माङ्खा, सिन्धुपाल्चोकका शम्भु सुवेदी भूकम्प आउँदा घट्टेकुलोमा थिए । उनी आफू त सुरक्षित रहे तर गाउँमा उनकी आमा र भाउजूलाई घरले किच्यो । घर ध्वस्त भयो । घरबास र आफन्त गुमाएका शम्भुलाई सही नसक्नु पीडा भयो । आमा र भाउजू गुमाएर शोकमा डुबेका सुवेदी पटक–पटक आइरहने पराकम्पले मानसिक रूपमा विक्षिप्त भए । यतिबेला उनलाई एकातिर आमाको सम्झनाले सताइरहेको छ भने फेरि भूकम्प आउने होकी भन्ने त्रासले पनि लखेटिरहेको छ ।
महाबौद्ध, काठमाडौंका ७२ वर्षीय हरिहरमान श्रेष्ठ भूकम्प आउँदा आफ्नो ६ तले घरको पाँचौं तलामा थिए । घरको छैटौं तला सामान्य चर्किए पनि उनको मन भने असाध्यै चर्कियो । ७० वर्षीया श्रीमतीसँग बस्दै आएका श्रेष्ठको घरमा डेरा गरी बस्नेहरू खुल्ला स्थान वा गाउँको घरतिर गएपछि उनी एक्लो भए । उनको वृद्ध शरीर र मस्तिष्कमा त्रासले डेरा जमायो । दुई सन्तान विदेशमा रहेकाले उनको सहारा कोही भएनन् । निरन्तर आइरहने पराकम्पको त्रास एकातिर थियो भने विपत्का बेला सन्तानको आवश्यकताले उनलाई मानसिक रूपमा बिरामी बनाइदियो । मुटुमा पेसमेकर राखेका हरिहरमानको मन एक महिनादेखि शान्त हुन सकेको छैन ।
अर्जुन, शम्भु र हरिहरमान भूकम्पबाट मानसिक रूपमा त्रसितहरूका प्रतिनिधि पात्र मात्र हुन् । लाखौं भौतिक संरचना क्षति भएका छन् । हजारौं मानिसको मृत्यु भएको छ । घरबार गुमाएकाहरूको पनि उस्तै चर्चा छ, तर महाविपत्तिमा परेर मानसिक क्षति बेहोरेकाहरूको चर्चा हुन सकिरहेको छैन । भविष्यमा पर्न सक्ने मानसिक आघातका बारेमा कसैले सोचिरहेको छैन । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राजु बराल भन्छन्– ‘हजारौं घाइते, लाखौं पीडित यतिबेला जटिल मनोदशाबाट गुज्रिरहेका छन्, यतातिर पनि सोच्ने बेला आएको छ,’ बरालले भने– अब त्रसित मानिसहरूलाई मनोपरामर्शमार्फत खुसीको बाटोमा मोड्न सक्नुपर्छ ।’
मनोविद्हरू भन्छन्, कतिपय मानिसमा मनोवैज्ञानिक तथा मनोसामाजिक असर बढ्दै गएर मनोरोगको चरणमा पुग्न सक्छ । भूकम्प र त्यसपछि आइरहने पराकम्पका कारण मन आत्तिने, डराउने, ठूलो भूकम्प आउँछ कि भनेर डराउने मात्र होइन, श्वासप्रश्वास असामान्य भएर समस्या निम्त्याउने योग गुरु रवि शंकरको ‘द आर्ट अफ लिभिङ’की प्रशिक्षक निभा माथेमा बताउँछिन् । ‘दु:ख, पीडा एवं मानसिक त्रास हटाउन वैज्ञानिक विधि अपनाई मन भूलाउन सकिन्छ’, माथेमा भन्छिन्– ‘भूकम्पका बारेमा आवश्यकताभन्दा बढी सोच्ने र एकोहोरो भएर भूकम्पका बारेमा कुरा गर्न छाडेर आफूलाई व्यस्त राख्न सक्नुपर्छ ।’ कतिपय चिकित्सकहरू भने मानसिक समस्याका बारेमा अस्पतालमा गएर उपचार गर्नुभन्दा पनि मनोपरामर्श लिन सुझाव दिन्छन् ।
