साप्ताहिक संवाददाता
सुदूरपश्चिमतिर होली भिन्न ढंगले मनाइन्छ । होलीको अवसरमा त्यहाँ तीन/चार दिनसम्म देउडा नाचिन्छ । मलाई देउडा मनपरे पनि त्यसमा ताल मिलाउन आउँदैन । एक पटकको होलीमा म देउडा नाच्न तम्सिएँ । यद्यपि होसमा होइन, बेहोसीमा ।
हामी एकआपसमा लोला छ्यापाछाप गदै होली खेलिरहेका थियौ । त्यहीबेला साथीहरूले झुक्याएर मलाई भाङ ख्वाएछन् । मलाई बिस्तारै भाङले छोप्दै लग्यो । डर, लाज हरायो । अन्तत: म देउडा नाच्न तम्सिएँ । साथीहरू नियमबद्ध ढंगले देउडा नाचिरहेका थिए, म त्यही पंक्तिमा घुसि्रएँ । त्यसदिन मैले कसरी खुट्टाको ताल मिलाएँ ? थाहा छैन । आखिर भाङको जोसमा जीवनमै पहिलो पटक देउडा नाचियो । त्यसपछिका दिनमा मलाई देउडा नाच्न त्यती गाह्रो लागेन । गाँजाले त गजबको आत्माविश्वास पो दिलाउँदो रहेछ । त्यसयता होलीमा धेरै पटक देउडा नाचियो ।
होली मलाई एकदमै मनपर्ने पर्व हो । मैले रंगहरूसँग खेल्दै नियमित होली मनाउँदै आएको छु । यद्यपि होलीको नाममा अहिले उच्छृंखलता बढेको छ । बाटोमा हिँडिरहेका बटुवालाई लोला छ्यापिन्छ, छतमाथिबाट पानी खन्याइन्छ । यसले होलीको रमाइलो पक्षलाई ओझेलमा पारेजस्तो लाग्छ । कामको सिलसिलामा हिँडिरहेका बेला मैले पनि थुप्रै पटक लोला खाएको छु । फेरि लोलामा दुर्गन्धित पानी मिसाएइको हुन्छ । आफ्नो मनोरञ्जनका लागि अरूलाई मारमा पार्नु कुनै पनि दृष्टिले राम्रो होइन ।