२०७१ साउन १५ गते सिन्धुली जिल्लाको दुधौली गाविसस्थित जितपुरमा प्रेम बिष्टलाई विषालु सर्पले हातमा डस्यो । सर्पले डस्दा उनी अलिकति पनि आत्तिएनन् । अचेत अवस्थामा पुग्नुअघिसम्म उनले निरन्तर संवाद गरिरहे । ‘सर्प दंशबाट मर्छु’ भन्ने सोच उनमा आएन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भएपछि विष्ट बाँचे । उनको उपचारमा संलग्न चिकित्सकहरूसमेत अच्चमित भए । कारण थियो, सर्पलले डस्दा नआत्तिनु र रक्तसञ्चार सामान्य अवस्थामा रहनु ।
अधिकांश मानिस सर्पले टोकेपछि आत्तिएर मर्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘एन्टी स्नेक भेनम’को अभावबाट मर्नेहरूको संख्या पनि प्रशस्तै छ । सर्पको डसाइको उपचारका लागि बनाइने औषधि एन्टि स्नेक भेनम विषालु सर्पबाटै निकालिन्छ । ‘एउटा विषालु सर्पबाट १० हजार मानिसको ज्यान बचाउँन सकिन्छ’ विष्टले भने, ‘सर्पले डसेपछि कुरा नबुझी उसलाई मार्नु हँुदैन ।’ विष्टको एउटै सपना छ– नेपालमा ‘एन्टी स्नेक भेनम’ बनाउने उद्योग स्थापना गर्ने । त्यसैले उनी सर्प संरक्षणमा लागेका छन् ।
सर्पको डसाइको औषधि एन्टी स्नेक भेनम नेपालमा पाइँदैन, भारतबाट ल्याउनुपर्छ विष्टले भने, ‘नेपालमा प्रशस्त विषालु सर्प छन्, उद्योग नेपालमा हुनुपर्ने हो, तर छैन । यसले गर्दा नेपालबाट भारतमा सर्प तस्करी हुने गरेको छ ।’ सीमापारीका विभिन्न जिल्लामा समेत सर्पको उद्धार गरिदिने विष्टलाई विभिन्न प्रलोभन पनि आउँछन् । तीन देखि पाँच केजीको गन्गुहारी सर्प ल्याइदिएको खण्डमा दुई करोड भारू दिनेसम्मका प्रलोभन आए तर, उनी प्रलोभनमा परेनन् । राज्यको सम्पति राज्यकै हुने भएकाले समातेका सर्प वन्यजन्तु आरक्षण आदिका साथै अन्य क्षेत्रका वन–जंगलमा छाड्ने गरेको विष्टले बताए ।
संसारमा गन्गुहारी सर्पको टोकाइको औषधी निर्माण भएको छैन । भारतका वैज्ञानिकहरूले यो सर्पको खोज तथा अनुसन्धान गरिरहेका छन् । नेपालबाट गन्गुहारी सर्पका साथै अन्य सर्पको तस्करी हुने गरेको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारी बताउँछन् । २०२८ सालमा भोजपुर जिल्लाको ढाकामुन्द्रे गाविसमा जन्मिएका विष्ट सानैदेखि सर्पसँग नजिकिए । बाल्यकाल खोटाङ जिल्लाको सिनपानी गाविसमा बिताएका विष्टले १० वर्षको उमेरदेखि सर्प समाउन थालेका हुन् । २०५० साल फाल्गुन १५ गतेदेखि नेपाल प्रहरीमा लागेमा प्रेम २१ वर्षसम्म प्रहरी सेवामा रहे । गत मंसिरदेखि उनी सेक्टर वन कार्यालय मंगलबारेमा सशस्त्र वन रक्षकका रूपमा कार्यरत छन् । प्रहरी सेवामा रहदा विष्टले तीन हजार भन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेका छन् ।
प्रहरी सेवाबाट निवृत्त भएको केही महिनासम्म उनको दैनिकी सर्प समात्ने अनि त्यसका बारेमा आम नगरिकलाई जानकारी दिने काममा बित्थ्यो । विराटनगर स्थायी घर भएका विष्टलाई अहिले पनि सर्पबाट छुटकारा दिलाउन फोन आइरहन्छ ।
हालै उनले इटहरीबाट नयाँ प्रजातिको सर्प सेक्टर वन कार्यालय मंगलबारे पुर्याए । ‘रेड किल ब्याक’ प्रजातिको उक्त सर्प नेपालमै पहिलो पटक पाइएको विष्टको दाबी छ । सेक्टर वन कार्यालय मंगलबारेमा ल्याइएको उक्त सर्प सुरक्षित स्थानमा छाड्ने विष्ट बताउँछन् । उक्त सर्पको टोकाइबाट एक जना महिलो मृत्युसमेत भएको छ । वन कार्यालयका कर्मचारीहरूलाई उनले प्रत्यक्ष रूपमा सर्प समातेको देखाएपछि कार्यालयका प्रमुख एकराज दाहाल अचम्मित भए । दाहालले भने, ‘सर्पप्रति प्रेमजीको लगाव वास्तवमै सहरनीय छ ।’ प्रेम विष्टको लक्ष्यमा ऐक्यबद्धता जनाउँदै स्वदेश मै एन्टी स्नेक भेनम उत्पादनका लागि राज्य गम्भीर हुनुपर्ने दाहाल बताउँछन् ।