साप्ताहिक संवाददाता
राजा प्रताप मल्लको जोर-जबर्जस्तीमा परेपछि त्यसको पीडा सहन नसकी ती बालिकाको तत्कालै मृत्यु भयो । बालिकाको मृत्युपछि महापातकको डरले राजा प्रताप मल्ल थरथर काँप्न थाले । राजाको त्यस्तो अवस्था देखेपछि उनलाई तत्काल पशुपतिनाथको शरणमा लगियो ।
पशुपतिनाथमा राजा प्रताप मल्ल प्रायश्चित गर्दै लगभग तीन महिना बसे । सोही बसाइका क्रममा राजा प्रताप मल्लले पशुपतिनाथमा कोटीहोम गर्नुका साथै कोटी लिंगको समेत स्थापना गरे । अहिले हामीले पशुपतिनाथको छानामा देख्दै आएको सुनको गजुर पनि राजा प्रताप मल्लले आफ्नो त्यही पापमोचनका लागि चढाएका हुन् । त्यतिमात्र होइन आफ्नो पापमोचनका लागि राजा प्रताप मल्लले त्यतिबेलाको राजपरिवारमा रहेका सम्पूर्ण पुरुष सदस्यको तुलादान (शरीरको तौल बराबरको रजत मुद्रा) समेत गराए । त्यसपछि दरबारका तान्त्रिक लम्बकर्ण भट्टले पापमोचन भएको जानकारी गराएपछि राजा प्रताप मल्ल हनुमानढोका दरबार फर्किएर राजपाटमा संलग्न भए । त्यही खुसीयालीमा रचना गरिएको नाटक 'गीति दिगम्बर' लाई अहिले पनि मल्लकालीन साहित्यको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ ।