अंकित बाबु अधिकारी कमर्शीयल गायक होइनन् । तर नेपाली तारा सिजन थ्रीमा टप ऐटसम्म पूग्नुले उनको सांगितिक दुनियाँ रातारात व्यापक भइदियो । उनका फ्यान सर्कल साथीसंगीभन्दा बाहिर निस्किए । अधिकारी हौसिन बाँकी के चाहियो ? हालै उनले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भन्छन्, “यो नेपाली तारामा दर्शकले भोटमार्फत ममा गरेको लगानी प्रति धन्यवाद हो ।”
‘राम नाम’ बोलको गीत खासमा उनी स्वयंले ३ बर्षअघि लेखेका थिए । पहिलो कम्पोजिसन पनि गरे । केही सार्वजनिक समारोहहरुमा गाउँदा गाउँदै त्यसले नसोचेको प्रतिक्रिया पायो । “जसले गर्दा मैले तत्काल भिडियोमा ल्याउनुभन्दा अझ परिमार्जित गर्नतर्फ लागें,” उनले साप्ताहिकसँग भने, “गीतको स्वभाव, शब्द चल्तीको भन्दा भिन्न रहेकाले पनि अहिलेको स्वरुपमा ल्याउनुअघि थुप्रै एक्सपेरिमेन्ट गर्नुपर्यो ।” गीतमा एकातर्फ धर्म, दर्शनका गहिरा कुरा छन् भने अर्कोतर्फ समसामयिक परिवेश छ । रामलीला मञ्चनका क्रममा समयमा आइनपुगेको पात्र रामलाई खोज्न अर्को पात्र हनुमानको कसरत छ गीतमा ।
थियटरमा साधारण पात्र मात्र लाग्ने हनुमान बाहिर निस्केपछि भने सांच्चिकै त्रेतायुगको हनुमान कलियुगमा आएको भान हुन्छ । र, उसले हरेक साधारण व्यक्तिमा राम देख्न थाल्छ । म्युजिक “साधारण प्रस्तुतिमा गहिरो सन्देश बोकेको गीत हो यो,” भिडियो निर्देशक आलोक लम्साल भन्छन्, “तर दर्शकलाई कसरी यसको भाव सजिलोगरी बुझाउने भनेर पृष्ठिभूमिमा थुप्रै तरिकाले गृहकार्य गरिएको छ ।” युट्युबमा राखिएको दोस्रो दिन नपुग्दै गीतलाई २० हजार भन्दा बढिले हेर्नु सायद त्यसकै प्रतिफल हो । गीतको शब्द तथा संगीत अधिकारी स्वयंको हो ।