साप्ताहिक संवाददाता
कोरियामा को मेन्दो डाङ (पवित्र फुल) नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । आईतबार नेपाल तामाङ संघ दक्षिण कोरियाले एक पत्रकार सम्मलेन गरी यही सेप्टेम्बर १५ तारिखमा ‘नेपथ्य लाईभ कन्सर्ट’ सोलमा गर्न लागेको हो ।
सुविधा सम्पन्न अन्तर्राष्ट्रिय हल केबिएस एरिनामा करिब ५ हजार दर्शक उतार्ने संघले तयारी गरीरहेको छ । नेपथ्य कोरियामा आफनो ६ जना ब्याण्ड मेम्बर र ४ जना टेक्निसियनको साथमा आगामी १३ तारिखमा कोरिया आउने भएको आयोजकले जानकारी दिएको छ ।
संघले नेपथ्य लाईभको लागि भब्य तयारी गरीरहेको बताउँदै सो हलमा फुल एअर कन्डिसन, लाईटिंग र अत्याधुनिक साउण्ड सिस्टम र सुरक्षा व्यवस्था रहेको जनाएको छ । कोरियाको चर्चित गायक साई, के पप स्टार गल्र्स जेनेरेसन,सिस्टर बिग ब्यांग जस्ता चर्चित कलाकारले सो हलमा प्रस्तुती दिएको हलमा नेपाली दर्शकले नेपथ्य लाईभ हेर्न पाउने भएका हुन् । सो कार्यक्रम आयोजनाको लागि अनुमानित करिब एक करोड रुपैंयाँ खर्च लाग्ने संघका महासचिव मेघप्रसाद वाईवाले बताए ।
कोरियाको चाड चुसकको अवसर पारेर गर्न लागेको नेपथ्य लाईभको उद्देश्य कोरियामा आपतमा परेको नेपालीको लागि राहत कोष स्थापनार्थ गर्न लागिएको कार्यक्रम संयोजक दावा तामाङले बताए ।