मेला–महोत्सव र देश–विदेशको स्टेज कार्यक्रमले आम्दानीको ग्राफ बढाइरहेका लोकदोहोरी क्षेत्रका कलाकार कोभिड–१९को महामारीपछि चिन्तित छन् । भविष्यको चिन्ताले विकल्पको सोचमा उनीहरूलाई धकेलेको छ ।
लोक दोहोरी कलाकारको मुख्य आम्दानीको स्रोत थियो मेला महोत्सव अनि विदेशका कार्यक्रम । कार्यक्रममा सहभागिता जनाउन कलाकारबीच होडबाजी नै चल्थ्यो । यस्ता कार्यक्रममा सहभागित पाउन कि चर्चित हुनुपर्ने कि आयोजकसम्म राम्रै पहुँच हुनुपर्ने । मेला महोत्सवको जिम्मा लिइ मनग्य आम्दानी गर्ने पनि थिए । कोही भने दोहोरी साँझमा गीत गाएर दैनिकी चलाउँथे ।
कोभिड–१९ ले त्यसो सबै अवसरहरू खोसिदिएको छ । यसको असर कहिलेसम्म रहने हो भन्ने पनि अनिश्चित बनेको छ । यसले दोहोरी कलाकारलाई चिन्तामा पारेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी भन्छन्, ‘अहिले कलाकारहरू अत्यन्त चिन्तित अवस्थामा छन् । लकडाउनको मात्र चिन्ता हैन, भविष्यको बारेमा पनि चिन्ता छ ।’
यो अवस्था विश्वभर नै छ । सबैतिर आर्थिक संकट छ । कलाकार, जसलाई आफ्नो जीवनयापनका लागि पनि मानिसको भीड चाहिन्छ । तर त्यही भीड अहिले निषेध छ । त्यसैले वैकल्पिक सोच अहिलेको आवश्यकता बनेको छ । ‘वैकल्पिक व्यवसाय नखोज्ने हो भने भविष्य कहालीलाग्दो हुन्छ । साथीहरूसँग गुप्र च्याट हुँदा पनि यही विषयमा कुरा हुन्छ । अब के गर्ने भनेर धेरै साथीहरू हतोत्साहित हुनुहुन्छ’, बिजी सुनाउँछन्, ‘दोहोरी साँझमा काम गरेर साँझको टिप्सले बिहानको तरकारी किनेर जीविकोपार्जन गर्ने कलाकारितामा संघर्षरत साथीहरूको रोजीरोटी खोसिएको छ । हजारौं बेरोजगार भएका छन् ।’
कोरोनाका कारण प्रतिष्ठानले तय गरेका कार्यक्रमलाई पनि असर परेको छ । आफ्नै भवनमा कार्यालय सारेर संगीतको कक्षा सुरु भएको थियो । त्यो रोकिएको छ भने लोक संग्रहालय सञ्चालन गर्ने योजना पनि स्थगित भएको छ । ‘लोक बाजा, संस्कृति, नाच र गीतहरूको संग्रहालय बनाउने तयारीमा थियौँ । त्यस्तै लोक संगीतको सेन्सरबोर्डको तयारी पनि हुँदैथियो । अहिले रोकिएको छ । वातावरण सहज बनेपछि ती कामलाई निरन्तरता दिने छौँ’, उनले भने ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी प्रत्यक्ष लोकदोहोरी तर्फको आकर्षण बढ्दै गएको बेला एक्कासी कोरोना कहरले समस्या परेको बताउँछन् । लोकदोहोरी कलाकारको अवस्था कोभिड–१९ भन्दा अगाडि राम्रो भएको थियो । जताततै मेला, महोत्सव भइरहेका थिए । देश–विदेशमा स्टेज कार्यक्रमको आयोजना पनि उस्तै थिए । त्यस्ता कार्यक्रममा सबैभन्दा बढी लोक दोहोरीकै कलाकार देखिन्थे । ‘जुनसुकै स्टेजमा पनि लगभग ७० प्रतिशत कलाकार लोक दोहोरीका हुन्थे । यो मुख्य आम्दानी स्रोत बनेको थियो’, पंगेनीले भन्छन्, ‘यस्तो बेला मजदुर, किसान, गरिखाने वर्गलाई राज्यले हेर्नुपर्छ । त्यसभित्र कलाकार पनि पर्छन् । यसको लागि हामी अनुरोध गर्छौं ।’ कतिपयलाई लोकदोहोरी गीत प्रतिष्ठानले दुई चरणमा सहयोग गरेको छ । संगीतकर्मी संघले पनि सहयोग गरेको छ । तर सहयोगले मात्रै सधैँ सम्भव नहुने भएकाले राज्यले हेर्नुपर्नेमा पंगेनी जोड दिन्छन् ।
