साप्ताहिक संवाददाता
अभिनेत्री ऋचा शर्मा पुस्तक क्रेजी थोरै नायिकामध्ये एक हुन् । उनी फुर्सद हुनासाथ पुस्तकको पाना पल्टाउन थाल्छिन् । यतिबेला ऋचाको हातमा बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ छ । साँझको खानापछि उनी पुस्तकमै घोत्लिन्छिन् । ‘पुस्तक पढेपछि राम्रोसँग निन्द्रा लाग्छ,’ ऋचा भन्छिन्–‘त्यसैले सुत्नुअघि केही न केही पढेकै हुन्छु ।’ राति ९ बजेअघि नै उनी ओछ्यानमा पुगिसकेकी हुन्छिन् ।
सामान्य दिनमा बिहान आठ बजे उनको आँखा खुल्छ । ओछ्यानमै ढल्किएर सामसुङ नोट फाइभमा हात पुर्याउँछिन् । सोसल मिडियामा केही समय रमाएपछि उनको चलायमान दैनिकी प्रारम्भ हुन्छ । ओछ्यान छाडेपछि हल्का ब्रेकफास्ट लिने गरेकी छिन् । ब्रेकफास्टसँगै चिनी हालेको कालो चिया वा कफी पनि हुन्छ ।
बिहान नियमित वर्कआउट उनको कार्यसूचीमित्रै छ । ऋचा इन्सानिटी वर्कआउट गर्छिन्, जसमा योग, एरोविक्स र जुम्माको सम्मिश्रण हुन्छ । ल्यापटपमा म्युजिक बजाएर ४५ मिनेट वर्कआउट गरेपछि शरीर पसिनाले निथु्रक्क भिजिसक्छ । त्यसपछि उनी नुहाइ–धुवाइ फ्रेस हुन्छिन् ।
कोठाको सरसफाइ, ओछ्यान मिलाउने, लुगाफाटो व्यवस्थित गर्नेे काम उनी आफैं गर्छिन् । कपडामा आइरन गर्न पनि उनलाई अल्छी लाग्दैन । कहिलेकाहीं इमेल हेर्ने र रिप्लाई गर्ने काममै लामो समय बित्छ । त्यसपछिको समय भने घरमै पुस्तक पढ्छिन् । चलचित्रको छायांकन वा अन्य काम नभएका बेला उनी पुस्तक पढेरै दिन बिताउँछिन् ।
ऋचा अहिले नेपाली साहित्यमा बढी रुचि राख्न थालेकी छिन् । उनलाई नयनराज पाण्डे, बुद्धिसागरजस्ता लेखकको कृति बढी पठनीय र रुचिकर लाग्छन् । पढ्नका लागि अलि शान्त स्थान रोज्ने गरेकी छिन् । ‘मलाई धेरै कोलाहाल, भीडभाडमा पढ्न मन लाग्दैन,’ ऋचा भन्छिन्– ‘त्यसैले शान्त ठाउँ खोज्ने गरेकी छु ।’
मध्याह्न १ बजेतिर उनको खाना तयार हुन्छ । धेरैजसो आमा वा हजुरआमाले नै भान्साको काम गर्नुहुन्छ । घरमा बूढाबूढी भएकाले खानामा त्यति चिल्लो–पिरो हँुदैन । सादा खानामै उनको स्वाद भिजेको छ । बिहानको खानामा दाल, भात, तरकारी, अचार हुने गरेको छ । ऋचा खाने कुराकी पारखी होइनन् ।
उनलाई जस्तो खाना भए पनि चित्त वुझ्छ । हरेक छाकमा गोलभेडा र धनियाँको अचार र सागचाहिँ भएकै राम्रो लाग्छ । त्यसो त उनको जिब्रोमा माछामासुको स्वाद पनि भिजेको छ । मासुमा उनलाई कुखुराको मासु बढी स्वादिलो लाग्छ । ‘थोरै तेलमा मरमसला हालेर भुटेको कुखुराको मासु मीठो लाग्छ,’ ऋचा भन्छिन् ।
