तपाईंले लामो समय विभिन्न कलेजमा रहेर प्लस टु शिक्षाको व्यवस्थापन गर्नुभयो । यस आधारमा नेपालको प्लस टु शिक्षा मूल्यांकन कसरी गर्नुहुन्छ ?
मेरो अध्ययनको दायराका आधारमा म नेपालको प्लस टु शिक्षालाई आजको समयको निकै राम्रो मोडालिटी मान्छु । यसको आधार के हो भने नेपालबाट प्लस टु सकेर वाषिर्क हजारौं विद्यार्थी भारत, अस्ट्रेलिया, अमेरिका, बेलायतजस्ता देश पुग्छन् । त्यहाँका कुनै पनि कलेजमा यहाँ राम्रो अंक ल्याएका विद्यार्थीले समस्या भोग्नुपरेको छैन । भारतमा त आफ्नै केही राज्यका विद्यार्थीलाई भन्दा नेपाली विद्यार्थीलाई भर्नामा प्राथमिकता दिइएको देखिन्छ । भारतका कतिपय कलेजले जागिरको ग्यारेन्टी दिएर अध्ययन गराउँछन् । यस्तो अवस्थामा पनि नेपाली विद्यार्थी छानिएका छन् । त्यसको एउटा ठूलो कारण के हो भने नेपाली विद्यार्थीहरूको अंग्रेजी भारतका कतिपय राज्यबाट उत्तीर्ण हुने विद्यार्थीको भन्दा राम्रो छ । नेपाली निजी स्कुल कलेजले गरेको मेहननतको फल देखिएको छ ।
प्लस टु उत्तीर्ण भएपछि विदेश अध्ययन गर्न जाने चलन छ । प्लस टु शिक्षा राम्रो हुने कारण त्योभन्दा माथिको शिक्षाको स्तर नराम्रो भएर हो ?
त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू राम्रा छन् । एमबीबीएस, इन्जिनियरिङजस्ता विषयमा भर्ना हुनै गाह्रो छ । यो आकर्षण पढाइ राम्रो र शुल्क थोरै भएकाले हो । निजी क्षेत्रका कलेजमा पनि शुल्क केही बढी भए पनि एमबीबीएस, बीबीए, बीएच एम, सिएमआइटी तथा बिईजस्ता विषयको पढाइ राम्रो छ । तैपनि विश्वविद्यालयमा हुने राजनीतिक नियुक्ति, विभिन्न किसिमका भ्रष्टाचार तथा समयमा नतिजा प्रकाशन नहुने समस्याले विद्यार्थीहरूलाई भनेजस्तो सेवा दिन सकिँदैन, जबकि विदेशमा शिक्षालाई राजनीतिबाट मुक्त राखिएको छ । जुन क्षेत्र राजनीतिबाट मुक्त हुन्छ, भ्रष्टाचार स्वतः कम हुन्छ । अभिभावक तथा विद्यार्थीहरू सस्तो शुल्कमा पढ्न पाइयोस्, क्यालेन्डरअनुसार नै नतिजा सार्वजनिक होस्, एक वर्षको कोर्स सकिन १८ महिना नलागोस् भन्ने चाहन्छन्, जुन नेपालको सन्दर्भमा धेरै गाह्रो छ । यही कमजोरी देखाएर एजुकेसन कन्सल्ट्यान्टहरूले अध्ययनका लागि विदेश जान प्रोत्साहित गर्छन् । त्यसबाट कन्सल्ट्यान्टहरूले पैसा कमाउँछन् । नेपाली विद्यार्थी विदेश जानुमा यस्ता विभिन्न स्वार्थले काम गरेको छ ।
वर्षमा कति विद्यार्थी अध्ययनका लागि विदेश जान्छन् ? केही अध्ययन गर्नुभएको छ ?
मैले अघिल्लो वर्ष कति विद्यार्थी विदेश गए भन्ने कुराको तथ्याङ्क खोजी गरेको थिएँ । एउटा बैंकसँग मिलेर गरेको अध्ययनअनुसार २०७० सालमा करिब ३५ हजार विद्यार्थी अध्ययनका लागि विदेश गएको देखियो । उनीहरूका लागि करिब डेढ अर्ब रुपैयाँ विदेश पठाइयो । भारत गएका कतिपय विद्यार्थीको तथ्यांक पाइँदैन । जे होस्, प्रत्येक वर्ष ३५ हजार विद्यार्थी तथा डेढ अर्ब रुपैयाँ विदेश पुग्ने गरेको छ ।
यो संख्या प्रत्येक वर्ष घटिरहेको वा बढिरहेको छ कि स्थिर छ ?
