मिस भुटान युएसए-२०१४ को उपाधि हात पार्दा कस्तो अनुभूति भयो ?
मलाई आफू धेरै भाग्यमानी रहेछु भन्ने लाग्यो भने पूर्व मिस नेपाल माल्भिका सुब्बासँग भेट्दा खुसीको सीमा रहेन । मिस भुटान युएसएको उपाधि हात पार्दा भने आश्चर्य लागेको थियो ।
मिस भुटान युएसएका रूपमा भावी योजना के-कस्ता छन् ?
मसँग धेरै योजना छन् । सबै योजनालाई एकसाथ अघि बढाउन सकिँदैन, त्यसैले बिस्तारै ती योजनालाई क्रमबद्ध रूपमा अघि बढाउनेछु । तुरुन्तै गर्ने कामचाहिँ अमेरिकाका राज्यहरूमा कार्यशाला गोष्ठी सञ्चालन गर्नेछु । महिला उत्थान र शिक्षाको महत्त्व, बालविवाह तथा अमेरिकामा रहेका भुटानी शरणार्थीको समस्यामा केन्दि्रत भएर छलफलहरू गर्ने सोचमा छु । युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने विचार छ ।
मायालाई कसरी परिभाषित गर्नुहुन्छ ?
मैले मेरो परिवारबाट जे सिकेकी छु अनि जे सहयोग
पाएको छु, त्यो नै माया हो । यदि कसैले मलाई सहयोग र माया गर्छ भने उसलाई म आफ्नो अभिभावक मान्छु ।
ब्वाइफ्रेन्ड त होला नि ?
यो कुरा मेरो व्यक्तिगत विषयभित्र पर्छ । म यस्तो कुरालाई सार्वजनिक गर्न चाहन्नँ । म एउटा लक्ष्य बोकेर हिँडेकी हुँदा यस्ता विषयमा खासै चासो पनि दिन्नँ ।
यदि कसैबाट प्रेमको प्रस्ताव आए के गर्नुहुन्छ ?
म कसैको शारीरिक बनावटबाट प्रभावित हुने व्यक्ति होइन । म विचारलाई सम्मान गर्ने मान्छे हुँ । सबैको प्रस्ताव स्वीकार गर्ने कुरा पनि हुँदैन ।
मिस भुटान युएसए-२०१४ मा सहभागी हुँदा मिस भुटान युएसएको उपाधि चुम्छु जस्तो लागेको थियो ?
मिस भुटान युएसएमा धेरै राम्रा तथा प्रतिभाशाली युवतीहरूको सहभागिता थियो । मलाई त्यतिबेला धेरै शंका लागेको थियो अनि अप्ठेरो पनि महसुस भयो । फाइनल चरणमा मिस भुटान युएसए-२०१४ को उपाधि हात पार्न धेरै गाह्रो भएको महसुस भयो । प्रतियोगितामा म आफूमा भएको प्रतिभा देखाउने उद्देश्यले सहभागी भएकी थिएँ । मिस भुटान युएसएको उपाधि चुम्छु नै जस्तो लागेको थिएन, तर मेरो प्रतिभाले त्यो कुरालाई सम्भव तुल्याइदियो ।
प्रतियोगिताभरि परिवारको सहयोग कस्तो रह्यो ?
परिवारको सहयोगकै कारण म आज यो स्थानसम्म पुग्न सफल भएकी हुँ । म जे चाहन्छु उहाँहरूले त्यो कुरालाई सहयोग गर्नुहुन्छ ।
'सेक्स’ लाई कसरी परिभाषा गर्नुहुन्छ ?
सेक्स नै ठूलो कुरा होइन, तर यो मानवलाई आवश्यक कुरा हो । म सम्पूर्ण युवायुवतीहरूसँग अनुरोध गर्छु— सेक्सको मामिलामा सुरक्षित र टाढा बसौं ।
म्युजिक भिडियोमा अभिनय गर्ने विचार छ कि छैन ?
यदि समय मिल्यो भने अभिनय गर्छु, तर समय मिल्छ जस्तोचाहिँ लाग्दैन । म इन्जिनियरिङकी विद्यार्थी हुँ । अहिले त म त्यसमै व्यस्त छु ।
मिस भुटान युएसएमा कसरी आउनुभयो ?
म इन्जिनियरिङकी विद्यार्थी हुँ भन्दैमा मसँग कुनै सपना छैन भन्ने होइन । जब सन् २००२ मा माल्भिका सुब्बाले मिस नेपालको उपाधि हात पार्नँभएको थियो, त्यसै दिन मलाई पनि कुनै न कुनै दिन यस्तो उपाधि हात पार्न सक्छु जस्तो लागेको थियो। मैले आफ्नो इच्छा पूरा धेरै मेहनत गरें ।
के कारणले गर्दा तपाईंले मिस भुटान युएसएको उपाधि चुम्नुभयो ?
हाम्रो समाज पुरुषप्रधान छ, म त्यसलाई न्यून गर्न अघि बढ्नेछु, युवतीसँग भएको सुन्दरता भनेकै प्रतिभा हो जस्ता उत्तर दिनु नै मेरो विजयको मुख्य कारण बन्यो।
नेपालमा भएका भुटानी शरणार्थीहरूलाई के भन्नुहुन्छ ?
हामीसँग आफ्नो जन्मभूमि छैन । हामीलाई हाम्रै देशको राजाबाट अन्याय भएको घटना सुन्दा निकै दुःख लाग्छ । अझै पनि कतिपय शरणार्थीसँग भुटान फिर्ने सपना छ । यता, अमेरिका आएका शरणार्थीमध्ये २२ प्रतिशत निराशामा छन् । म उहाँहरू सबैका लागि जस्तोसुकै सहयोग गर्न तयार छु अनि जहाँ रहे पनि खुसी रहन अनुरोध गर्छु ।