नेपालमा नाटक घर खुल्ने र रंगमञ्चमा पुगेर नाटक हेर्नेहरूको भीड बढिरहेका बेला अमेरिकामा पहिलो पटक नेपाली नाटक मञ्चन हुने भएको छ । आउदो डिसेम्बर १३ तारिखका दिन न्युयोर्कको म्यानह्याटनको ब्रोडवेमा नेपाली नाटक ‘जोडियोस भत्किएका मनहरू’ मञ्चन हुने भएको हो ।
नाटक अशेष मल्लले लेखेका हुन् भने यसको निर्देशन हरिबहादुर थापाले गरेका हुन् । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भूकम्पमा परी भत्किएका मनहरूलाई जोड्ने प्रयास गर्दैछन् ।
मालती–मङ्गले र अमरसिंहजस्ता प्रसिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका थापाले यस नाटकको निर्माण र निर्देशन गर्दैछन् । थापा विगत दुई महिनादेखि न्युयोर्कमै कलाकारहरूलाई नाटकको प्रशिक्षण दिइरहेका छन् । ‘मलाई न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने ठूलो रहर थियो, त्यो अब पूरा हुने संकेत देखिएको छ,’ थापा भने ।
नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय संवेदना, घटना र प्रतिक्रिया नै नाटकको सार भएको थापाले जानकारी दिए । न्युयोर्कमा हुने विभिन्न रंगमञ्चीय प्रस्तुतिलाई दर्शक संख्याका आधारमा तीन भागमा विभाजन गरिएको पनि थापाले जानकारी दिए ।
अमेरिकाको दोस्रो ठूलो नाटक घर अफ ब्रोडवे थिएटरमा नेपाली नाटक मञ्चन हुन लागेको हो । उक्त नाटक घरमा ४ सय ९९ सिट क्षमता छ ।
नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरू नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष थापा, ज्योतिकुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहनेछ । मञ्चन हुन लागेको नाटक करिब एक घण्टा लामो छ ।