साप्ताहिक संवाददाता
पहिलो नेपाल आईडलको टप ७ मा पुग्न सफल प्रमिला राईको स्वर रहेको ‘प्रश्न लुकेका कुरा’ गीतको म्यूजिक भिडियो निर्माण भएको छ । म्यूजिक भिडियोलाई निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेका छन् ।
समलिङ्गीको प्रेम, ईमोशन र मानसिक द्धन्दलाई भिडियोको थिम बनाईएको छ । उक्त गीतको म्यूजिक भिडियो एकहप्ता लगाएर छायांकन गरिएको निर्देशक पोमोले बताएका छन् । उनले भनेका छन्– ‘चलिरहेको प्रेमील भिडियोभन्दा पृथक थिममा काम गर्न च्यालेञ्ज थियो तर दर्शकहरुका लागि हिडन ईमोशनलाई पात्रहरुको माध्यमबाट भिडियोमा उत्तार्दा खुसी लागिरहेको छ ।’
सयौं म्युजिक भिडियो निर्देशन हुदै नेचर गाई मार्फत चलचित्र निर्देशनमा होमिएका पोमोले हङकङको लोकेशनमा दुई दर्जन भिडियो निर्देशन गरिसकेका छन् । मज्जाको प्रडक्सन हङकङको ब्यानरमा निर्माण गरिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् ।
ओम गुरुङ, ट्रेसी राई, दिनेश खत्रीको अभिनय रहेको भिडियोलाई अनिल के महर्जनले सम्पादन गरेका छन् । गीतमा रेज लिम्बुको शब्द, संगीत रहेको छ ।
हङकङको विभिन्न पर्यटकीय स्थलहरुमा भिडियोको छायाङ्कन गरिएको छ । ‘हामीले लगानीमा सम्झौता गरेनौँ’ निर्माता तथा सिनेमेटोग्राफर मज्जाको राई बताउँछन् ।
पछिल्लो समय हङकङको प्राकृतिक रमणियता र विकसित आधुनिकताभित्र नेपाली भिडियो छायाङ्कनको क्रम बढिरहेको छ ।