साप्ताहिक संवाददाता
पाँच महिनायता अभिनेत्री बेनिशा हमाल मुम्बईमा थिइन्, फिल्म मेकिङ पढ्दै । एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा १५ महिनाको कोर्षका लागि भर्ना भएकी उनी कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते फ्लाइटबाट काठमाडौं आइपुगेकी थिइन् । १८ दिनदेखि उनी घरभित्रै छिन् । १४ दिन त घरभित्रै कडा क्वारेन्टाइनमा बसेको उनी बताउँछिन् ।
उनको क्वारेन्टाइन डायरी उनकै शब्दमा :
फिल्म मेकिङ पढ्ने पहिलेदेखिको सोख थियो । तर, फिल्मका कारण समय मिलेको थिएन । बल्ल समय मिलाएकी थिएँ र पाँच महिनादेखि पढाईमै व्यस्त थिएँ । फिल्ममै काम गरिरहँदा पनि मलाई धेरै सुक्ष्म कुराहरू थाहा नभएका रहेछन्, पढ्दै गर्दा यस्तो महसुस भइरहेको थियो ।
पढाईको मज्जा लिइरहेको बेला अचानक कोरोना भाइरस संकट भएर खडा भयो । जोखिम बढ्दै गएपछि एक दिन कलेजले अप्रिल–१५ सम्म कक्षा स्थगित भनेर मेल पठायो । नियमित जाने जिम हल पनि बन्द भयो । त्यसपछि, म मार्चको १८ तारिख अर्थात् चैत ५ गते नेपाल फर्किएँ ।
यता आउँदा भारतमा अहिलेको जस्तो गम्भीर परिस्थिति सिर्जना भइसकेको थिएन । त्यहाँ तीनजनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले त भनिरहनु परेन, अवस्था भयावह भइसक्यो ।
नेपालमा त परिस्थिति सामान्य नै थियो । म यहाँ फुपूसँग बस्ने गर्छु पेप्सीकोलामा । फुपू पूर्व सांसद पनि हो । उहाँको नाम टुकाभद्रा हमाल हो । निकै कडा हुनुहुन्छ । त्यसैले भारतबाट आएपछि १४ दिन मलाई कतै हिँड्न दिनुभएन । घरभित्रै कडा क्वारेन्टाइनमा बसियो ।
हुन त पूरै सचेतना अपनाएर म यहाँसम्म आइपुगेकी थिएँ । उता पनि सचेत नै भएर बसेकी थिएँ । त्यही पनि मनमा डर हुने रहेछ । एयरपोर्टमा फ्लाइटका कारण भाइरस सरिरहेको खबर सुनिरहेको थिएँ । फ्लाइटमा यात्रुहरूका लागि ट्वाइलेट पनि एउटै प्रयोग हुने हुनाले झन् बढी डर महसुस भयो । क्वारेन्टाइनमा बस्दा खोकी लाग्यो भने पनि कोरोना लाग्यो कि भन्ने डर हुन्थ्यो ।
म बाहिर निस्किरहने ‘आउटगोइङ’ मान्छे होइन । त्यसैले घरमै थुनिएर बसिरहनु पर्दा पनि खासै गाह्रो महसुसचाहिँ भएन । कलेजबाट स्क्रिप्ट र एडिटिङको काम दिइएको थियो । ती सबै आरामसँग गर्न भ्याएँ ।
त्यसपछिका अरू दिनहरूमा नेटफ्लिक्स साथी भइदियो, भइरहेकै छ । धेरै सिरिज, सिनेमाहरू हेरेँ, हेरिरहेकै छु । यो सेल्फ क्वारेन्टाइनले सुत्ने–उठ्ने बानीचाहिँ बिगारिदिँदो रहेछ ।
फालाफाल समय भएपछि अब के गर्ने भन्ने अन्यौल हुनु स्वाभाविक हो । जुन कहिलेकाहीँ मलाई पनि भयो, हुन्छ ।
यही कारण क्वारेन्टाइनमा बसेको ५ दिनपछि त मैले रुटिन नै बनाउन थालेँ– कतिखेर के गर्ने भनेर ।
बिहान उठेर सुरुमा ब्रेकफास्ट खाने । त्यसपछि सधैंझैं एक्सरसाइज । म जहाँ बस्छु, सधैं त्यो अपार्टमेन्टमुनि पार्किङमा गएर आधा घन्टाजति जगिङ गर्छु । त्यसपछि कोठाभित्रै ‘वेट लिफ्टिङ’ ।
