सामान्य समय भएको भए यो बेला तीज गीत रेकर्ड र म्युजिक भिडियो निर्माणको चटारो हुन्थ्यो । तर कोरोना कहर छ । अनिश्चित वातावरणले यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । त्यसैले कलाकार भन्छन्– हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।
गायिका राधिका हमाल अघिल्ला वर्षहरूमा यतिबेला तीज गीतको चटारोमा हुन्थिन् । यो वर्षका लागि पनि उनका केही योजना थिए– तीज गीतको । तर, सोचेको जस्तो भएन । समय अनुकूल नभइदिँदा हमालको दैनिकी नै परिवर्तन भएको छ । अहिले उनी राहत वितरणको दौडधूपमा छिन् ।
अघिल्लो वर्ष मात्रै तीजका १३ भाकामा स्वर भरेकी हमालको आफ्नै गीत बजारमा ल्याउने योजना थियो । आधा बैशाखसम्म उनलाई स्थिति साम्य भैहाल्छ, त्यसपछि गीत रेकर्ड गर्नुपर्छ भन्ने योजनामा नै काम गरिरहेकी थिईन । अब लाग्छ, उनको योजना यो वर्ष पूरा हुने छैन । उनले भनिन्, ‘अहिले हरेक काम ठप्प हुँदा संगीत क्षेत्र पनि धराशयी भएको छ । आफू बाँच्ने र आफ्नालाई बचाउनु नै ठूलो भएको छ । त्यसैले यो वर्ष गीतमा लगानी गर्न भनेर छुट्याएको रकम लिएर सेवामा निस्किएकी हुँ । तीजसम्म स्थिति राम्रो भएछ भने पोहोरकै गीतले काम चलाउनुपर्छ ।’
तीज गीतका साथै लेखन र म्युजिक भिडियोमा पनि सक्रिय कलाकार हुन् पशुपति शर्मा । समय अनुकल भएको भए उनी यतिबेला कि तीज गीतका भाका बुन्दै हुन्थे, कि टुक्का जोड्दै हुन्थे । धेरैजसो त स्टुडियोमा नै गीतमा लय हाल्दै हुन्थे । तर, कोरोना कहरका कारण जिन्दगी नै सहज भएन । उनी यतिबेला गृहजिल्ला स्याङ्जामा छन् । गायक शर्मा त तीज मात्रै होइन, दसैंपछिकै सांगीतिक माहोलको अवस्था टुङ्गो नरहेको बताउँछन् । उनी भन्छन्– ‘तीजमात्रै होइन, दसैंपछाडिका सांगीतिक कार्यक्रम नै होला–नहोला टुंगो छैन । कोरोनाले संगीत क्षेत्रलाई एकदमै असर गरेको छ ।’
गत वर्षको तीजमा ‘हामी पनि नाँच्नु पर्छ बीच्च–बीच्चमा’ गाएर सिजनभर चर्चामा रहे गायक दुर्गेश थापा । यो वर्षको तीजका लागि पनि दुर्गेशको नयाँ प्लान थियो । उनले यो तीजमा ‘बीच्चबीच्चमा’को दोस्रो भाग सार्वजनिक गर्ने सोचेका थिए । गीत तयार छ । तर, उनी लकडाउनका कारण बाग्लुङतिरै छन् । उनलाई लाग्छ गीत रेकर्ड गरेर पनि यो वर्ष ती गीतमा नाच्ने माहोल सिर्जना हुनेछैन । गीत रेकर्ड गरिहाले पनि म्युजिक भिडियो निर्माण गर्न सहज छैन । त्यसैले पनि यो वर्षको गीत रेकर्डको योजना थाती राखौं कि भन्नेमा छन् । दुर्गेश भन्छन् ‘८÷१० वटा तीज कार्यक्रमका लागि अष्ट्रेलिया जाने पक्का भएको थियो । अब त्यो कार्यक्रम पनि हुँदैन होला ।’
हरेक वर्ष जस्तै तीज गीतका थुप्रै योजना थिए गायिका जानकी तारकी मगरका पनि । तीज गीतबाटै चर्चामा आएकी मगरले यो वर्ष नाच्ने खालको गीत रेकर्ड गर्ने योजना बनाएकी थिइन् । लकडाउन खुल्यो भने गीत रेकर्ड गराउने उनको रहर छँदैछ ।