भूकम्पमा परेर घरबास गुमाएकाहरू, आफन्त तथा साथीभाइको मृत्यु भएकाहरूका साथै घाइते, पीडित र प्रभावित मात्र नभै उद्धार तथा राहतमा खटिएकाहरूमा समेत गम्भीर किसिमका मानसिक समस्या देखिने मनोचिकित्सकहरू बताउँछन् ।
महाविपत्तिपछि करिब ६ महिनासम्म त्रासले मानिसलाई सताइरहने भएकाले सरोकारवालाहरूले यसको भन्दा चाँडो व्यवस्थापन गर्नुपर्ने सुझाव एमनेस्टी इन्टरनेसनल, नेपालका उपाध्यक्ष प्रताप पौडेलको छ । मानिसहरूलाई त्रास र पीडा बिर्साउनैका लागि भए पनि घरबासको व्यवस्था यथाशक्य चाँडो गर्न सक्नुपर्छ । सधैं त्रास लिएर बस्नुभन्दा आफैंलाई सम्हाल्ने प्रयास गर्न पनि पौडेलको सुझाव छ ।
अहिलेजस्तो निरन्तर पराकम्पहरू आइरहने हो भने र त्रासको अवस्था चाँडै टुङ्गिएन भने ३० प्रतिशत मानिस मनोरोगको सिकार हुन सक्ने चिकित्सकहरूको दाबी छ । यस्तोबेला निरन्तर भूकम्पका बारेमा कुरा गरिरहने, अब के होला भनेर बढी सोचिरहने पनि नकरात्मक असर पार्न सक्छ । त्यसैले नियमित काममा व्यस्त हुने, मनोरञ्जन गर्ने, गीत गुनगुनाउने जस्ता गतिविधिहरू गरेर आफ्नो दैनिकीलाई सामान्य बनाउन सकिन्छ । भूकम्प आउनु प्राकृतिक कुरा भएकाले यसलाई सामान्य रूपमा लिनुपर्ने बी एन्ड बी अस्पतालका चिकित्सक फिलिपराज रञ्जितकार बताउँछन् । डा. रञ्जितकार भन्छन्— आफू सुरक्षित रहनु, आफन्त एवं साथीभाइहरूसँग कुराकानी गर्नु, राम्रा पुस्तक पढ्नु, अनुभूतिहरू लेख्नु, योग गर्नु तथा सकारात्मक सोच राखेर पुराना घटनाहरूलाई बिर्सनसक्नु नै उत्तम हुन्छ ।
अन्य देशको अभ्यास
भूकम्पपछि मनोरोगले विक्षिप्त भएका मानिसलाई एकपटक उपचार अर्थात् मनोपरामर्श दिएपछि केही देशका भूकम्पपीडितहरूमा सकरात्मक असर परेको पाइन्छ । मनोसामाजिक व्यवस्थापनको राम्रो कार्यक्रम संचालन गर्दा जापानमा २० प्रतिशत मानिस मात्र मनोरोगको अवस्थामा पुगेका थिए, तर कमजोर व्यवस्थापनका कारण हाइटीमा ६० प्रतिशत पीडित तथा प्रभावितहरू मनोरोगबाट ग्रसित भएका थिए । विश्व स्वास्थ्य संगठनले भूकम्पपछि विशेष गरेर व्यक्ति विशेषमा यस्तो समस्या उत्पन्न हुन सक्ने जनाएको छ । यता नेपालको सन्दर्भमा भने स्वास्थ्य संगठनले महाविपत्तिपछि गम्भीर अवस्था सिर्जना हुन नदिन शान्त, आशावादी, सुरक्षित अनुभव गर्न सुझाएको छ ।
नेपाल सरकारको योजना
नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले भूकम्पपीडित एवं प्रभावित मानिसहरूलाई परामर्श र उपचारका लागि बृहत् योजना अघि सारेको छ । मानसिक रोग विशेषज्ञहरूका साथै यही क्षेत्रमा काम गरेका अनुभवीहरू, संघसस्था तथा उच्च अधिकारीहरू समेटिएको कार्यदल नै गठन गरिएको छ । पहिलो चरणमा मनोचिकित्सा परामर्श एव उपचारका लागि निर्देशिका बनाएर प्रभावित क्षेत्रमा उपचार वा पुनस्र्थापना केन्द्र खोल्ने तयारी पनि भैरहेको छ । विद्यालयहरूमा भने अभिनय र संगीत थेरापी विधिबाट कक्षा संचालन गरिने शिक्षा मन्त्रालयको योजना छ ।
