नायिका झरना थापा बिहान ७ बजेतिर ब्युँझन्छिन् । सुटिङका लागि निस्कनुपर्दा ६ बजेतिरै बेड छोडिसक्छिन् । उठेपछि मनतातो पानी पिउनु, देउतालाई जल चढाउनु, कालो चिया पिउनु, काँचो चना चपाउनु फिट्नेसका लागि क्लब पुग्नु उनको दैनिकी हो ।
दिउँसो ११/१२ तिर झरनाको खाना खाने समय हुन्छ । प्राय: उनको मेनुमा दाल, भात, तरकारी, रोटी, साग, उसिनेको गाजर तथा दूध हुन्छ । मुड चल्दा उनी आफंै खाना बनाउन अघि सर्छिन् । आलु–परौठा उनको प्रिय परिकारमध्ये एक हो । टर्किस, इटालियन तथा कोरियन परिकारको स्वाद चाख्न मन लागे रेस्टुराँ पुग्छिन् । उनले बनाएको खीर, साग, गुन्द्रुक तथा टमाटरमा टिम्मुर हालेको अचार परिवारमा धेरैले रुचाउँछन् ।
कतै कार्यक्रम वा सुटिङमा नगएका बेला झरना घरमै टिभी हेरेर, पुस्तक पढेर वा म्युजिक सुनेर बस्छिन् । दिउँसो खाजाका रूपमा फलफूल खाने र कालो चिया पिउने उनको बानी छ । झरनाले दिनको केही समय फेसबुक र ट्विटरलाई छुट्याएकी छिन् । घुमघाम गर्दाका तस्बिर अपलोड गर्न, स्टाटस लेख्न उनी छुटाउँदिनन् । प्राय: परिवारसँगै बसेर चलचित्र हेर्छिन् । पछिल्लो समयमा पशुपतिप्रसाद र प्रेमगीत उनलाई मन परेका चलचित्र हुन् ।
झरनालाई रोमान्टिक, अलि रमाइला खालका गीत मन पर्छन् । ‘नाचौं–नाचांै लाग्ने खालका गीत सुन्न रुचाउँछु ।’ झरनाले भनिन्, ‘प्रेम गीत तथा मुड फ्रेस बनाउने खालका गीतले मलाई बढी छुन्छन् ।’ यतिबेला उनी बुद्धिसागरको फिरफिरे उपन्यास पढिरहेकी छिन् । उनी अनलाइन र पत्रपत्रिका पनि हेर्न छुटाउँदिनन् ।
झरना ज्योतिषलाई चिना र हात हेराउँछिन् । दायाँ हातका औंलामा तीनवटा र बायाँ हातका औंलामा दुईवटा औंठी लगाएकी थापालाई ज्योतिषमा विश्वास छ ।
झरना कतै जानुपर्दा टेरियस जिप आफंै हुइँक्याउँछिन् । उनलाई गाडीमा म्युजिक सुन्दै हिंड्न मन लाग्छ । भगवान्मा आस्था राख्ने हुनाले उनी मन्दिर गैरहन्छिन् । हरेक शुक्रबार नक्सालस्थित सन्तोषी माताको मन्दिर पुग्छिन् । जब उनी मन्दिर पुग्छिन्, मन त्यसै प्रसन्न हुन्छ । योग र ध्यानमा उनको विशेष लगाव छ । झरनाको अनुभवले भन्छ— योगले सकारात्मक सोचको विकास गराउँछ र फ्रेस बनाउँछ । त्यसैले होला, पूरै परिवारलाई उनले कन्भिन्स गरेर योग र ध्यानमा लगाएरै छाडिन् ।
यो उमेरमा झरना साथीभाइ तथा स्कुल–कलेज जीवन खुब मिस गर्छिन् । कसैसँग झगडा गरेको पल सम्भँदा पनि उनलाई यतिबेला अर्कै आनन्द मिल्छ । जब आफैंले अभिनय गरेका गीत टेलिभिजनका पर्दामा देखिन्छन्, झरना नोस्टाल्जिक हुन्छिन् । चलचित्र क्षेत्रमा नआएको भए बैंकमा जागिर खान्थें होला भन्ने लाग्छ । तैपनि आफूले रोजेको पेसाप्रति उनको कुनै असन्तुष्टि छैन । झरनालाई सोभर, नरम र महिलाहरूलाई सम्मान गर्ने पुरुष मन पर्छन् ।
झरनालाई स्वीमिङ, घोडचढी र नयाँ–नयाँ ठाउँ घुम्न मन लाग्छ । यी कुरामा उनलाई एकदम आनन्द आउँछ । कुनै साथीले जाउँm भन्यो कि कुदिहाल्न मन लाग्छ । तिहारको झिलिमिली, नाचगान, सेलरोटी पकाउन, भैली खेल्न तथा पिङमा मच्चिन पाउँदा पनि उनी रमाउँछिन् । ती कुरा सम्भँmदा मात्र पनि दसैं–तिहार छिट्टै आइदिए हुन्थ्यो जस्तो लाग्छ । चार पटक इलाम घुमेकी थापालाई यसपालि श्रीअन्तु पर्यटन समिति, इलामले सद्भावना दूत बनाएको छ ।
झरनालाई जीवन एकदमै रमाइलो लाग्छ । फेरि पनि कलाकार नै भएर जन्मन पाए हुन्थ्यो भन्ने लाग्छ । झरनासँग सोधियो, ‘प्रेम के हो ?’ ‘मनबाट आउने अनुभूति, एक प्रकारको ताकत हो ।’ उनले सुनाइन्, ‘यसले जीवनमा अघि बढ्न साहस दिन्छ । प्रेमबिना जीवन अधुरो, अपुरो लाग्छ । उनको नजरमा जीवनमा प्रेम भएन भने मानिसले आफूलाई कमजोर महसुस गर्छ । विवाह गरेको बीस वर्ष पुगे पनि झरनालाई अझै तरुनी छु जस्तो लाग्छ । उनी आफैंलाई प्रश्न गर्छिन्, कसरी यतिलामो समय बित्यो ? ‘अझै ऊर्जावान् छु ।’ हँसिलो मुहारमा हल्का मुस्कान भर्दै झरनाले भनिन्, ‘अझै धेरै काम गर्न बाँकी छ ।’