प्रत्येक वर्ष २ वटा तीज गीत रेकर्ड गराएर म्युजिक भिडियो निर्माण गर्दै आएका गीतकार हुन्– हरि बिष्ट । उनले हरेक वर्ष तीज गीतको रेकर्डिङदेखि म्युजिक भिडियो निर्माणसम्ममा करिब ६ लाख रुपैयाँ खर्च गर्थे । यो वर्ष भने उनी तीज गीत नगर्ने सोचमा छन् । बिष्ट भन्छन्– ‘यतिबेला मान्छेहरू रोगले भन्दा पनि भोकले मर्ने अवस्था आएको छ । सप्तरीका मलर सदा भोककै कारण मरेको खबर सार्वजनिक भयो । कीर्तिपुरमा सूर्यबहादुर तामाङले भोककै कारण मर्नु प¥यो । त्यसैले मैले यो वर्ष तीज गीतका लागि खर्च हुने रकम दीनदुःखीको खानाका लागि खर्च गरिरहेको छु । यतिबेला सुर्खेतमा छु । अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गरिरहेको छु । हाम्रा गीत सुन्ने र हामीलाई सेलिब्रेटी बनाउने वर्गलाई जोगाउन सकियो भने तीज अर्को वर्ष पनि आउँछ ।’ बिष्ट फोनमा सुनिए । फोन राख्नु अघि उनले भने ‘साँच्चै समस्यामा परेका कोहि भेट्नु भयो भने मेरो नम्बर दिएर सम्पर्क गर्न भन्दिनु ।’
स्डुडियोको पनि कथा उस्तै
रेकर्डिङ स्टुडियो ‘म्युजिक बैंक नेपाल’का कृष्ण पुनको पनि कथा त उही हो । अहिले स्टुडियोमा गीत रेकर्डिङ गराउनेको घुइँचो हुन्थ्यो । ‘रेकर्डिङपछि मिक्सिङ र इडिटिङ सकेर गीत बजारमा पठाउने चटारो हुन्थ्यो । गीत रेकर्डिङ्को तयारी अलि अघिबाटै सुरु भैसकेको हुन्थ्यो । रेकर्डिङपछि पनि भिडियो सुटिङ गर्दा त समय लाग्थ्यो । लकडाउन थपिँदै जाँदा यसपालि गीतसंगीतको काम पनि ठप्प हुने भयो’, पुन बताउँछन् ।
यता, बबरमहलको प्रिज्म रेकर्डिङ स्टुडियोमा यतिबेला ८० प्रतिशत तीजका गीत रेकर्ड भैरहेका हुन्थे । यो वर्ष त्यस्तो चाप छैन् । स्टुडियोका सञ्चालक बिबि अनुरागी भन्छन्, ‘अघिल्लो वर्ष यतिबेला मेला, महोत्सवलाई लक्षित गरी गीत रेकर्डिङको काम सुरु भएको हुन्थ्यो । तर, यो वर्षमा मेरो हातमा आएका केही गीत पनि कुसंस्कार, विकृति र कोरोना विशेष मात्रै छन् । हातमा भएका गीत पनि गर्ने नगर्ने टुङ्गो छैन । तर, संगीत र एरेञ्जको काम भने गरिरहेको छु ।’
त्रिवेणी रेकर्डिङ स्टुडियोका सञ्चालक राजकुमार बगरले अघिल्लो वर्ष जेठ २० ताका ७ वटा तीजका भाका रेकर्ड गराएका थिए । यो वर्ष भने उनी स्टुडियो नै बन्द गरेर बसेका छन् । भन्छन्– ‘स्टुडियो खोलेर पनि के गर्नु, कोही आउँदैनन् ।’ वर्षमा २० देखि २२ वटा तीजका गीत रेकर्ड हुने उनको स्टुडियोमा यो वर्ष एउटा गीतका लागि पनि कुरा आएको छैन ।
फुर्सदमा म्यूजिक भिडियोका कलाकार
एक सिजनमा तीजको म्यूजिक भिडियोमा नृत्य गरेर झण्डै १० लाख कमाउँथिन्– मोडल करिश्मा ढकाल । यो वर्ष फुर्सदमा रहेकी ढकाललाई सुटिङ गर्दाका झल्कोले सताइरहेको छ । अघिल्लो वर्षमात्रै करिब ६० वटा तीज गीतको म्युजिक भिडियोमा देखिएकी ढकाल भन्छिन् ‘सुटिङ त एकदम धेरै मिस हुँदो रहेछ । यतिबेला हामी एकदमै व्यस्त भइन्थ्यो । घर बस्ने समय हुँदैन थियो । दिनमा ३÷४ वटा गीतको सुटिङ हुन्थ्यो ।’
रातदिन सुटिङ भनेर हिड्ने उनी ३-४ दिनमा झुलुक्क घर आउँथिन् । एक निद्रा भुसुक्क निदाउँथिन् । फेरि काममा दौडन्थिन् । कामको चाप कम भैदिए हुन्थ्यो भन्ने उनलाई कहिल्यै लागेन । अहिले सम्झिन्छिन्, ‘त्यसरी नै काम गर्न पाएको भए !’
