साप्ताहिक संवाददाता
शनिबार साँझ ८ बजे प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको बगैंचामा गुन्जिरहेका थिए गायक अमृत गुरुङ । ‘आँगनै भरि हिउँ नै झरे...’ गीतबाट सुरु भएको कन्सर्टमा उडायो रेलैले, जोमसोमे बजारमा, तालको पानी’ सहित दर्जनभन्दा बढी गीतमा दर्शकहरूले नाचेर गुरुङलाई साथ दिइरहेका थिए ।
यो दृश्य थियो, नेपाली लोक रक ब्यान्ड नेपथ्यले आयोजना गरेको सांगीतिक साँझको । भूकम्पबाट क्षतिग्रस्त दोलखाको सरकारी स्कुल पुनर्निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले नेपथ्यले उक्त कार्यक्रम आयोजना गरेको थियो । ‘शिक्षाका निम्ति संगीत’ नामक सांगीतिक साँझमा गुरुङले गीतसँगै शैक्षिक सहयोगका लागि सबैलाई आग्रह समेत गरे ।
गुरुङका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको पुनर्निर्माण सहयोगार्थ ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर कन्सर्ट गरिएको हो । ‘नेपथ्यले आफूलाई मनोरञ्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ नेपथ्यका गायक गुरुङले भने, ‘दोलखाका ससाना नानीहरूमा समर्पित यो कन्सर्टले त्यसै उद्देश्यलाई निरन्तरता दिएको हो ।’
ब्यान्डले यसअघि पनि ०७२ को भूकम्पलगत्तै अस्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कन्सर्टबाट उठेको रकम भूकम्पपीडितलाई प्रदान गरेको थियो । नेपथ्यले भूकम्पका बेला प्रधानमन्त्री राहत कोषमा दुई पटक गरेर १० लाख रुपैयाँ र विदेशका केही कन्सर्टबाट उठेको रकमसहित करिब ४० लाख रुपैयाँको योगदान गरेको थियो ।
शनिबारको प्रस्तुतिमा गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।