बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भैरहेको श्रृंखलात्मक नाटक यल्लो कमेडी अर्थात् पीत हास्यको दोस्रो श्रृंखला प्रारम्भ भएको छ। उक्त थिएटरबाट कथावाचन, अभिनय आदिको प्रशिक्षण लिएका प्रशिक्षार्थीहरूले आफ्नै कथा, निर्देशन एवं अभिनयमा तयार पारेको नाटकलाई यल्लो कमेडी शीर्षकमा मञ्चन गरिरहेका छन्। दोस्रो श्रृंखलामा रोशन मेहता, सरिता साह, राम थोकर र लक्ष्मण थोकरले माइम प्रस्तुत गरेका छन् भने बादल भट्टले डन र पुलिसको एकल अभिनय गरेका छन्। यसैगरी स्मिता देवान, सोनाम तामाङ आदिले पनि सामाजिक व्यंग्य प्रहार गर्दै फरक खालको प्रस्तुति दिन्छन्। यल्लो कमेडीको यो दोस्रो श्रृंखला हरेक साँझ पाँच बजे दुई सातासम्म मञ्चन हुनेछ।