बाँकी रहेको समय नेटफ्लिक्समा सिनेमा हेर्ने, पढ्ने, कलेजका लागि स्क्रिप्ट लेख्ने । मेरो क्वारेन्टाइन टाइम पनि यसरी नै बित्यो, अहिले लकडाउन लाइफ पनि यसैगरी बितिरहेको छ ।
भारतबाट फर्किएको १४ दिनसम्म त मनमा डर नै थियो । लकडाउन हुनुअघि साथीहरू भेटौँ भन्दा पनि म नै भेट्न डराएँ । किनकि मलाई थाहा थियो, मलाई लागे पनि अरुलाई लाग्न दिनु हुन्न । १४ दिनपछि मात्रै खतरामुक्त भएको अनुभव गर्दै मैले लामो सास फेरेको हुँ ।
अहिले लकडाउनपछि त बाहिर निस्किने कुरै छैन । फेरि म बस्ने एरियातिर सधैँ माइकिङ गर्दैै आइपुग्छन् । त्यसैले तरकारी किन्न जाँदा पनि अवस्था डरमर्दो छ ।
यद्यपि यो फुर्सदको समय मेरा लागि निकै उपयोगी भइरहेको छ । मलाई यो लकडाउनले गज्जबकै कुक बनाइदेलाजस्तो छ । हरेक दिन युट्युबमा नयाँ–नयाँ खानेकुराको रेसिपी हेरेर घरमा पकाएर खाइरहेको छु । अहिलेसम्म पास्ता, आलु पराठा, चिकेन रोल आदि आफैं पकाएर खाइसकें । अरू त मिठै भयो, आलु पराठाचाहिँ खासै भनेजस्तो हुन सकेन । अब आजचाहिँ मोःमो बनाएँ ।
फिल्मचाहिँ दैनिक कम्तीमा दुईवटा हेरौँ भन्ने छ । एकैदिन नेटफ्लिक्समा ‘मनी हायस्ट’को सिरिज हेरिभ्याएको थिएँ । एकदमै मनपर्याे । म त पाँचौ सिजन कहिले आउँछ भनेर कुरिरा’छु । अर्को मैले धेरैअघि देखि हेर्न चाहेको सिनेमा ‘जोजो र्रयाबिट’ पनि हेरेँ । साह्रै मनपर्याे । अरू धेरै हेरियो, साह्रै मनपरेकाहरूको नाम लिएको हुँ ।
सिनेमाबाहेक पुस्तक पनि पढिरहेकै छु । अहिले मिसेल ओबामाको अटो बायोग्राफी ‘बिकमिङ’ पढिरहेकी छु । उनको जीवनकथा पढ्दा बेग्लै प्रेरणा मिलिरहेको छ ।
खासमा यो लकडाउनले हाम्रो द्रुत गतिमा चलिरहेको जीवनमा गज्जबको ब्रेक मिलेको छ । त्यसैले यो हाम्रा लागि अवसर हो । यो सोच्ने बेला पनि हो । यसअघिका समयलाई हामीले कसरी बितायौं, के ग¥यौं, के गरेनौैं भन्ने समीक्षा गर्ने बेला पनि भयो । अनि, अब कोरोनापछिको जीवन या भविष्यलाई कसरी अघि बढाउने भन्ने उपयुक्त योजना बनाउने समय पनि यही हुनसक्छ भन्ने मलाई लाग्छ ।
अब, लकडाउन खुले पनि परिस्थिति राम्रो नभएसम्म पढ्नलाई मुम्बई गइँदैन होला । दिनदिनै संक्रमण बढिरहेको खबर छ । मनमा एक किसिमको त्रास त छ । तर, यो भाइरस लाग्नेबित्तिकै मरिहालिन्छ भन्ने छैन । त्यसैले आत्तिनु पनि ठिक होइन ।
यतिखेर, सरकारले घरभित्रै बसौं, बाहिर ननिस्कौं भनिरहँदा पनि त्यसलाई अवज्ञा गरेर बाहिर निस्किरहेको मान्छेहरू देख्दाचाहिँ अचम्म लागिरहेको छ । कहिलेकाहिँ त रिसै उठ्छ । यो देशलाई संक्रमणबाट जोगाउनु सरकारको मात्रै होइन, हाम्रो पनि कर्तव्य हो । त्यसैले मलाई लाग्छ, हामी सबै नागरिकले यो परिस्थिति बुझ्न जरुरी छ ।
प्रस्तुति: अनिल यादव