साप्ताहिक संवाददाता
प्रतिष्ठा
गायिका प्रतिष्ठा अमात्य विष्टको पहिलो गीति एल्बम 'प्रतिष्ठा' को विमोचन संस्कृतिविद् सत्यमोहन जोशीले गरेका छन् । संगीतकार देवेन्द्र राईको एकल संगीतमा तयार पारिएका सातवटा गीतको यो एल्बमका शब्दहरू गायिका विष्टले नै रचना गरेकी हुन् । समारोहमा 'हरपल हरक्षण' गीतको म्युजिक भिडियो पनि प्रिमियर गरिएको थियो । एल्बमका गीतहरू हलिउडको प्याटि्रक विलियम्स स्टुडियोमा मास्टरिङ गरिएको बताइएको छ ।
झरी
सञ्चारकर्मी डब्बु क्षेत्रीले रचना गरेका गजलहरूको संग्रह 'झरी' लाई संगीतकार शम्भुजित बासकोटा तथा गीतकार कृष्णहरि बरालले काठमाडौंमा सार्वजनिक गरेका छन् । गलजकार क्षेत्रीको उक्त एल्बमका गजलमा जुगल डंगोलको एकल संगीत सुन्न सकिन्छ । एल्बमका गजलहरूमा राजेश पायल राई, निशा देशार, दीपक लिम्बू, दुर्गा खरेल, अञ्जना गुरुङ तथा फुपु तेन्जिङ शेर्पाको स्वर छ । समारोहमा 'झरीले रुझ्दा पनि' गीतको म्युजिक भिडियोसमेत प्रिमियर गरिएको थियो ।
चाहियो जागिर हुने
मकवानपुरका गायक बुद्धिमान घिसिङले गाएका गीतहरूको भिसिडी एल्बम 'चाहियो जागिर हुने' लाई नृत्य निर्देशक शंकर बिसी तथा सभासद राजाराम स्याङतानले मनहरी बजारमा विमोचन गरेका छन् । समारोहमा रविनकुमार चेपाङ, सुन्दर लामा, प्रीति लामा, अनिता सुवेदी, ईश्वर खड्का आदि गायक-गायिकाले गीत-संगीत प्रस्तुत गरेका थिए । एल्बममा आउने दसैं नि, चाहियो जागिर हुने तथा छुट्टीमा घर आको गीतका म्युजिक भिडियो संकलित छन् ।
भुवनको यात्रा संगीतको
गायक भुवन प्यासी आफ्नो दोस्रो एल्बम 'यात्रा संगीतको' लिएर श्रोतामाझ आएका छन् । पहिलो एल्बम 'यादहरू' को सफलतापछि भुवन दोस्रो एल्बमको तयारीमा जुटेका थिए । विभिन्न चलचित्रमा समेत स्वर दिइसकेका भुवनले अन्य गायक-गायिका तथा संगीतकारहरूको एल्बममा समेत स्वर दिइसकेका छन् । उनको चलचित्र 'भेटी' मा समाविष्ट गीत 'त्यो मुहार...' लोकप्रिय मानिन्छ ।
फिरोजको पहिलो एल्बम
युवा गायक फिरोज बस्नेतले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेका छन् । चारवटा गीत समाविष्ट उक्त एल्बमको शीर्षक 'गीत' राखिएको छ । द डिभाई म्युजिक काठमाडौंले बजारमा ल्याएको एल्बमका गीतमा अर्जुन पोखरेल, राम सिटौला, रवि मल्ल तथा इन्द्र आरपीको संगीत छ भने शब्द संगीतकार सिटौला, आरपी मल्ल तथा नरेन्द्र आभास धामीको छ ।
पुर्खादेखि
गायक फणीन्द्र सुवेदी नयाँ एल्बम 'पुर्खादेखि' लिएर स्रोतामाझ आएका छन् । २०३४ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गरेर ०४६ सालसम्म निरन्तरता दिएपछि फणीन्द्र गीतसंगीतको क्षेत्रमा पुन: सक्रिय भएका हुन् ।