टाढा–टाढा जान नसके पनि आफू बसेनजिकै समस्या परेका केही परिवारसँग दु:ख साट्ने गरेको छु । जे सकिन्छ, खानाको व्यवस्थापन गरिदिन्छु । त्यतिबेला उहाँहरूको अनुहारमा देखिने खुशीले जिन्दगीप्रतिको मोह अझ बढेर जाने रहेछ ।
अहिले कोरोना जोखिम कम गर्न सामाजिक दूरी कायम राख्नुको विकल्प पनि छैन । आफन्त भेट्न जान मिलेन, काममा निस्कन मिलेन । केही कुरा पनि थितीको छैन । मन लागेको समयमा सुत्ने, उठ्ने र खाने गरिन्छ । पहिलेजस्तो ‘सेड्युल’को जिन्दगी छैन । लकडाउनअघि ७ बज्दा–नबज्दै स्टुडियो पुगिसक्ने म हिजोआज उठ्दै ८ बज्न लागेको हुन्छ । उठेर २ गिलास पानी पिएपछि मेरो दिनको सुरुवात हुन्छ ।
सामान्य कसरत पछि हट लेमन पिउँदै समाचार पढ्छु । हिजोआज त गीतसंगीतका कुराले भन्दा पनि कोरोना भाइरसका खबर, कोरोनालाई जित्नेका आत्मविश्वासका कथाले बढी मन तान्ने रहेछ । विभिन्न देशमा छरिएर बसेका साथीभाइसँग एक चरण कुरा गर्छु । त्यसो त साथीभाईसँग सम्पर्कमै रहिरहन रुचाउने मान्छे हुँ । तथापि लकडाउनअघि मनले सम्झिएर पनि कामको चापले सम्पर्क गर्न सकिँदैनथ्यो ।
लकडाउनका सुरुवाती दिनमा सिर्जनात्मक काममा खुब मूड आयो । तर, फुर्सदै–फुर्सदमा पनि सिर्जनशील बन्न त्यति सजिलो हुन्न रहेछ । बिहान उठ्यो, समाचार हेर्यो, खाना खायो अनि हार्मोनियम समातेर बस्यो । सधैंको उही र्याईं र्याईं । एउटै दैनिकी पट्यार लाग्दो हुने रहेछ । हार्मोनियमबाट नयाँ धुन नै ननिस्किएजस्तो लाग्ने । कुनै दिन लाग्थ्यो, दिनभर घर बसेर हार्मोनियम बजाउन पाए कति नयाँ धुन सिर्जना गर्थे हुँला, जिन्दगीमा त्यस्तो फुर्सदिलो दिन पनि आउँला र ? त्यो दिन आयो । तर, सिर्जना त फुर्सदले जन्मने कुरा नै होइन रहेछ ।
गीत/संगीतका लागि केही नयाँ योजना बनाउन पनि सकिरहेको छैन । कारण, महामारी कहिलेसम्म हुने, कुन अवस्थामा पुगेर महामारी सकिने हो कुनै ठेगान छैन । यो अवस्थाबाट बाहिर आउँदासम्म गीत/संगीतका स्रोता कस्ता सिर्जनामा रमाउने हुन् भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा नयाँ योजना पनि कहिले र केका लागि बनाउनु !
योजना, काम जेजस्तो भए पनि समय त कटाउनु पर्यो । कहिले चलचित्र हेर्छु, कहिले पुस्तक पढ्छु । यो बीचमा केही किताब पढेँ । ती किताबका कथा, कथाका पात्र र त्यहाँको परिवेशले यो महामारी, यो समस्या, पट्यारलाग्लो जीवनलाई रसिलो बनाउन मद्दत गर्ने रहेछ ।
केही लेख लेखेँ, पहिले व्यस्तताले लेख्न पाएका थिइनँ । साप्ताहिकमा प्रकाशित ‘म पनि पागल हुँदैछु कि’ शीर्षकको लेखले निक्कै राम्रो प्रतिक्रिया पायो । बल्ल मलाई गीत/संगीतजस्तै लेख पनि लोकप्रिय हुने रहेछ भन्ने लागेको छ । मेरा थप दुई लेख पनि प्रकाशित भए । केही भोलिका लागि सुरक्षित गरेर राखेको छु ।
डुल्ने, घुम्ने, हिँड्ने चौतारो, बाटो जे भने पनि घरको छत भएको छ । छतमा कहिले भान्जा–भान्जीसँग खेल्छु । कहिले कुकुरसँग रमाउँछु । लकडाउनको फुर्सदिलो समयले लुडोको खेलाडी पनि बनाएको छ । केही समय साथीहरूसँग अनलाइनमा लुडो खेल्छु ।
आफ्ना धेरै काम चौपट भएको यो समय अरूको समस्याले झन् छुने रहेछ । कतिपय मानिसले भोकै बस्नु परेको छ । टाढा–टाढा जान नसके पनि आफू बसेनजिकै समस्या परेका केही परिवारसँग दु:ख साट्ने गरेको छु । जे सकिन्छ, खानाको व्यवस्थापन गरिदिन्छु । त्यतिबेला उहाँहरूको अनुहारमा देखिने खुशीले जिन्दगीप्रतिको मोह अझ बढेर जाने रहेछ ।