त्यसो त मेला महोत्सवकै सन्दर्भमा पनि समस्या नभएको छ होइन । अस्वस्थ प्रतिपष्र्धा, एकअर्काको उछितो काढ्ने, सम्बन्धका आधारमा मात्र छनोट हुने आदि समस्या देखिन्छन् । थिए । त्यसका लागि कलाकार एकजुट हुनुपर्ने र आधिकारिक संस्थाहरूले कार्यक्रम आयोजनाको सम्पूर्ण जिम्मा लिनुपर्ने पंगेनीको मत छ ।
‘मेला महोत्सवको व्यवथापन व्यक्तिगत रूपमा भइरहेको देखिन्छ । उद्योग वाणिज्य संघहरूको नाममात्रै प्रयोग गइरहेको छ । यस्ता संस्थाले आफैं सक्रिय भएर जिम्मा लिनुपर्छ । नत्र नाममात्र किन प्रयोग गर्ने ?’, पंगेनी प्रश्न गर्छन् ।
यो त रह्यो सामान्य अवस्थाको कुरा अहिले भने तत्कालीन व्यवस्थापनबारे नै सोच्नु पहिलो आवश्यकता देखिन्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने भन्छन्, ‘भूकम्पबाट तंग्रिएको बेला फेरि यस्तो भयो । लकडाउन हटे पनि तत्काल रमाइला कार्यक्रम नहोलान् । काठमाडांैमा १ हजारको संख्यामा दोहोरी साँझमा जागिर खान्छन् । अरूको विकल्प छैन । त्यसैले केही न केही सोच्नु पर्ने भएको छ ।’
अहिले कलाकारको अर्को आम्दानीको स्रोत युट्युब हो । सामान्यतः ३० लाखभन्दा माथि भ्युज भएपछि कमाइ सुरु हुन्छ । तर राम्रो भिडियो बनाउनै ६÷७ लाख राम्रो भिडियो बनाउँदै खर्च हुन्छ । त्यसबाट लगानी उठाउन निकै गाह्रो रहेको न्यौपाने बताउँछन् । उनी थप्छन्, ‘जो राष्ट्रिय कलाकार भनेर चर्चित थिए, उनीहरूलाई बढी समस्या पर्छ । जुन स्ट्यान्डर्ड बनेको थियो, त्यसैकारण हप्तामा दुई÷तीन कार्यक्रम पाउँथे । एउटा कार्यक्रमको २५÷३० हजारकै दरले पनि महिनामा लाख-दुई लाख कमाउँथे । मेला-महोत्सव, देश-विदेशमा गएर कमाउथे । त्यसैले लिभिङ स्ट्यान्डर्ड पनि बढेको थियो । अब त्यो धान्न गाह्रो छ ।’
महामारीकै कारण दोहोरी रनिङ शिल्ड प्रतियोगिता पनि स्थगित भयो । यो अवस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लागि पनि सुखद नभएको न्यौपाने बताउँछन् । ‘नयाँ कार्यसमितिलाई काम देखाउने अवसर थियो । तर पहिलो गाँसमा ढुंगा लाग्यो’, उनले भने ।
अन्य क्षेत्रजस्तै लोकदोहोरी क्षेत्रको भविष्य पनि अब राज्यले अर्थतन्त्र कस्तो बन्छ, त्यसैमा निर्धारण हुने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीको भनाइ छ । ‘अर्थतन्त्र राम्रो भए मेला महोत्सव पनि हुन्छन् । दोहोरी साँझ पनि चल्छन् । राज्यको अर्थतन्त्र नै ओरालो लागेर थाम्नै नसक्ने भयो भने न मेला महोत्सव सुचारु होलान्, न दोहोरी साँझले नै कलाकारलाई रोजगारी दिन सक्लान्’, उनी भन्छन्, ‘आर्थिक रूपमा मजबुत केही कलाकारले आफ्नो व्यवस्थापन गर्लान्, तर योे क्षेत्रमा लागेर केही गर्छु भनेर आएका नयाँ कलाकारलाई भने धेरै समस्या पर्नसक्ने अवस्था देखिएको छ ।’