाग्छ । सविताको जस्तो समस्या धेरैलाई पर्न सक्छ । हातखुट्टाका औंला सुन्निने तथा चिलाउने समस्यालाई ‘चिल ब्लेन’ भनिन्छ ।
डर्मापर्फेक्ट स्किन लेजर एन्ड प्लास्टिक सर्जरी सेन्टरकी डर्मेटोलोजिस्ट अपर्णा शाहका अनुसार जाडो महिनामा एसी र हिटरमा लामो समय बस्दा छालाको चिल्लोपन कम हुन जान्छ । यसले गर्दा छाला सुख्खा हुन्छ, यसलाई ‘जिरोसिस’ भनिन्छ । यसैगरी छाला सुक्खा भएर चिलाउने, पोल्ने तथा कत्ला देखिने पनि गर्छ । यसलाई एक्जोटिक भनिन्छ । यसैगरी यो मौसममा छालाको साइड–साइडमा, छातीको बीच भागमा, गालामा रातो दाग, धब्बा देखा पर्छ, यसलाई सेबोरिक डम्र्याटाइटिस भनिन्छ । अनुहारमा चाया पोतोको समस्या पनि धेरै पाइने गरेको छ ।
जाडो भएर ऊनीका पहिरन धेरै लगाउने गर्दा पसिना आउँदा फङ्स संक्रमण पनि हुन सक्छ । जाडो मौसममा कम नुहाउँदा संक्रमण भई लुतो पनि देखा पर्न सक्छ । यस्ता लुतो खटिराजस्तो हुन्छ, खुट्टा तथा शरीरमा देखिन्छ । यो रातको समयमा धेरै चिलाउँछ । यसैगरी धेरैको हातमा पैसाजस्तो दाग पनि देखिन्छ । लुतो र दाद भने एकबाट अर्कोमा सर्न सक्छ । यतिबेला सबैलाई घाम प्यारो हुन्छ । चर्को घाममा बस्दा पनि एलर्जी हुन सक्छ । घामको एलर्जीका कारण अनुहार, घाँटी तथा छाती रातो हुने गर्छ, यसलाई फोटो डम्र्याटाइटिस भनिन्छ । जाडो मौसममा चिन्ता धेरै लिएमा, चुरोट, रक्सी धेरै सेवन गरेमा कत्ले रोग बढ्छ । यो वंशाणुगत रोग हो । घुँडा, कुहिना तथा अन्य ठाउँमा सेतो कत्लाजस्तो देखिन्छ । यो निकालेपछि रातो देखिन्छ । कतिपयको केशमा समेत यस्ता कत्ला देखा पर्छन् । जाडोमा धेरैलाई केशमा चायाको समस्या पनि धेरै नै देखा पर्छ ।
बालबालिका तथा वृद्धाका लागि खानपान
बालबालिका र वृद्धावस्थामा इन्फ्लुयन्जा रुघाखोकी तथा निमोनियाँ हुने सम्भावना भएकाले छाती तथा शरीर न्यानो पार्ने खानेकुरा खानु उपयुक्त हुन्छ । डाइटिसियन विपिन कार्कीका अनुसार अन्डामा पर्याप्त मात्रामा भिटामिन डी हुने भएकाले यसको सेवनले छातीको संक्रमण कम गर्छ । यतिबेला झोलिलो गेडागुडी, मासुको रस तथा मसरुमको सुप सेवन गर्नु प्रभावकारी हुन्छ । यसले शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन मद्दत पुर्याउँछ । बालबालिकाले उसिनेको अन्डा, चिकेन, मह तथा अदुवाको रस खाएमा शरीर न्यानो हुन्छ । वृद्धावस्थामा शरीर कमजोर हुने र जाडोमा प्रर्याप्त मात्रामा पोषण तत्त्व नपुग्दा जाडो महसुस हुन्छ । न्यानोपनका लागि मासु, अन्डा, सागसब्जी, सुन्तला, कागती, पुदिना, तुलसी पानी, ओखर, चना र केराउको रस सेवन गर्नु उपयोगी हुन्छ । तीलको लड्डु, तरुल राजमाको तरकारी खानाले शरीरमा कार्बोहाइड्रेट परिपूर्ति हुन्छ । यसका साथै मासु, अन्डा तोफु, ओखर तथा बदाम खानाले सम्पूर्ण पोषण तत्त्वको मात्रा सन्तुलित हुनुका साथै जाडो मौसममा शरीरलाई आवश्यक तापक्रम प्राप्त हुन्छ ।