नेपालमा जुन विषयमा उत्कृष्ट पढाइ हुन्छ, ती विषयमा सिट बढ्न सकेको छैन । जबकि हरेक वर्ष भविष्यमा रोजगारी पाइने विषय पढ्न चाहने विद्यार्थीहरूको संख्या बढिरहेको छ । यसबाट पनि विद्यार्थीहरू बिदेसिने संख्या बढिरहेको अनुमान गर्न सकिन्छ । कतिपय विद्यार्थी विदेश जाने चाहना राखेरै प्लस टु पढिरहेका छन् भने कोहीचाहिँ बाध्यताले विदेश पढ्न गैरहेका छन् ।
यत्रो रकमका साथै विद्यार्थीहरू अध्ययनकै लागि बिदेसिएका छन्, तपाईंहरूजस्ता कलेज सञ्चालकले उनीहरूलाई रोक्ने प्रयास गर्नुभएजस्तो लाग्दैन, किन होला ?
नेपालमा भएका कलेजहरू पनि बन्द भैरहेका छन् । नेपाल यस्तो देश हो, जहाँ महिनामा ४ वटा कलेजको किनबेच हुने गरेको छ । प्लस टुमाथि पढाउने कुनै त्यस्तो संस्था छैन, जसको म्यानेजमेन्ट १० वर्षभन्दा पुरानो होस् । नामका लागि कलेज खोल्ने र चलाउन नसकेपछि पार्टनर खोज्ने वा बेच्ने चलनले संस्कृतिकै रूप लिएको छ । जुन कलेज आफ्नै खुट्टामा उभिन सकेको छैन, उसले विद्यार्थीलाई विदेश जानबाट रोक्न के भूमिका निर्वाह गर्न सक्छ र ? मेरो विचारमा विश्वविद्यालयको प्राज्ञिक इकाइले नेपालमा कुन-कुन विषय राम्रोसँग पढाउन सकिन्छ, त्यसको सिफरिस गर्ने तथा नयाँ टिमलाई त्यससम्बन्धी कलेज खोल्न लगाउने काम गर्नुपर्छ । कलेज भनेको कुनै सामान्य उद्योगजस्तो होइन, यो लामो समय सोच विचार गरेर अघि बढ्नुपर्ने सामाजिक उत्तरदायित्वसहितको व्यवसाय हो । यसका लागि लामो सोच राख्नुपर्छ, जुन हामीसँग छैन ।
प्रत्येक वर्ष लाखौं विद्यार्थी एसएलसी र प्लस टु उत्तीर्ण हुन्छन्, तीमध्ये उच्च शिक्षा लिने विद्यार्थीहरूको अवस्था कस्तो छ ?
वर्षमा करिब ४ लाख विद्यार्थी एसएलसी पास हुन्छन्, तीमध्ये ३ लाख मात्र प्लस टु भर्ना भएको पाइन्छ । बाँकी विद्यार्थी घरको आर्थिक समस्याले कमाउन विदेश जान्छन् वा स्वदेशमै सामान्य जागिर खान थाल्छन् । भर्ना भएका ३ लाखमध्ये करिब ३३ प्रतिशत प्लस टु उत्तीर्ण हुन्छन् । फेल हुनेहरू फेरि स्वदेश वा विदेशमा सामान्य जागिर खान थाल्छन् । वाषिर्क १ लाख विद्यार्थी प्लस टुभन्दा माथि पढ्न थाल्छन् । तीमध्ये ३५ हजार विदेश गएको देखिन्छ । बाँकी ६५ हजार विद्यार्थीमध्ये कतिपयले माथिल्लो कक्षा पढ्दा पढ्दै छाड्छन् । विदेश जानेहरूमध्ये पनि सबैले आफ्नो अध्ययन पूरा गर्दैनन् । जागिर खादै पढ्नुपर्ने बाध्यता तथा भनेजस्तो जागीर नपाउने अवस्थाले पनि अध्ययन पुरा हुन नपाएको देखिन्छ ।
यसबाट के बुझिन्छ भने हामीलाई उच्च शिक्षाभन्दा पनि कृषि, उद्योग अथवा कुनै सीपमूलक शिक्षाको अवस्था छ ।
हो, चाहे एसएलसी पास हुनुहोस्, चाहे प्लस टु वा त्योभन्दा माथि, जहाँ पुगे पनि हामीलाई टेक्निकल शिक्षा नै चाहिएको छ । जसले यस्ता विषय रोजेका छन्, दुःख गरेर भए पनि त्यसलाई पूरा गरेका छन् । डाक्टर, इन्जिनियर, पारामेडिकलजस्ता विषयमा रोजगारीको ग्यारेन्टी भएकाले यस्ता विषय अध्ययन गर्नेहरूले बीचैमा अध्ययन छाडेको पाइँदैन । म्यानेजमेन्टमा पनि राम्रा विद्यार्थीले बेलैमा अध्ययन सकेर स्वदेश तथा विदेशमा जागिर पाएकै छन्, जसको अध्ययन सामान्य छ, सीपमूलक विषय पढेको छैन, त्यस्ता व्यक्तिले शिक्षित भए पनि जागिर पाउँदैनन् । यसको अर्थ यो होइन कि बजारमा जागिर छैन । बजारमा धेरै मानिस चाहिएको छ तर उद्योगपति, व्यापारीले जस्ता म्यानपावर चाहन्छन्, त्यस्ता स्किल मेनपावर भेटिँदैनन् । यसको अर्थ क्याम्पसले दिने शिक्षा र बजारको माग फरक छ ।
किन यस्तो भएको होला ?