यद्यपि, नेपालमा मनोचिकित्सकहरूको संख्या न्यून रहेकाले समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् । नेपालमा हाल विशेषज्ञ मनोविद्को संख्या १५ तथा मनोचिकित्सकको संख्या करिब ७० रहेको बताइन्छ ।
केही व्यक्तिको अनुभव
सानेपामा बस्दै आएका त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक राजु बराललाई हिजोआजको पराकम्पका बारेमा चासो नै हुन छाडेको छ । भूकम्पपछिका केही दिन त्रासमा बसेका बराल अब बिस्तारै भूकम्पलाई भुल्ने प्रयास गरिरहेका छन् । दिनभर काममा व्यस्त भएपछि पराकम्प पनि बेलुकी संचारमाध्यम हेरेपछि मात्र थाहा पाउने उनी बताउँछन् । त्रासमुक्त रहन आफ्ना परिवारलाई पनि उनले आफन्तकहाँ भेटघाट एवं मनोरञ्जन गराउने काम गरिरहेका छन् ।
राजु बराल, उप–प्राध्यापक
त्रिभुवन विश्वविद्यालय
एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सन्तोसी अधिकारी हिजोआजको पराकम्पबाट डराउँदिनन् । बिहानदेखि बेलुकीसम्म भूकम्प प्रभावित क्षेत्रमा पुगेर रिपोर्टिङ गर्दागर्दै कतिपय पराकम्प त पत्तै नपाएको उनले बताइन । आफू व्यस्त रहेकाले भूकम्पलाई बिस्तारै बिर्सन थालेको तथा खोजमूलक रिपोर्टिङमा समय बिताइरहेको अधिकारीको तर्क छ ।
सन्तोषी अधिकारी, पत्रकार
बाग्लुङका प्रेम श्रीष बागबजारमा साथीसँग डेरा गरेर बस्छन् । भूकम्पपछि एकसातासम्म बाक्ला घर भएको उक्त क्षेत्रमा उनी आफ्नै डेरासँग त्रसित थिए । नजिकै खुल्ला स्थान नभएकाले उनलाई धेरैदिनसम्म तनाव भयो, तर हिजोआजका पराकम्पको खासै वास्ता गर्न छाडेको प्रेमले बताए । आफ्नै कामका दौरानमा कम्प्युटरमा अभ्यस्त हुने भएकाले पनि प्रेमलाई भूकम्पदेखि उत्तिसारो डर लाग्दैन ।
प्रेम श्रीष, ग्राफिक्स डिजाइनर
टेकु, काठमाडौंमा परिवारसँग बस्दै आएकी नुरसमा खानलाई हिजोआज पराकम्पदेखि त्यति डर लाग्दैन । धेरै तनाव लिँदा खानामा रुचि नहुने, टाउको दुख्ने भएकाले उनी हिजोआज हास्य चलचित्र हेरेर तथा पुस्तक पढेर दैनिकी बिताइरहेकी छिन । कारुणिक दृश्यहरू टिभिमा देखिने भएकाले समाचार पनि हेर्न छाडेको उनी बताउँछिन् ।
नुरसमा खान, विद्यार्थी
सर्वनामका रंगकर्मी राज शाह भूकम्पछिका दिनहरू नाटकमै नयाँ सिर्जना खोजिरहेका छन् । उनी बढी समय रंगकर्मीहरूसँगै बिताइरहेका छन् । आइरहेका पराकम्पहरूलाई बेवास्ता गर्दै राहत वितरण गर्ने काममा पनि उनको दैनिकी बितिरहेको छ । दैनिक व्यस्त हुने प्रयास गर्न तथा तनावमुक्त हुन विपश्यना ध्यान गर्ने योजना उनको छ ।
राज शाह, रंगकर्मी