साप्ताहिक संवाददाता
नेपाल विद्युत् प्राधिकरणले सहायक र अधिकृत स्तरका विभिन्न पदका लागि ५ सय १ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले सहायक स्तरका विभिन्न पदका लागि ३ सय ९५ जना तथा अधिकृतस्तरका लागि १ सय ६ जना कर्मचारी माग गरेको हो ।
कुन पदमा कति ?
अधिकृतस्तरका पदअन्तर्गत वातावरणविद्, जियोलोस्टि, सर्भे अधिकृत, इन्जिनियर, तथ्यांकशास्त्री, अर्थशास्त्री, कानुन अधिकृत, प्रबन्धक, सहायक प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, उप–निर्देशक, सह–निर्देशक आदि गरी १ सय ६ जना कर्मचारी माग गरिएको छ ।
त्यस्तै सहायकस्तरका पदअन्तर्गत मिटररिडर सुपरभाइजरमा १९ जना, लेखापालमा १९ जना, इलेक्ट्रिक सुपरभाइजर ४० जना, मेकानिकल सुपरभाइजर ७ जना, सिभिल सुपरभाइजर ३ जना, हेभी इक्विप्मेन्ट अपरेटर १ जना, सिनियर मिटररिडर ७२ जना, सहायक लेखापाल २४ जना माग गरिएको छ । त्यस्तै फोरम्यान इलेक्ट्रिसियन ७८ जना, सिभिल इलेक्ट्रिसियन ४ जना, फोरम्यान ड्राइभर ८ जना, मिटर रिडर ३५ जना, इलेक्ट्रिसियन ८० जना तथा ड्राइभर ५ जना माग गरिएको छ ।
दरखास्त कहाँ कसरी ?
दरखास्त फारम नेपाल विद्युत् प्राधिकरणको वेबसाइट धधध।लभब।यचन।लउ बाट डाउनलोड गरी अथवा प्रिन्ट/फोटोकपी गरी भर्न सकिन्छ । दरखास्त फारम सहायक स्तरका लागि जुन क्षेत्रको पदका लागि बुझाउने हो, सोही क्षेत्रका प्राधिकरणका क्षेत्रीय कार्यालयहरू विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगन्ज, अत्तरियामा तथा अधिकृत स्तर र काठमाडांै क्षेत्रको सहायक स्तरको हकमा नेपाल विद्युत् प्राधिकरण, तालिम केन्द्र, खरिपाटी, भक्तपुरमा बुझाउनु पर्नेछ ।
परीक्षा दस्तुर
अधिकृत स्तरका पदहरूमा तह १० का लागि १ हजार ५ सय ५० रुपैयाँ, ९ तहका लागि १ हजार २ सय ५० रुपैयाँ, ८ तहका लागि १ हजार ५० रुपैयाँ तथा तह ७ का लागि ९ सय ५० रुपैयाँ लाग्नेछ । त्यस्तै एउटै पदमा समावेशीतर्फ पनि आवेदन दिन थप ३ सय रुपैयाँ लाग्छ ।
सहायकस्तरका पदअन्तर्गत तह ५ का लागि ६ सय २५ रुपैयाँ, तह ४ का लागि ५ सय २५ रुपैयाँ, तह ३ का लागि ४ सय २५ रुपैयाँ लाग्नेछ । यसमा समावेशी तहमा आवेदन दिन थप २ सय रुपैयाँ लाग्छ ।
आवश्यक कागजात
दरखास्त दिनु अघि के–के कागजात आवश्यक छ भन्ने जान्नु आवश्यक हुन्छ । प्राधिकरणको विज्ञापनअनुसार दरखास्त दिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो, शैक्षिक योग्यता तथा तालिमको प्रमाणपत्र प्रतिलिपि, चारित्रिक प्रमाणपत्र वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपि, विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारहरूको हकमा समकक्षताको प्रतिलिपि आवश्यक हुन्छ ।
त्यसैगरी प्राविधिक सेवाअन्तर्गतका अधिकृतस्तरका इलेक्ट्रिकल/मेकानिकल/ सिभिल/कम्प्युटर जस्ता इन्जिनियरिङ पदका लागि नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको प्रमाणपत्र, कानुन उपसमूहका लागि अधिवक्ताको प्रमाणपत्र, सवारी चालक उपसमूहका लागि सम्बन्धित सवारीको चालक अनुपमतिपत्र, सीप परीक्षणका प्रमाणपत्र आवश्यक पर्नेलाई सीप प्रमाणपत्र आवश्यक हुन्छ ।
समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरूले समावेशीताको प्रमाणपत्र पनि पेस गर्नुपर्ने हुन्छ ।
आदिवासी/जनजातिको हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सचीकृत भएको जाति भित्र एकभन्दा बढी थर भए सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपि, मधेसीको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेबमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गरिदिएको प्रमाणपत्रको प्रतिलिपि, दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीका आधारमा, तर नेपाल राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थर भए सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गरिएको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ ।
त्यस्तै अपांगको हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित गरेको पत्रको प्रतिलिपि, पिछडिएको क्षेत्रको हकमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगुर हुम्ला जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरिएको पत्रको प्रतिलिपि आवश्यक हुन्छ ।