कलेजहरू रिजल्ट ओरिएन्टेड छन् । पढायो, पास गरायो, उनीहरूको दायित्व सकियो । जबकि उनीहरूको दायित्व आफ्ना विद्यार्थी बजारमा काम गर्न सक्ने भए कि भएनन्, जागिर पाए कि पाएनन् । व्यापार, उद्योग गर्न चाहने युवाहरूले उद्योग-व्यापार स्थापित गर्न सके कि सकेनन् भन्ने कुरामा चासो राख्नुपर्ने पनि हो ।
नेपालमा अहिले म्यानेजम्ोन्ट पढ्ने विद्यार्थीको संख्या ठूलो छ, किन होला ?
साइन्समा स्कोप छ तर डाक्टर, इन्जिनियर पढाउन सक्ने क्षमताका अभिभावक थोरै छन् भने त्यस्ता इन्टिच्युट पनि कमै छन् । जबकि म्यानेजमेन्ट पढ्न धेरै पैसा लाग्दैन, देश-विदेशमा त्यसले सजिलै स्वीकृति पाउँछ । थोरै भए पनि जागिर पाइने सम्भावना हुन्छ ।
नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषि विषय पढ्ने विद्यार्थी धेरै हुनुपर्ने होइन र ? उद्योग वा खाद्य प्रविधिजस्ता विषयमा पनि निकै कम कलेज छन् । यसको कारण के हो ?
कृषि क्याम्पस खोल्न कलेजसँग कम्तीमा २७ बिघा जग्गा हुनुपर्ने सरकारी नीति छ । बीउबिजन, नयाँ बालीका लागि वैज्ञानिकजस्ता अन्य खर्च पनि धेरै छन् । जग्गा धेरै महँगो भएकाले यस्तो कलेज खोल्न निजी क्षेत्र अगाडि नआएको हो । अन्य प्राविधिक कलेज खोल्न पनि त्यस्तै कडा प्रावधान राखिएका छन् । यस्ता काम सरकारबाहेक अरूले सक्दैनन् । निजी क्षेत्रका लागि सबैभन्दा सजिलो विषय भनेको म्यानेजमेन्ट नै हो । विद्यार्थीको आकर्षण पनि कृषिमा भन्दा म्यानेजमेन्टमै बढी देखिन्छ । सरकारी नीति एवं विद्यार्थीको रुचिका कारण हामीले नयाँ विषयमा प्रगति गर्न नसकेका हौं ।
संसार धेरै अघि बढिसकेको छ, शिक्षामा विविधता आइसकेको छ । नेपालीहरू भने पुरानै शिक्षा पद्धतिमा अल्भिmरहेका छन् । कस्तो लाग्छ ?
अब परम्परागत शिक्षाको भविष्य छैन । अहिले मानविकी विषय पढ्ने विद्यार्थी घटिरहेका छन् । नयाँ विषयमा विद्यार्थीहरूको चाप बढ्दो छ । आफूले चाहेको विषय पढ्न नपाएको अवस्थामा घर-जग्गा बेचेर भए पनि विदेश जाने चलन बढेको छ । नेपालका म्यानेजमेन्ट कलेजहरूले पनि नयाँ-नयाँ स्किमका साथ कलेज सञ्चालन गरिरहेका छन् । यसरी हेर्दा म सधैं यसैगरी कलेज चलाउँछु भन्नेहरू विस्तारै फेजआउट हुन्छन् ।
यस्तो अवस्थामा तपाईंहरूले फेरी नयाँ कलेज खोल्नुभएको छ । यति धेरै म्यानेजमेन्ट कलेज हुँदाहुँदै नर्भिक बिजनेस कलेज किन खोल्नुपर्यो ?
नेपालमा इज्जतका लागि शिक्षामा लगानी गरिएको पाइन्छ । वसन्त चौधरी उद्योगपति भएका कारण इज्जतका लागि पनि राम्रो कलेज खोलौं भन्ने चाहना भयो होला । तैपनि ठूला उद्योगपतिले कलेज खोलेपछि यसबाट उत्पादन भएका विद्यार्थीले बाहिर रोजगारी खोज्नु नपरोस्, क्षमताअनुसार चौधरी ग्रुपमै काम पाऊन् भन्ने उद्देश्य राखेर मैले योजना बनाएको छु । कलेजले शिक्षा मात्र होइन, रोजगारीको अवसर पनि सिर्जना गर्नुपर्छ भनेर यो योजना लागू गरिएको हो ।