- उषा खड्गी, मोडल/पूर्व मिस नेपाल
जाडो असाध्यै बढेपछि यो वर्ष कति धेरै जाडो बढेको तथा प्रचण्ड गर्मी भएपछि यसपटकको जस्तो गर्मी त पहिले कहिल्यै भएको थिएन भन्नु मानवीय स्वभाव हो । म पनि आफ्नो घर–परिवार तथा साथीहरूमाझ जाडो र गर्मीका बारेमा यस्तै टिप्पणी गर्छु । वास्तवमा जाडो र गर्मी हुनु प्राकृतिक कुरा हो । जाडोमा असाध्यै जाडो हुन्छ, गर्मीमा बढी गर्मी हुन्छ । म भने जाडो र गर्मीमा पनि आफूलाई सन्तुलित राख्न सिपालु छु । त्यसैले मलाई जाडो र गर्मीमा कुन मौसम मन पर्छ भनेर सोध्नुभयो भने म दुवै मन पर्छ भन्छु । फेसन डिजाइनिङको क्षेत्रमा सक्रिय भएकाले पनि होला, मलाई दुवै मौसम उत्तिकै मन पर्छन्, उत्तिकै महत्वपूर्ण लाग्छन् ।
जाडोको पहिरनको विषयमा कुरा गर्नुपर्दा फेसनेबल मानिसलाई यो मौसम मन नपर्न सक्छ तर म भने जाडोमा पनि फेसनेबल बन्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु । वास्तवमा जाडो मौसममा केही मेहनत गरियो भने फेसनेबल बन्न सकिन्छ । पहिलो कुरा त जाडोमा न्याना लुगा लगाउन पाइन्छ । घुँडासम्म आउने बुट लगाउन पाइन्छ । खाना पनि रुच्छ । सामान्य रुघाखोकीबाहेक अन्य स्वास्थ्य समस्याले पनि सताउँदैन ।
जाडो मौसममा म प्राय: ऊनका पहिरन लगाउँछु । ऊनबाट बनेका प्राय: सबै पहिरन मलाई मन पर्छन् । ऊनका स्कर्ट मेरो पहिलो रोजाइमा पर्छन् । त्यसका साथै जाडोमा म ऊनका स्वीटर पनि नियमित लगाउँछु । कोट, लेगिन्स तथा घुँडासम्म आउने बुट पनि म प्राय: छुटाउँदिनँ । गर्मी मौसममा बुट लगाएर हिंड्न गाह्रो हुन्छ, त्यसैले जाडोका लागि भनेर हरेक वर्ष बुट किन्छु । जाडो भन्नेबित्तिकै गम्म लुगा लगाएर हिंड्नुपर्छ भन्ने छैन । थोरै लुगामा पनि आफूलाई न्यानो बनाउन सकिन्छ । म जाडोमा पनि प्राय: वन पिस तथा हाफ स्कर्टहरू लगाउँछु । यी पहिरनसँग लेगिन्स तथा लङ बुट लगाइयो भने जाडोले छुन पनि सक्दैन । म बुट तथा जुत्ताको कतिसम्म पारखी छु भने मसँग करिब २ सय जोर त जुत्ता नै छन् । त्यसमा पनि बुट र हाई हिल्स बढी छन् । मसँग प्राय: सबै रंगका जुत्ता तथा बुट छन् ।
जाडोमा छालाको हेरचाहमा पनि विशेष ध्यान दिनुपर्छ । यो मौसममा छालाको हेरचाहका लागि म प्राय: लोरियलका उत्पादन प्रयोग गर्छु । यसबाहेक क्लिन्जिङ तथा टोनिङका लागि निभिया तथा मेकअपका लागि रेभलोनका उत्पादनहरू प्रयोग गर्छु ।