उनलाई कहिलेकाहीं भान्साको काममा पनि जाँगर चल्छ । खासगरी आफन्तहरू घरमा आएका बेला ऋचा भान्सामा छिर्ने गरेकी छिन् । उनी पाक्कलामा निपूर्ण छिन् । ऋचाले तयार गरेका परिकार सबैले स्वादिलो मान्ने गरेका छन् ।
ऋचा मध्याह्नको खाना भरपेट खान्छिन् । किनभने उनको घरमा एक छाक मात्र दाल, भात पाक्ने गरेको छ । साँझ रोटी वा अन्य हल्का खानेकुरा मात्र हुन्छ ।
दिउँसोको समय चलचित्र हेर्ने, पुस्तक पढ्ने क्रममै बित्छ । उनी पुस्तकजस्तै चलचित्रमा पनि औधी रुचि राख्छिन् । चलचित्र कुनै विशेष खालको हुनुपर्छ भन्ने छैन । उनी नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ जुनसुकै भाषाको चलचित्र हेर्छिन् । कथा, विषय र प्रस्तुति पनि खासै छनौट गर्दिनन् । ‘म जुनसुकै चलचित्र पनि हेर्छु,’ ऋचा भन्छिन्, ‘चलचित्र राम्रै हुनुपर्छ भन्ने छैन ।’
उनी सातैपिच्छे चलचित्र हेर्न जयनेपाल वा कुमारी हल पुगिरहेकी हुन्छिन् । घरबाहिर निस्कँदा उनलाई हल्का मेकअप गर्नुपर्छ । कम्तीमा गाजल र लिपिस्टिक त लगाउनैपर्छ । एसेसरिजमा भने उनको उस्तो आशक्ति छैन । उनको नाडीमा घडीचाहिँ वाँधिएकै हुन्छ । ऋचासँग घडीको कलेक्सन पनि छ ।
सामान्यत: १५ मिनेटमा मेकअप सिध्याउने ऋचा पफर््युमकी पनि सौखिन हुन् । उनी कतै घुम्न गएका बेला घरमा ल्याउने वस्तु पनि फर्फ्युम नै हो । पोइजन ब्रान्डको पर्फ्युम ऋचाको ‘फेवरेट’ हो ।
ऋचा परम्परागत पहिरनमा ठाँटिन रुचाउँछिन् । उनलाई लेहेंगा र साडी बढी मनपर्छ । ऋचासँग २० थान भन्दा बढी साडी छन् । ‘आमा, हजुरआमाले प्रयोग गरेका राम्रा साडी पनि संरक्षित गरेर राखेकी छु,’ ऋचा भन्छिन् ।
उनी सपिङकी सौखिन होइनन् । आवश्यक परेको कुरा मात्र किनमेल गर्न जाँगर चल्छ । बरु, धर्मकर्ममा बढी रुचि राख्छिन् । ब्रत वस्नु, पूजाआजा गर्नु, मन्दिर धाउनु उनको नियमित तालिकामा पर्छ । ‘म पशुपतिनाथको भक्त हुँ,’ ऋचा भन्छिन्– ‘बेला–बेला पूजाका लागि त्यहाँ जाने गरेकी छु ।’ ऋचा हरेक शुक्रबार व्रत बस्छिन् भने सोमबार माछामासु खाँदिनन् ।
ग्याजेट्सप्रति उनको त्यति लगाव छैन । सामसुङको नोट फाइभ र एचपीको ल्यापटप चलाउने ऋचा घुमघाम गर्न मन पराउँछिन् । पोखरा उनलाई मन पर्ने गन्तव्य हो । बाहिर निस्कनुपर्दा उनी सुजुकीको सिलेरियो वा होन्डाको एभिएटर चढ्छिन् ।