निर्देशक शंकर बिसी पनि यतिबेला नेपालगञ्जमा बसेर रातै सारीमा नाच्दै गरेका दिदीबहिनी सम्झिरहेका छन् । तीज गीतका अधिकांश म्युजिक भिडियो निर्देशनमा देखिने शंकर कयौं गीतमा आफैं नाच्थे । एक वर्षमा कम्तीमा पनि ६० वटा म्युजिक भिडियोको काम गर्ने शंकरले अघिल्लो वर्ष मात्रै ८० गीतको म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरेका थिए । ढेड महिनाको अवधिमा अघिल्लो वर्ष झण्डै १५÷१६ लाख कमाएको शंकर बताउँछन् । करिश्मालाई जस्तै उनलाई पनि सुटिङको झझल्कोले सताएको छ । भन्छन्, ‘माहोल सामान्य भएको भए यतिबेला म रातै सारी लाएका ५०÷६० जना डान्सरसँग नाच्दै हुने थिएँ ।’ अवस्था सामान्य नहुँदा पनि केही कलाकारहरूले कुरा भने गरिरहेको उनको भनाइ छ । असारबाटै भए पनि लकडाउन खुल्ने सम्भावना भयो भने केही म्युजिक भिडियोको काम गर्ने शंकर बताउँछन् ।
कोरियोग्राफर पवित्रा आचार्यलाई भ्याइ–नभ्याइ हुन्थ्यो । यो वर्ष सुख्खा छ । उनलाई आशा थियो– जेठ २० पछि लकडाउन खुल्नेछ । अघिल्लै वर्षको जस्तो रौनक नभए पनि केही गीतका म्युजिक भिडियोमा काम गर्न पाईने छ । केहि गीतका भिडियोका लागि कोरियोग्राफी गर्दै पठाउँदै गरेकी पवित्रा पुनः लकडाउन थपिएपछि निराश छिन् । उनले भनिन्, ‘हाम्रो गरेर खाने बेला थियो । सरकारले पनि केही मोडालिटी चेन्ज गरेर लकडाउन खोल्नु पर्नेथियो । हाम्रो त सबै चौपट भैसक्यो, झन् दैनिक मजदुरी गरेर खानेहरूको अवस्था के भएको होला ?’
अन्योलमा तीज म्युजिक अवार्ड
तीज पर्वका गीतलाई लक्षित गर्दै विगत ६ वर्षदेखि हुँदै आएको ‘तीज म्युजिक अवार्ड’ पनि यो वर्ष नहुने निश्चितप्रायः छ । छायाँ छविमार्फत अवार्ड गर्दै आएका शान्तिप्रियले यो वर्ष अवार्डको सम्भावना कम रहेको बताए । गीत रेकर्ड नै नभएपछि अवार्ड वितरण पनि रोक्नु पर्ने उनी बताउँछन् । ‘अवस्था थोरै सहज भयो भने केही कार्यक्रम गर्ने कि भन्ने योजना त छ । तर, यही अवस्थामा कुनै औपचारिक कार्यक्रम नहोला’, उनी भन्छन्, ‘अघिल्ला वर्षहरूमा झैं अवार्ड कार्यक्रम गर्ने अवस्था नभए पनि तीजसम्म अवस्था सामान्य भयो भने अवार्डको सातौँ संस्करणलाई निरन्तरता दिने सोच र तयारीमा छौँ ।’