चलचित्र ‘ए मेरो हजुर ३’ प्रदर्शन भएको ८ महिनामै अभिनेता अनमोल केसीले चौथो सिक्वेल पनि साइन गरे । तेस्रो सिक्वेल हिट भएपछि उनको हातमा धमाधम चलचित्र हात पर्न थाले । सुरुमा अनमोल चलचित्र ‘धुपौरे’ मा काम गर्ने पक्का थियो । एकाएक यो चलचित्रको छायांकन रोकिएपछि उनी होम प्रोडक्सनबाट बन्ने भनिएको ‘एन्टी हिरो’ मा व्यस्त भए । तर, अन्तिममा दर्शक र मिडियालाई सरप्राइज दिदै ‘ए मेरो हजुर ४’ साइन गरे । हातमा आएका केही चलचित्र र साइन गरिसकेको ‘धुपौरे’ छाडेर अनमोल किन ‘ए मेरो हजुर’को चौथो सिक्वेलमा लोभिए त ? यसको जवाफ अनमोलसँगै छ । यसपटक अनमोलले आफ्नो दैनिकीबारे साप्ताहिक अनलाईनसंगको भेटमा खुलस्त पारेका छन् ।
कलाकार भएकाले होला, मेरो सुत्ने र उठ्ने सेड्युअल एकै किसिमको हुँदैन । सुटिङ परेको बेला त झन् दैनिकी भताभुङ्ग हुन्छ । तर, जव चलचित्रको काम सकेर नर्मल लाइफमा फर्किन्छु, त्यो दैनिकी अलि फरक हुन्छ ।
सधैजसो विहान ७ बजेसम्म उठिसकेको हुन्छु । कहिलेकाँहि अल्छी लाग्यो भने ८ समेत बज्छ । उठिसकेपछि फ्रेस हुन्छु । सफा पहिरन लगाएर कृष्ण भगवानको पुजा गर्छु । यतिबेलासम्म मैले पानी समेत खाँदिन । जव कृष्ण भगवानको नाम जपेर दिन सुरु गर्छु, मेरो दैनिकी निकै राम्रो हुने गर्छ । किनभने, यसो गर्दा मलाई पोजेटिभ इनर्जी प्राप्त हुन्छ ।
अनि चिया र कफी पिउँछु । केहि हल्का ब्रेकफास्ट गर्छु । ब्रेकफास्ट स्वस्थकर घरमै बनाएकै परिकार हुन्छ । मेरो फुर्सद हुँदा म आफै बनाउँछु । नत्र, अरुले बनाइदिनुहुन्छ ।
९ बजेतिर ब्रेकफास्ट गरेपछि तुरुन्तै भोक लाग्ने कुरा भएन । एकैछिन सामाजिक संजालमा भुल्छु । विभिन्न अनलाइनहरुमा आएका समाचारमा चासो दिन्छु । मन भए टिभी हेर्छु । म्यासेज बक्स चेक गर्छु । फोन चेक गर्छु । आवश्यक परेको खण्डमा फोन गर्छु ।
फुर्सदको समयमा मलाई खाना पकाउन मन लाग्छ । म शाकाहारी भएकाले त्यसैअनुसार सामान तयार पारेर कुकिङका लागी किचन पस्छु । मलाई कुकिङमा निकै रुची लाग्छ ।
दिउँसो एकैछिन आराम गर्छु । त्यसपछि म दिनभर चलचित्र हेर्छु । कतिसम्म भने, एकपटक मैले एकदिनमा ५ वटासम्म चलचित्र हेरेको छु ।
दिउँसो साथिभाईहरुसँग घुम्न जाने, क्याफे रेष्टुराँमा कफी पिएर दिन विताउने स्वभाव छैन । कहिलेकाँहि मिटिङ भएको दिन अर्कै विषय भयो । सकेसम्म घरकै वातावरणमा रमाउँछु, यो मेरो स्वभाव हो । सायद, पहिले होस्टलमा बसेकोले पनि त्यसो भएका हो जस्तो लाग्छ । कहिलेकाँहि घुम्न निस्किएँ भने काठमाडौँस्थित बुढानिलकण्ठ, गोदावरी, शिवपुरी लगायतका स्थान जान्छु ।
दिउँसो समयअनुसार ४–५ बजे खाजा खान्छु । नर्मल कफी मन पर्छ, त्यो लिन्छु । दिनभरमा धेरैभन्दा धेरै पानी पिउने स्वभाव छ । यसले ज्यानमा शक्ति दिनुका साथै शरीर स्वस्थ समेत बनाउँछ । साँझ नर्मल खाना खान्छु, ८–९ वजेभित्र । एकैछिन समाजिक संजालमा भुलेर ११ वजेसम्म सुतिसक्छु ।