बत्तीसपुतलीस्थित शिल्पी नाट्य समूहको गोठाले नाटकघरमा नाटक 'येल्लो कमेडी' अर्थात् पीत हास्य मञ्चन भैरहेको छ। शिल्पीमा तीनमहिने नाट्य कार्यशालामा प्रशिक्षण लिएका नाट्यकर्मीहरूबाट तयार पारिएको उक्त नाटकलाई प्रयोगवादी नाटक भनिएको छ। प्रशिक्षक घिमिरे युवराज, गंगाप्रसाद तिवारी तथा डेनमार्ककी केमिलाले रंगमञ्चमा कथावाचन शैलीको प्रशिक्षण प्रदान गरेका डेढ दर्जन प्रशिक्षार्थीले उक्त नाटक तयार पारेका हुन्। नाटकको लेखन, विषयवस्तु संकलन, निर्देशन, साजसञ्जा, पहिरन, पृष्ठसंगीत एवं निर्देशन ती डेढ दर्जन प्रशिक्षार्थीले नै गरेका हुन्। साउन १७ गतेसम्म हरेक साँझ साढे ५ बजे मञ्चन हुने यो नाटक डेढ घण्टा लामो छ।